गठवन्धनबाट तर्सिनु पर्ने आवश्यकता छैन् :उपाध्याय - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

गठवन्धनबाट तर्सिनु पर्ने आवश्यकता छैन् :उपाध्याय



भारतका लागि नेपाली राजदुत रहेका दीपकुमार उपाध्याय उक्त जिम्मेवारीबाट विदा भएर गतसाता मात्र नेपाल फर्किएका छन् । भारत जस्तो शक्तिशाली राष्ट्रको राजदुतको जिम्मेवारी छाडेर फर्किएका उपाध्याय पुनः राजनीतिमा सक्रिय हुने भएका छन् । उनी आस्थावान पार्टी नेपाली कांग्रेसले उनलाई आगामी निर्वाचनमा प्रतिनिधी सभा सदस्यका लागि कपिलवस्तु–१ वाट प्रत्यासी बनाएको छ । आफुलाई राजनीतज्ञ भन्दा पनि समाजसेवी भन्न उनी रुचाउछन् । उपाध्याय राजदुत हुनु अगावै पटक–पटक कपिलवस्तुवाट निर्वाचित भएर मन्त्री भएको विगत छ । निर्वाचनलाई हार र जितभन्दा पनि जनताको घर दैलोसम्म पुग्ने अवसर भएको उनी बताउछन् । त्यसैले उनी राजदुतको पदावधी रहदा–रहदै पुनः राजनीतिमा फर्किएका छन् । राजनीतमा आर्जन गरेको सा“ख र जिल्लावासीको आग्रहलाई स्वीकार गरेर उनी राजदुतको जिम्मेवारीबाट पुनः राजनीतमा फर्किएका छन् ।

उपाध्याय कपिलवस्तुका घर,आगन र मतदाता संग परिचित छन् । राजनीतिका कुशल खेलाडी उपाध्याय सत्कर्ममा विश्वास राख्छन् । आस्था र विश्वासका हिसावले उनलाई आस्तिक राजनीतिज्ञ भन्न उपयुक्त हुन्छ । यस पटकको वाम गठवन्धनले देशको राजनीति तरंगित भैरहदा आफ्नो निर्वाचन क्षेत्रमा गठवन्धनको प्रभावका कारण त्रसित हुनु पर्ने कारण नरहेको उनी बताउछन् । राजनीति र कुटनितीक जिम्मेवारी अनुभव संगालेका उपाध्याय संग   स्वतन्त्र पत्रकार सञ्जय पन्थीले गरेको कुराकानी ।

राष्ट्रीय जिम्मेवारीको पदलाई स्थगित गरेर फेरि जनतासामु पुग्दै हुनुहुन्छ, अकस्मात चुनावमा आउने वातावरण कसरी बन्यो ?

स्थगित हैन, मेरो फिर्ती नै हो । विशेष परिस्थितिमा विशेष एउटा असाइनमेन्टमा म त्यहागएको हु । त्यसको प्रमाण आदरणीय सुशील दा रहनुभएन । पूर्वराष्ट्रपति डा. रामवरण यादव हुनुहुन्छ । उहाँहरुकै आग्रहमा म त्यो जिम्मेवारीमा गएको हु“ । केपी ओली प्रम भएका बेला जुन घटना भयो अर्थात विचमा फिर्ता वोलाईयो त्यसपछि जे हुनु भयो, अब नजाने नै भनेको थिए । तर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल, अहिलेका प्रधानमन्त्री सहित अन्य नेताहरुले पनि जान आग्रह गरेपछि जानुपर्ने परिस्थिति बन्यो ।

मैले सधै भनेको छु, मेरो दुईवटा कोण छ । एउटा जनता र अर्काे देश ।मलाई विश्वास गर्ने जनताले भारतसँगको समवन्ध असहज हुदाको अवस्था हामीले बुझ्यौ, अव स्थिती सहज भयो, तपाई फर्किनु भन्ने, आग्रह रह्यो । त्यो आग्रह सामु म सँग जवाफ विकल्प रहेन । साथैं मेरो कपिलवस्तुको माटोसँग पनि समवन्ध छ । चारवटा मानस बुद्धमध्ये तीनवटा मानसबुद्ध त्यही जन्मे र हुर्केको ठाउहो । शाक्यमुनि लगायत तीन बुद्ध जन्मेको त्यो पवित्र भूमिले मेरो अन्तरात्मा अमीट छाप पारेको छ । त्यसमा पनि ४५ वर्ष लामो सामाजिक राजनीतिक जीवन त्यही व्यतीत गरेको छु, त्यसैले फर्किनुपर्छ भन्ने लाग्यो ।

यो निणर्य मेरो आफ्नो स्वनिर्णय हो । देशमा जुन किसिमको परिस्थिति छ, त्यसमा मैले कूटनीतिक मर्यादाका कारण मैले आफ्ना भावना पनि खोलेर राख्न सक्ने अवस्था थिएन् । अहिले राजीनामा स्वीकृत भएको छ, त्यसकारण मैले तपाईंहरुस“ग कुरा गर्न कुनै अप्ठ्यारो छैन् । त्यसैले पनि म फर्किनुपर्ने थियो र फर्किए ।

पार्टीमा त तपाईं प्रिय हुनुहुन्छ, अन्तरपार्टीमा पनि तपाइको सम्बन्ध अब्बलै देखिन्छ । तपाईं बीचमा राजदुतबाट फिर्ता भएपछि तत्कालिन प्रम दाहालको आग्रहमा पुनः त्यही जिम्मेवारीमा जानुभयो । तर फेरी विचमै फर्किनु भएको छ । अहिले कतै उनैं प्रचण्डको आग्रहमा फर्कनु भएको त हैन् ?

ए, हैन् , हैन् । त्यसरी होइन् । फर्किए पछि व्यस्ताका कारणले वहा“स“ग सम्पर्क हुन पाएको छैन् । पार्टीका नेताहरुस“ग चाहि मैले सम्पर्क गरे । म फर्किने कुरा गरे । त्यो जिम्मेवारीको समीक्ष पनि भयो । कहिलेकाही गर्दागर्दैं व्यवस्थापकीय कमजोरी हुन्छ । केही मेरो पनि भए होला । कूटनीतिको आफ्नै मर्यादामा हुन्छ, यसको विशेषता हुन्छ । त्यसैले मैले मर्यादित अवतरणको कुरा पनि चलाए । त्यो भनेको मैले नेपाल सरकार र भारत सरकारलाई पनि समयमै सूचना दिएर सबैस“ग भेटघाट गरेर, विदावारी भएर फर्किएको छु । अहिले नेपाल र भारतको सम्बन्ध सहज भएको छ । यो समवन्धमा उतार चढाव आउनु हुदैन्थ्यो । आए पनि अहिले समाधान भएको छ । जुन मेरो जिम्मेवारीको कुरा पनि हो । सवैस“ग विदावारी भइसकेपछि त्यहा बस्नु उचित थिएन् ।

मैले अत्यन्त विनयपूर्वक अब त्यो जिम्मेवारी पुरा गरे । मैले यहा“ आएर बडो विनम्रतापूर्वक राजीनामा स्वीकृतिको लागि पहल गर्नुप¥यो । त्यसैले मेरो राजीनामा स्वीकृत गर्ने आदरणीय प्रधानमन्त्री शेर वहादुर देउवा र अन्यन्त नेतागण प्रति हृदयदेखि आभार प्रकट गर्न चाहन्छु ।
तत्कालिन परिस्थितीमा प्रचण्डजीले हजुर नै जानुपर्छ भनेपछि जानुभयो । फर्किएपछि प्रचण्डस“ग फर्किए भनेर भेट गर्नु भयो त ?
वहा“, यति व्यस्त हुनुहुन्छ कि मैले सम्पर्क स्थापित गर्न नै सकिरहेको छैन् । त्यसैले फर्किए पछि भेटघाट गर्न पाएको छैन । यतिवेला राजनीतिमा एउटा तरंग छ । त्यो तरंग भन्दा पनि सफल कुरा त संविधानसभाबाट संविधान बनेको छ,नेपालको राजनीतिक शान्तिप्रक्रिया विश्व मैं परिचित भएको छ । साथै अनुपम पनि छ ।

हिजोको असहज अवस्थालाई कल्पना गर्ने हो भने, आमनेसामने लडेका हामी आज का“धमा का“ध मिलाएर जनअभिमतको लागि संविधानको फ्रेममा स्वीकार गरेर निर्वाचनमा जादैछौं । यो अवस्था पार भएपछि हामी फेरि मिल्नुपर्ने, मिलाउनुपर्ने हुन्छ । दिगो शान्ति, राजनीतिक स्थिरता र आर्थिक समृद्धि नै आजको आवश्यकता हो । साथैं मूल एजेण्डा पनि हो । एकल पार्टीको बहुमतको कुरा अहिलेको संविधानको संरचनामा देखिन्न । त्यसैले दलले पनि के गर्दा आफू सुरक्षित होइन्छ भनेर गठबन्धन गर्नु परेको हो । गठवन्धन यतिवेला कसैलाई आवश्यकता भयो भने कसैका लागि बाध्यता पनि बन्न गयो । अर्थात साना दलहरुका लागि बाध्यता भयो । यो अवस्था निर्वाचनका लागि सिर्जना भएको जस्तो लाग्छ । निर्वाचन पछि फेरी हामी जिम्मेवार नेता जिम्मेवार भूमिकामा रहनुपर्छ ।

कांग्रेस संग  समबन्ध तोडेर प्रचण्ड फेरी एमालेतिर फर्कनु भएको छ, कतैं कांग्रेसले वहँसंग  राम्रो व्यवहार गर्न नसकेको हो कि ?

पार्टी कस्तो व्यवहार ग¥यो मैले भन्न सक्ने अवस्था रहेन् । तर केही मानवीय स्वभावहरु हुन्छन् । मलाई थाहा छैन् तर उहा“ले अलिकति बढी लाभ, बढी सुरक्षा देखेर होकी ? किनभने सरकार पनि छाड्नु भएको छैन् । सरकारमा पनि हुनुहुन्छ । सरकारलाई अन्तिमसम्म पनि साथ दिन्छु भन्नुभएको थियो । यो सबै सरसर्ती हेर्दा कसरी आफ्नो साइज बढ्छ भन्ने नै रणनीति हो जस्तो मलाई लाग्छ ।

जुन वहाहरुले गठबन्धन गर्नुभएको छ, यो परिस्थति कताकता ०४८ सालको छोइछिटो हाल्ने अवस्था जस्तो देखिदै छ । भनेपछि यही हिसाबले राजनीति अगाडी बढ्यो भने एकअर्कालाई भित्तामा पु¥याईने त हैन् ? यसले लोकतन्त्र बलियो होला ?

यसमा हेर्नुहास, मेरो आफ्नो व्यक्तिगत अभिमत के छ भने लोकतन्त्र र कम्युनिष्ट शासन रोज भनिए जस्तो लाग्छ । यतिबेला चाहि उहा“हरुले त्यस किसिमबाट गठवन्धन र धुब्रीकरण नगर्नुभएको भए हुने थियो । किनकी लोकतन्त्र र गणतन्त्रका सहयात्री दल भएकोले लोकतन्त्र संस्थागत गरुञ्जेल एक अर्काेको सहयोगलाई जारी राख्न सकेको भए राम्रो हुने थियो । अहिले प्रस्रवको बेला वेदना भएजस्तै अनन्त संक्रमणको राजनीतिक दुश्चक्रबाट हामी बल्ल बल्ल निस्किँदै छौं । त्यसैले यस्तो बेलामा अहिले तुरुन्तै गठवन्धन र धुब्रीकरण गरिहाल्न आवश्यक थिएन । समपन्न स्थानीय तहको दुई नं. क्षेत्रको निर्वाचन परिणामले अलिकति बढी नै सशंकित हुनु भएको होकी ? त्यसकै तरंगको रुपमा मैले लिएको छु । तर मलाई यो दूरगामी हुन्छ जस्तो लाग्दैन् ।

उहाँहरुको गठबन्धनको तरंगमा जसरी पार्टी पनि एक बनाउने भन्ने यो खालको रणनीतिक लडाइ छ , त्यो लडाइ नागरिकको सर्वोच्चता हो कि पार्टीको सर्वोच्चता त ? वामपन्थी दर्शनले खास गरी कम्युनिष्ट दर्शनमा पार्टीले निर्णय गरेपछि जनता केही होइनन् । हामीलाई उनीहरु भित्रको चरित्रको चिन्ता हो । त्यसैले म विनम्रतापूर्वक भन्न चाहन्छु हामी त्यो अधिनायकत्व स्वीकार्न सक्दैनौं । मानिसलाइ हरेक कुराको स्वतन्त्रता हुनुपर्छ । अहिलेको चुनावमा बलियो उम्मेदवारले जित्ला, हाहु गर्ला । तर त्यो होइन, त्योभन्दा पनि मैले विचारको जनमतसंग्रहबाट लान सक्नुपर्छ । त्यो भयो भने हामीपछिको पुस्तालाई कस्तो नेपाल छोड्ने भन्ने अहिलेको निर्वाचनको विषय हुनुपर्छ । अहिलेको विश्वमा ज्ञान र बुद्धिले नै मार्गदर्शन गर्ने हो । राजनीति आदर्श, मूल्य मान्यताकै हुन्छ । लोकतन्त्रमा यी कुराविनाको कल्पना पनि गर्न सकिन्न ।

प्रचण्डजीले हामीले गर्दा कांग्रेस  टुटफुटवाट एक हुदैछ, भनेर कांग्रेस प्रति सहानभुती प्रकट गरिरहदा उनीहरुको गठबन्धन देखेरतपाईंहरु किन चिन्ता गर्दै हुनुहुन्छ ?

हैन, चिन्ता छैन् । कांग्रेसको इतिहास के छ भने हामी एकल बहुमत हुदा पनि गुमाएका थियौ । त्यसलाई हामीले पाठकका  रुपमा लिएका छौ । तर यो उदारता हेर्नुस, लोकतन्त्र भनेको करुणा, दया हो, जसभित्र सबै विचार अटाउनसक्छ । देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान कंग्रेसको लिडरसिप, ब्यानर वा नेतृत्व जे भने पनि आवश्यक छ भन्ने त देखियो नि । राजनीतिमा भन्न सजिलो गर्न गाह्रो । सबै परिवर्तनमा नेपाली कांग्रेसको अग्रसरतामा सफल भएको देखिएकै छ नि । हामी यसलाई सकारात्मक रुपमा ग्रहण गरौँ र पछि पनि यही रुपमा लिन सक्नुपर्छ भन्ने मेरो विचार हो ।

निर्वाचनको पूर्व सन्ध्यामा वामपन्थीहरु बीच एकता वा धुब्रीकरणको मूल्यांकन कसरी गर्नुभएको छ ?

वातावारण जबसम्म लोकतन्त्र अनुकूलको हुदैन तबसम्म हामीले वैदेशिक लगानीका कुरा, प्रविधि निवेशका कुरा त्यति सजिलै हुदैन । हुन त चीनमा वामपन्थी शासन हुँदा पनि सम्पूर्ण मल्टिनेशनल कम्पनी त्यहा“ जान्छन् । किनभने त्यहा“को प्रोफिटचाहि ग्यारेन्टेड अन म्याथम्याटिकल रेसियाको छ । त्यहा“ लाभले गर्दा मानिसको आकर्षण छ, तर सबै ठाउ“मा त्यस्तो छैन । नेपालमा त्यो सम्भव छैन । तत्कालीन चुनावको लागि यी रणनीतिक कुरा हन् । वामगठबन्धन दीर्घकालीन होला भन्ने त मैले सोचेको छैन । हामीकहा“ त्यो स्कुलिंग र चरित्र पनि छैन् । उहा“हरुले हामीले निर्णय गरिहाल्यौ सकियो भन्नुभएको छ तर त्यो त कार्यकर्ताले कति स्वीकार्छन् । त्यो परिणामले नै देखाउला ।

एमाले र माओवादी मिल्नुमा चीनको स्नेह र भारतको कटुतापूर्ण व्यवहारको कारण संभव भएको भन्ने आवाज पनि सुन्नमा आएको पनि छ ? के सत्य हो ?

नेपाल त कहिल्यै पराधीन नभएको विरासत हामीले पाएका छौं । यस्तो इतिहास बोकेको हामी नेपालीले सधै हीनताबोध राख्नुहुन्न । हामी आपसमा मिल्दैनाँै अनि शंकाचाहि अरुलाई गर्छौ । त्यो प्रवृत्तिबाट हामी मुक्त हुनुपर्छ । म त त्यस्तो केही देख्दिन । अहिले त भारत र चीनको पनि नेपालमा शान्ति, स्थिरता र समृद्धि उनीहरु दुवैको एजेण्डा हो त्यसकारण यो त अवसर हो हामीलाई । किनकि यहाको अस्थिरतामा दुवै छिमेकीलाई चिन्ता हुन्छ । हाम्रा राष्ट्रिय आधारलाई अत्यन्त व्यवस्थित गर्ने र एकता बलियो पारे हामीलाई सजिलो छ ।

नेपालको मौसमी राजनीतिक गठबन्धनले हिजोको नेतृत्वप्रतिको अन्तराष्ट्रिय निकायको अगाध माया थियो, आजकल नेतृत्वतहप्रति नेपालमा अविश्वास बढेको छ नि ?

कूटनीति भनेको निरन्तरतामा आधारित हुन्छ । तत्काल कुनै क्षणको घटनाले फरक पार्ने हुदैन । तर त्यो शान्त, परिणाममुखी हुनुपर्छ । यो भनेको नेपाली जनता र राष्ट्रलाई हित हुने तिर हाम्रो ध्यान जानुपर्छ । कूटनीतिमा लडाइ गर्नुहुदैन । हामीले विगतमा सुरुंग खनेर भिड्ने भनेको पनि देख्याँ, नाकाबन्दीको बेला कुनै पनि सामान प्रयोग नगर्ने, पैदल हिड्ने भनेको पनि देख्यौ तर यी सब सम्भव हुदंैन । एउटा सेन्टिमेन्टमा जाने भन्ने एउटा हुन्छ । राष्ट्रिय स्वाभिमानलाई जनहितमा जोडेर राष्ट्रलाई सेफल्याण्ड गराउनेतिर कूटनीति हुनुपर्छ । सफल कूटनीति यही नै हो ।

एउटा समय थियो, प्रशासनिक तहमा नेपाल भारतको सम्बन्ध अडेको थियो । भारतीय राजनीतिमा मोदीजीको आगमनपछि राजनीतिक तहमा सम्बन्ध बढेको छ, सबै हाम्रा संयन्त्रहरु ब्युरोक्रेटिक संयन्त्र पनि परिचालित नै छन् । पहिलेभन्दा निकै सहज छ । अब कति हामी गर्न सक्छौँ भन्नेचाहिँ यो त हाम्रो कलामा भर पर्ने कुरा हो ।

तपाईं दिल्लीमा रहदा भारतलाई अलि बढी फेभर गर्नुभयो भन्ने आरोप पनि आएका छन्, नि ?

मैले तपाईंलाई भनौं आफ्नो आफ्नो कोण हुन्छ । हामी जस्तै जो कूटनीतिज्ञ जुन देशमा हुन्छ, अब तपाईंले इण्डियन मिडियामा नेपाली जनताले दुःख पाएको बारेमा के के मैले बोलेँ भन्ने कुरा भन्न आवश्यक छैन तर त्यही कुरो भनेर मैले उनीहरुको परराष्ट्रमा गएर झगडा गर्ने भन्ने त हुदैन । मतलब त्यो बेलामा हेर्नुस,हाम्रो जुन तस्करी संयन्त्रले जरो गाडेको थियो, त्यो तोडिन चाहि मलाई लाग्छ धेरै समय लाग्न सक्थ्यो । तर त्यो तोडियो नि । यी कामको समयले मूल्यांकन गर्ला । मैले गरेँ भन्ने होइन । सम्पूर्ण नेपालीको ज्ञान र विवेकले उनीहरुलाई सोच्न बाध्य पारेको हो । कहिले कहिले राजनीतिमा टकराव हुन्छ तर त्यो निहुँमा जनताले दुःख पाउनुहुन्न भन्ने कुरामा त उनीहरु पनि सहमत भए नि । आज अत्यन्त राम्रो सम्बन्ध छ । एउटा राम्रो जग बनेको छ । द्विपक्षीय हितका कुरा, पानीका प्रबन्धनका कुरा, नेपाली वस्तुले निर्बाध भारत जाने कुरामा राम्रो जग बसेको छ । प्राकृतिक मित्रको हिसाबले नेपाल भारत सम्बन्धलाई सुमधुर पार्ने र नेपालको आर्थिक समृद्धिमा लैजान भारतसँगको सम्बन्ध राम्रो हुनैपर्छ ।

नाकाबन्दीका बेला तस्करीले जरो गाडेको तपाईंले जुन स्वीकार्नुभयो, तर नेपाली राजनीतिमा पनि तस्करीतन्त्रले जरो गाडेको देख्नुभएको छ ?

हैन, दुवैतिर गाड्यो त । दुवैतिरका शासन प्रशासनमा त स्वर्णकाल थियो नि । आखिर दुवै देशका साँध सिमानामा त सामान आउँथ्यो नि त । हामीले १४/१५ सयमा आउने ग्यासकै १० हजारसम्म तिर्नुपथ्यो । त्यसबाट लाभ निै तस्करलाई नै भयो । त्यो पनि दुवैतर्फका ।

त्यसैको प्रभाव हो, अहिले नेपाली राजनीतिमा देखिएको ? पार्टीहरुमा जो संग बढी मसल, मनी र माफिया गर्न सक्ने सार्मेथ्य छ, उसैलाई टिकट पाउन थालेका छन् नी ?

अब अघि मैले भने, राजनीति निष्ठामा आधारित हुन्छ । यो तरवारको धारमा हिड्छ । राजनीतिलाई व्यापार र पेसाको रुपमा लिनथाले, उसले पाउने मैले किन नपाउने, मैले नपाए देखाइदिन्छु भन्न थाले । म स्वतन्त्र उठ्छु, नपाए अर्कोमा गएर लड्छु भन्ने प्रवृत्ति आउनथाल्यो । सेवा गर्नेले मेवा पाउनछोडे, यसमा मलाई चिन्ता छ । हाम्रो काउन्सिलिङमा कहीँ न कहीँ कमजोरी छ । यो क्षेत्रमा जे देखेर आउँथे आज त्यसलाई हेर्ने कोणमा बदलाव आएको छ । यी कुरा नहेर्ने हो भने लोकतन्त्रमा चल्न चलाउन गाह्रो हुन्छ ।

तपाईं कपिलवस्तुको जनप्रतिनिधि पनि हो, लुम्बिनी करिडोरको योजना लामो समय देखि अलपत्र जस्तै छ अहिले राजदुतवाट फर्किसकेपछि त्यो जिम्मेवारी कसरी अगाडि बढाउदै हुनुहुन्छ ?

खास गरेर लुम्बिनी विश्वमै अनुपम स्थान छ किनकि हामीले समयमै जग्गा अधिग्रहण गर्न सफल भयौँ । ढिला त भयो तर हामीले त्यहाँ ग्रेटर लुम्बिनी भनेर देवदह, रामग्राम, कपिलवस्तुका सम्पूर्ण क्षेत्र समेटेर हामीले गर्ने भनेका छौ, ती कुरा समेटेरै हामीले अगाडि लैजाने हो ।

त्यही भएको हुनाले तपाईं लुम्बिनीको भविष्य कस्तो देख्नुहुन्छ ?

त्यो त उज्वल छ नि । त्यहा आफ्नै खालको पहिचान, ख्याति र अन्तर्रा्ष्ट्रिय महत्व छ । भैरहवाको एयरपोर्ट बन्नासाथ नै त्यसलाई यसले टेकअफ गर्छ नै । हामीले कल्पना गरेको लुम्बिनी योजना र अहिलेको लुम्बिनी योजना पनि विश्वमै उत्कृष्ट छ । बुद्धिष्ट साइटहरु अन्य मुलुकमा पनि मैले देखेँ त्यसमा लुम्बिनीको माष्टर प्लान अतुलनीय छ । ग्रेटर लुम्बिनी बनाउने जुन हामीले कुरा गर्दै छौँ त्यसको त अरुसँग तुलनै हुन सक्दैन नि ।

निर्वाचनमा कपिलवस्तुमा जँदै हुनुहुन्छ, त्यहाका मतदातालाई के कुरामा आश्वस्त पार्न चाहनुहुन्छ ?

अहिलेसम्मको जिम्मेवारी प्रति सबैस“ग आभारी छु । जिल्लामा मेरो भूमिका आफ्नोमात्रै पार्टी नभएर सबै पार्टीप्रति सम्भावमा जिल्लामा अभिभावकत्व दिएर राष्ट्रलाई योगदान दिने कुरामा त म सधै तयार नै छु, हुनेछु ।

आगामी निर्वाचनका कपिलवस्तुमा विकासको एजेण्डा के–के छन् त ?

सबै सम्भावना बोकेको भनेको तराई नै हो त्यसमा पनि कपिलवस्तुको त कुरै नगरौँ । यो त सांस्कृतिक धरोहर भएको स्थान पनि हो । जुन रुपबाट मानव सूचकांक अगाडि बढ्नुपर्ने थियो, त्यो त्यति बढ्नसकेको छैन । पछाडि परेको छ । त्यसलाई ध्यान दिनेछु । हुन त स्थानीय सरकार छ, प्रादेशिक सरकार हुनेछ । बुझ्नुपर्ने कुरा के छ भने संविधान प्रदत्त संरचनाअनुसार प्रायः विकास प्रदेशले गर्ने हो । केन्द्रमा संविधानले नै सानो मन्त्रीमण्डल भनेको छ । पहिलेजस्तो केन्द्रको भूमिका पनि असीमित हु“दैन । अब त्यहा“का जनताले पनि अब तपाईं फिर्ती किन नहुने भन्ने कुरा गरिसकेपछि मैले कर्तव्य सम्झेर जाने दायित्व हो । कर्तव्य र दायित्व भनेर नै म फर्किन लागेको हुँ । त्यही कुरा तपाईंहरुलाई भन्छु । मलाई पदको परिचय चाहिन्न । टिकट पाए पनि, नपाए पनि मानिसले आफ्नो कर्म गर्ने हो । कर्म गरेपछि परिणाम त हाम्रो हातमा छैन तर पनि सत्कर्मले सत्परिणामचाहि अवश्य दिन्छ भन्नेमा ढुक्क छु । त्यसकारण सकारात्मक सोच र दृढ इच्छाशक्तिबाट हामी अगाडि बढ्नुको विकल्प छैन ।

अव पार्टीमा तपाईंको भूमिका के हुन्छ ?

मेरो त आफ्नो केही छैन । त्यो त नेताहरुले निर्धारण गर्नुहुन्छ । किनभने मैले जानेबेलामा सबै पद त्यागेर कूटनीतिमा लागेको हुँ । राजदूतको भूमिका निष्पक्ष हुनुपर्ने भएको कारण तपाईंहरुले नै देख्नुभयो पार्टीको महाधिवेशन लगायत थुप्रै घटना भए, म आइन पनि । हुन त नेपालको कानुन, संविधानले त्यहाँ आउन रोक्दैनथ्यो तर मैले स्वमर्यादामा नै नआउने निर्णय लिएँ । त्यसकारण साथीहरुमा त भ्रम पनि भयो कि म आजीवन कूटनीतिमै गएँ भन्ने तर अहिले आउँदा फेरि खुसी लाग्यो भन्छन् । आफ्नो मर्यादा, आचरण आफैँ राख्ने हो, यसमा म दृढ छु ।