ग्यास्ट्रिकका रोगीले चाडबाडमा कस्तो जीवनशैली अपनाउने ? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

ग्यास्ट्रिकका रोगीले चाडबाडमा कस्तो जीवनशैली अपनाउने ?



डा रविन शर्मा

नेपाली हिन्दूहरूका दुई ठूला पर्व दसैं र तिहार नजिकिँदैछन् । सबैभन्दा रमाइलो पक्ष यी चाड र खानपान सँगसँगै जोडिएर आउने गर्छन् । दसैंमा आ–आफ्नो क्षमताअनुसार सबैले घरमै विशेष परिकार बनाएर आफन्तसँगै बसेर खाने चलन छ । यसरी पाक्ने खानाहरू प्रायः चिल्लो तथा मसलायुक्त नै हुने गरेको पाइन्छ । अरू परिकारमा पनि चिनीजन्य पदार्थको बढी प्रयोग हुन्छ, त्यो स्वास्थ्यका लागि फाइदाजनक होइन । रमाइलो गर्ने बहानामा धुम्रपान र मद्यपानको पनि बढी नै प्रयोग हुन्छ ।

यस्ता खानेकुराले कोलेस्ट्रोल तथा ग्यास्ट्रिक, ब्लडप्रेसर, डायबिटिज, दम, युरिक एसिड जस्ता समस्या बल्झाउँछ ।

चाडपर्वमा विशेषगरी खानपानमा नियमितता हुन्न । बढी चिल्लो, अमिलो, पिरो, नुनिलो मसालेदार खानाको अत्यधिक सेवनले पेटमा पनि गडबडी हुन्छ । यसले निम्त्याउने समस्या नै ग्यास्ट्राइटिस हो । यसले पेटमा निकै ठूलो समस्या निम्त्याउन सक्छ ।

खाने नली, पेट र सानो आन्द्राको कुनै भागमा घाउ हुनु अथवा सानो आन्द्रा सुन्निनुलाई पनि ग्यास्ट्राइटिस भनिन्छ । ग्यास्ट्रिकको समस्या हुने अधिकांश नेपालीमा यी र यस्तै कारणले पेट दुख्ने हुन्छ । खानाको समय नमिल्दा र धुम्रपान तथा मद्यपानको अत्यधिक प्रयोगले ग्यास्ट्राइटिस गराउँछ । पेटमा भएको एसिड माथि आउने क्रमलाई भने ग्यास्ट्रो इसोफ्याजियल रिफ्लेक्स डिजिज (जिइआरडी) भनिन्छ । सामान्यतया पेटमा सबैलाई केही न केही समस्या आई नै रहेको हुन्छ । पेटको समस्या भन्नाले माथिल्लो पेट दुख्नु, खाना खाएपछि पेट ढुस्स हुनु, अमिलो डकार आउनु, अमन हुनु, अपच हुनु नै हो ।

धेरै तनाव लिने व्यक्तिमा पनि पेटको समस्या आउँछ । पेटमा भएको एसिड तथा खाएको खानेकुरा अलिकति मात्र माथि आउँदा खाने नलीको भित्री छालामा चोट पुग्छ । जसले गर्दा छाती पोल्ने, मुटु पोल्ने, अमिलो पानी र डकार आउने हुन्छ । जिइआरडीको समस्यालाई पनि ग्यास्ट्राइटिस भएको ठानेर आफूखुसी औषधि खाँदा सानो आन्द्रामा घाउ हुन सक्छ । कतिपयमा लामो समयसम्म पनि यस्ता समस्याले सताउने गर्छ र ती पछि गएर पेटका दीर्घ रोगी नै भएर जान्छन् ।

जसलाई क्षणिक रूपमा ग्यास्ट्रिक जुन हुने गर्छ, सामान्य औषधि सेवनले ती समस्या समाधान भएर जान्छन् । यदि यही समस्या लामो समयसम्म पनि समाधान भएन र बल्झियो भने ग्यास्ट्राइटिस हुने गर्दछ ।

त्यस्तै छाती पोल्ने, धेरै डकार आउने, दाँतको समस्या, स्वरमा परिवर्तन आउने रिफ्लेक्स डिजिज हो जुन एसिडको कारणले हुने गर्दछ । पेटबाट खानाको पाइपमा उल्टो दिशामा एसिड गएर त्यसले खानाको पाइप ड्यामेज गर्ने तथा घाँटी दाँत लगायत अरू अंगहरूमा असर गर्दछ । एसिडको अर्को रूप हो— रिफ्लेक्ट डिजिज ।

पेटको समस्या बढ्नुको मुख्य कारण नै खानाको गडबडी, खानामा बढी चिल्लो पिरो तथा अमिलो पदार्थको सेवन हो । त्यस्तै, विभिन्न किसिमका पेय पदार्थहरूको सेवन, धुम्रपान, कामको चापले गर्दा उत्पन्न हुने तनाव, एन्जाइटिक जस्ता कारण ग्यास्ट्रिक एसिड बढेर ग्यास्ट्रिकको लक्षणहरू देखा पर्दछन् ।

विशेषगरी गरिब राष्ट्रहरूमा पानीबाट सर्ने ब्याक्टेरिया जुन हामं्रो पेटमा लामो समयसम्म बाँच्न सक्छ, जसलाई ‘हेलिकोब्याक्टर प्लोरी’ भनिन्छ । यसको कारणबाट पनि पेटमा विभिन्न समस्या उत्पादन हुने गर्छ । ग्यास्ट्रिक हुने र पछि त्यसैबाट अल्सर समेत हुने गर्छ । सरसफाइको अभाव भएको क्षेत्रमा यस्ता किसिमका ब्याक्टेरियाले आक्रमण गर्ने गर्छन्, जसको मुख्य स्रोत फोहोर पानी नै हो ।

ग्यास्ट्रिक गराउने अन्य कारक तत्वमा विभिन्न औषधि पनि पर्छन् । दुखाइ कम गराउने ब्रोफिन, आयुर्वेदिक औषधिहरूले पनि ग्यास्ट्रिक गराउँछन् ।

ग्यास्ट्रिक हुँदा पेट फुल्ने, खाना अपच हुने जस्ता सामान्य लक्षणहरू देखा पर्छन् । समयमै सामान्य औषधि सेवन गर्ने हो भने ठिक त हुन्न तर बल्झिइहाल्यो भने यसले भयंकर रूप लिन्छ । ग्यास्ट्रिक बल्झिएमा अल्सर हुने र त्यसबाटै ब्लिडिङ भएर उल्टीमा रगत देखिने,  पिसाब कालो हुने, तौल कम हुने जस्ता जटिल समस्या उत्पन्न हुन्छन् ।

चाडपर्वको समयमा कलेजोको रोग बल्झिने सम्भावना एकदमै बढी हुन्छ । विशेषगरी अल्कोहल, पेय पदार्थको सेवनले कलेजोमा समस्या निम्तिन्छ । कलेजोको समस्या हुने मान्छेले मदिरापान बढी गर्दा जन्डिस पनि थपिन हुन्छ ।
लामो समयदेखि ड्रिंक्स गर्नेहरूको कलेजोमा संक्रमण भइसकेको हुनाले चाडपर्वहरूमा सचेतता अपनाउनुपर्छ । रमाइलो गर्ने बहानामा मदिरा स्वाट्ट पार्दा कलेजो ड्यामेज हुने सम्भावना बढ्न सक्छ । यस्तोमा उल्टीमा रगत जाने, पेटमा पानी जम्ने, खुट्टा सुन्निने जस्ता लक्षण देखा पर्दछन् ।

कलेजोको समस्या ड्रिंक्ससँग सम्बन्धित हुन्छ । धेरै पदिरा सेवन गर्नेको मात्र कलेजो खराब हुन्छ भन्ने होइन मादक पदार्थ सेवन नगर्ने व्यक्तिलाई समेत कलेजोको समस्या हुन सक्छ ।

कलेजोका बिरामी दुई प्रकारका हुन्छन्— मादक पदार्थ सेवन गर्ने र नगर्ने । अहिले मादक पदार्थ सेवन नगर्नेहरूमा पनि यो समस्या बढ्दै गएको छ । ब्लडप्रेसर, सुगर, अत्यधिक मोटोपन अनि फास्टफुड खाने सहरी वर्गका मानिसमा कलेजोको समस्याहरू देखा पर्ने गरेको पाइन्छ ।

उत्साह उमंगको समयमा खुसी साट्न मदिरा नै सेवन गर्नुपर्छ भन्ने छैन । लगातार ग्यास्ट्रिकको समस्या छ भने दुई घन्टाको फरकमा खाना खाने, जसले गर्दा पेट खाली हुने समय कम हुन्छ । बढी समय पेट खाली राख्दा त्यसमा ग्यास जम्मा हुने गर्दछ, जसले पेट दुखाउने, फुलाउने काम गर्छ । त्यसैले सादा हल्का खानेकुरा दुई घन्टाको फरकमा सेवन गरिरहने बानी बसाल्नुपर्छ । बिहान उठ्नेबित्तिकै दुई गिलास पानी खाने गर्नुपर्छ, जसले खानाको पाइप सफा राख्न तथा पेट सफा राख्न मद्दत गर्दछ । दिनमा लगातार पानीको मात्रा भइराख्नुपर्दछ ।

चाडपर्वमा खाना बनाउँदा कम तारेको परिकार बनाउने, अमिलो, पिरोतिर नलाग्ने, आफ्नो खानाको व्यवहारमा नियन्त्रण ग¥यो भने ग्यास्ट्रिक बल्झिने सम्भावना कम रहन्छ । यसरी ध्यान दिँदा पनि पेटको समस्या समाधान भएन भने अस्पताल गएर जेकजाँच गरी उपचार गर्नुपर्छ ।

ग्यास्ट्रिकको समस्या भएका व्यक्तिले विशेषगरी आयुर्वेदिक औषधिको प्रयोग बढी गरेको पाइन्छ । बिना परीक्षण र त्यसको विश्वसनीयता जाँच गरेपश्चात् मात्र प्रयोग गर्नु उचित हुन्छ ।

(डा शर्मा वयोधा अस्पतालका पेट तथा कलेजो रोग विशेषज्ञ हुन् )

प्रस्तुतिः गीता कठायत 

स्वास्थ्यखबरबाट