अबको एजेण्डा आर्थिक समृद्धि : गगन थापा - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अबको एजेण्डा आर्थिक समृद्धि : गगन थापा



खोटाङ : नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व स्वास्थ्यमन्त्री गगन थापाले नेपालमा अबको एजेण्डा आर्थिक समृृद्धि रहेको बताएका छन्।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ ओख्रेडाँडागाउँमा बिहीबार आयोजना गरिएको स्वास्थ्य तथा घुम्ती शिविर उद्घाटन गर्दै संविधान निर्माणका साथै सबै तहको चुनाब गर्नेलगायतका महत्त्वपूर्ण काम पूरा भइसकेकाले अबको एजेण्डा आर्थिक समृद्धि रहेको बताएका हुन्।

‘विकास सबैभन्दा कमजोर मान्छेका लागि हो।’ उनले भने, ‘जहाँ समस्या छ त्यहीबाट विकासको यात्रा शुरु गर्नुपर्छ।’ देशको तीनै तहमा स्थिर सरकार बनिसकेकाले अब चाँडै विकासले गति लिने उनले दाबी गरे। हाम्रो समाजमा शिक्षासँगै स्वास्थ्य जोडिने भएकाले स्वास्थ्यलाई एजेण्डाका रुपमा राख्नुपर्ने उनको भनाइ थियो। ‘स्वास्थ्यका क्षेत्रमा नेपालले ठूलो फड्को मारेको ।

दश वर्षभित्रमा रेल कुद्ने, एयरपोर्ट बनाउने लक्ष्य राख्दा ३० प्रतिशत बालबालिका कुपोषित छन् भन्नेमा ध्यान दिनुपर्छ’ उनले भने। उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले स्वास्थ्य शिविर ऐतिहासिक र महत्त्वपूर्ण भएकाले सक्दो उपयोग गर्न सेवाग्रहीलाई आग्रह गरे।

‘गाउँघरका धेरै व्यक्ति अवसर नपाएर विभिन्न किसिमका रोग सहेर बस्नु परेको छ।’ उनले भने, ‘यो शिविर ती त्यस्ता व्यक्तिलाई लक्षित गरेर आयोजना गरिएकाले सक्दो उपयोग गराउनुपर्छ। यसमा हामी सबैको सहभागिता हुनुपर्छ।’ स्वास्थ्य शिविरसँगै जिल्ला प्रशासनले नागरिकता, मालपोत कार्यालयले जग्गासम्बन्धी सेवा दिनुका साथै महिला तथा बालबालिका कार्यालयले अपाङ्गता परिचयपत्र वितरण गरिरहेको छ ।

स्वास्थ्य शिविर ओख्रेडाँडा गाउँमै तीन दिनसम्म सञ्चालन हुनेछ भने अन्य शिविर स–छितापोखरीको छितापोखरी बजार र बतासेको पञ्चमी बजारमा शुक्रबार र शनिबार सञ्चालन हुने गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए।