नयाँ शक्ति र फोरमसँग एकता गर्ने प्रचण्डको तयारी ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

नयाँ शक्ति र फोरमसँग एकता गर्ने प्रचण्डको तयारी !



राजनीतिलाई हरेक मुद्दामा सम्भावनाको खेल मान्ने र यस्तो प्रयोग पटक–पटक गरेका प्रचण्डले नयाँ तरिकाले सोचेका पनि हुन सक्छन् ।

उनको सोचाइ के छ ?

यसको व्याख्या अगाडि प्रचण्डलाई जसले भेटिरहेका छन्, त्यस विषयमा बुझौँ । पछिल्लो समय नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराई र सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले भेटिरहेका छन् । नयाँ शक्ति निकट स्रोतका अनुसार केही दिनयता भट्टराई र प्रचण्डवीच संवाद भएका छन् ।

त्यसैगरी यादवले पनि प्रचण्डसँग भेट गरेको फोरम निकट स्रोत बताउँछ । यी भेटमा एउटा नयाँ विषयले प्रवेश पाएको राजनीति स्रोत बताउँछन् । एमाले र माओवादीबीच एकतापूर्व नयाँ शक्ति र फोरम नेपालसँग सहकार्यको विषयमा प्रचण्डले संवाद थालेको अनुमान पनि छ । यद्यपि यसबारे स्वतन्त्र पुष्टि गर्ने आधार छैन ।

यसअघि नयाँ शक्ति र फोरम नेपालबीच एकताका लागि गृहकार्य भएको थियो । तर अन्तिम समयमा रोकिएको थियो । एमालेसँग एकताका लागि गृहकार्य भइरहदा प्रचण्डले बाबुराम र उपेन्द्रसँग नियमित संवादमा रहनु आफैमा अर्थपूर्ण छ । यसमा बाबुराम र उपेन्द्रसहितको शक्ति लिएर एमालेसँग एकै पटक एकता गर्ने प्रचण्डको एउटा सोच हुन सक्छ ।

एमालेसँग एकता नभए पनि बाबुराम र उपेन्द्रसँग एकता गरेर अगाडि बढ्ने प्रचण्डको दोस्रो सोच हुन सक्छ । प्रचण्ड पछिल्लो दिनमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति त्यति धेरै सन्तुष्ट छैनन् । सचिव सरुवाको विषय होस् वा माओवादी मन्त्रीहरूको मातहत रहेका केही विभाग प्रधानमन्त्री कार्यलयमा सार्ने निर्णय होस्, प्रचण्ड यसमा त्यति खुसी छैनन् ।

माओवादीका धेरै नेता–कार्यकर्ताले प्रधानमन्त्री ओलीमा ‘शक्तिको घमण्ड देखिने गरेको’ गुनासो प्रचण्डसमक्ष गर्दै आएका छन् । प्रधानमन्त्री ओली र प्रचण्डबीच पार्टी एकताका मुद्दामा धेरै पटक वान टु वान वार्ता भएका छन् ।

तर सरकारको नीति तथा कार्यक्रम र निर्णयबारे सघन संवाद भएका छैनन् । यसले पनि प्रचण्डलाई केही न केही आशङ्का पैदा गराएको माओवादीका केही नेता मान्छन् । माओवादीले सम्मानजनक र बराबरीको सिद्धान्तमा टेकेर एकताको मोडल तय गर्नुपर्छ भनेको छ ।

एमाले चुनावी टिकट वितरण वा चुनावी नजिताका आधारमा एकताको मोडलको पक्षमा छ ।

परिवर्तनको विचार र आन्दोलनको यथोचित सम्मान र मूल्याङ्कनलाई प्रचण्डले प्रतिष्ठा बनाएका छन् । यो सम्मानजनक भएको जस्तो लागेन यो वा त्यो पक्षलाई भने फेरि एकता जटिल हुन सक्छ भन्ने प्रचण्डको बुझाइ छ ।

एकताको अर्को महत्वपूर्ण पक्ष ‘जेन्टलमेन एग्रिमेन्ट’ कार्यान्वयनबारे देखिन्छ । जस्तो कि, प्रधानमन्त्रीको कार्यकाल आधा–आधा बनाउने विषयमा वामगठबन्धन हुँदा नै ओली र प्रचण्डबीच ‘जेन्टलमेन एग्रिमेन्ट’ भएको वाम एकताका सूत्रधार मानिने नेताहरू बताउँछन् ।

स्रोतलाई मान्ने हो भने प्रचण्ड एकता अगाडि यो विषयमा सुनिश्चता खोजेका छन् । प्रचण्डले यसअघि नै कोर्स करेक्सनको सम्भावनबारे बोलेका छन् ।

नयाँ वर्षमा प्रकाशित अन्तरवार्तामा प्रचण्डले परिवर्तनका मुद्दा र नेतृत्वलाई कमजोर पार्ने षड्यन्त्र भए एकीकृत पार्टीपछि पनि आफूले विकल्प चाल्न सक्ने सङ्केत दिएका दिए ।

उनले आफू कार्यकारी भूमिकामा लामो समय रहेको र तल बस्ने स्वभाव नरहेको पनि स्पष्ट गरेका थिए ।

‘सङ्ख्या सानो भएको हुनाले अब प्रचण्डको भूमिका वाम एकता, यही कम्युनिस्ट एकतामा तल जान्छ कि भन्ने प्रश्न पक्कै पनि मान्छेहरूको मनमा उठेको छ । तर मेरो स्वभाव ९नेचर०ले दिँदैन के तल बस्न ।’ प्रचण्डले आफ्नो अन्तरवार्तामा भनेका छन् ।

एकीकृत पार्टीका अध्यक्षहरूको क्षेत्राधिकारका विषयमा बहस भैरहेका बेला प्रचण्डको यस्तो अभिव्यक्ति आएको थियो । आफ्नो आत्मसम्मानलाई प्रचण्ड र माओवादी नेताहरूले एकतामा बढी नै चासोको विषय बनाएका छन् ।

‘२५ वर्ष यता नेपालको राजनीति मूलतः एजेन्डाको हिसाबले तपाईंको वरिपरि केन्द्रित रह्यो । कतिपयले तपाईंले चालेको कदमलाई प्रचण्डयुगको अन्त्यका रूपमा पनि लिएका छन् । यो सम्भावनाको खेलमा अबको बाँकी राजनीति पनि तपाईंको नेतृत्व वरिपरि केन्द्रित हुने सम्भावना कत्तिको देख्नुहुन्छ रु’ प्रचण्डको जवाफ थियो, ‘यदि मैले त्यहाँ अवरोध देखेँ, यी एजेन्डा कमजोर पार्ने, नेतृत्व कमजोर पार्ने डिजाइन देखेँ भने त्यो भत्काउन पनि कुनै आइतबार कुर्न पर्छ जस्तो लाग्दैन मलाई । त्यो भत्काएर पनि अगाडि बढिहाल्छु । तर अहिले भत्काउन पर्ने स्थिति चाहिँ बन्या छैन । मलाई विश्वास छ, वामपन्थी एकता, कम्युनिस्ट एकताको पनि मैले नेतृत्व गरेर देशलाई अग्रगति दिनेमा मेरो भूमिका रहन्छ भन्ने मेरो विश्वास छ । पार्टी एकता भनेको जबर्जस्ती हुने कुरा होइन । कसैलाई जबर्जस्ती छैन । न एमालेलाई जबर्जस्ती छ न माओवादीलाई ।’

प्रचण्डले स्पष्ट रूपमा भनेक छन्, ‘म ६४ भएँ, ७४–७५ सम्म म एक्टिभ्ली नै गर्छु र राष्ट्रिय राजनीतिमा मेरो भूमिका बनाइराख्छु । अहिले कतिपयले यो पार्टी एकता, वाम गठबन्धनबाट तुलनात्मक रूपमा एजेन्डा त माओवादीकै छ, प्रचण्ड नेतृत्वकै एजेन्डाहरूमा देश त चलेकै छ । तर सङ्ख्या सानो भएको हुनाले अब प्रचण्डको भूमिका बाम एकता, यही कम्युनिस्ट एकतामा तल जान्छ कि भन्ने प्रश्न पक्कै पनि मान्छेहरूको मनमा उठेको छ । तर मेरो स्वभाव (नेचर)ले दिँदैन के तल बस्न । तल पर्नै दिँदैन, मेरो चरित्रले दिँदैन ।’

प्रचण्डका यी अभिव्यक्ति भविष्यमा उनले कोर्स करेक्सन लिन पनि सक्छन् भन्ने आशङ्कालाई बल पुर्याउने खालका छन् । एमाले–माओवादीबीच एकतामा भएको ढिलाइले यस्तो आशङ्का गर्नेहरूको सङ्ख्या बढाउँदैछ । रातोपाटीबाट