उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष पक्राउ - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष पक्राउ



नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारलाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले उनकै निवास कमलविनायकबाट उनलार्इ पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेको छ । कमलविनायकमा सञ्चालित होटल यातुका मुख्य सञ्चालक ताम्राकार लगानीकर्ता मनसुनविक्रम शाह र सरु महतबीच होटल यातु सञ्चालन शुरु हुनुअगावै विवाद सार्वजनिक भएको थियो ।

होटलमा शाहले रु एक करोड १५ लाख लगानी गरेको र सो रकम फिर्ता गर्न माग दावी गरेका थिए भने महतले पनि लगानी गरेको बताइएको छ । ताम्राकारले दुवैको होटलमा धेरै लगानी नभएको र रु ३२ लाख मात्र लगानी भएको जिकिर गर्दै आएका थिए । महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले महानगरीय अपराध अनुसन्धान महाशाखाबाट खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा व्यवसायी ताम्राकारलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

उनले होटल यातुका सञ्चालकबीचको विवादको मुद्दामा अपराध महाशाखाले ताम्राकारलाई नियन्त्रणमा लिई कागजपत्रसहित भक्तपुर प्रहरीलाई अनुसन्धानका लागि बुझाएको बताए ।

के हो विवाद ?

पूर्व उपाध्यक्ष ताम्राकार तथा होटल डे कोर्टयार्ड भक्तपुर र सरु महत सञ्चालक रहेको होटल निर्माण सकिए पनि सञ्चालनमा आउनु अघि नै विवाद देखिएको थियो ।

होटलमा ताम्राकारको ५२ प्रतिशत अर्थात १ करोड ४ लाख र कोर्टयार्ड होटल र महतको ४८ प्रतिशत अर्थात ९६ लाख रुपैयाँ लगानी छ । होटलको निर्माण सम्पन्न भएपछि ताम्राकारले एकलौटी गर्न खोजेको आरोप महत पक्षले लगाएको छ। कोर्टयार्ड होटल महतको एकल स्वामित्व भएको होटल हो ।

होटल यातु सञ्चालनमा आउनुअघि नै ताम्राकारले कम्पनी रजिष्टारको कार्यालयमा होटल याचु दर्ता गरेको भन्दै त्यसले आफूहरुलाई थप शंका गर्ने ठाउँ दिएको महतका पति मणिविक्रम शाहले बताए । शाह जापानमा समेत व्यवसाय गर्दै आएका व्यवसायी हुन् ।

होटल यातुमा ३२ कोठा, तीनवटा रेष्टुरेन्ट र स्विमिङ पुल छन् । यसलाई विस्तार गरेर ६० कोठाको पुर्याउने र चारतारे मान्यता लिने आफूहरुको योजना भएपनि ताम्राकारले असहयोग गरेको उनले बताएका थिए ।