कम्युनिस्टले बहुमत पाए फेरि चुनाव नै नहुने प्रधानमन्त्री देउवाको आरोप - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

कम्युनिस्टले बहुमत पाए फेरि चुनाव नै नहुने प्रधानमन्त्री देउवाको आरोप



मंसिर ११, तेह्रथुम ।।  प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आसन्न चुनावमा जनताले कम्युनिस्टहरुलाई बहमुत दिए फेरि नेपालमा चुनाव नै नहुने आरोप लगाएका छन्। यो चुनाव संसदीय व्यवस्थासहितको लोकतन्त्र कि एकदलीय व्यवस्थाको तानाशाही शासन? भन्ने जनमत संग्रह नै भएको भन्दै प्रधानमन्त्री देउवाले कांग्रेसले हारे लोकतन्त्रले हार्ने र मुलुकमा एकदलीय तानाशाही व्यवस्था आउने बताए।

सोमबार तेह्रथुमको म्याङ्लुङमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले ‘लोकतन्त्रमा नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने, लेख्न पाउने, बोल्न पाउने, फरक विचार राखेर आन्दोलन गर्न पाउने अधिकार राख्छन्, तर कम्युनिस्टको साम्यवादी शासनमा नागरिकले स्वतन्त्ररुपमा हिँडडुलसमेत गर्न पाउँदैनन्”, भने। वाम गठबन्धनले बहुमत पाए अहिलेको संविधान खारेज गरेर साम्यवादी कम्युनिस्ट शासन लागू गर्ने योजनामा रहेका प्रधानमन्त्री देउवाको तर्क छ। “नेपाली कांग्रेसबाहेक बहुदलीय प्रजातन्त्रमा विश्वास गर्ने कुनै पनि प्रजातान्त्रिक पार्टी छैन”, प्रधानमन्त्री देउवाले भने, “नेपाली कांग्रेसले हार्दा प्रजातन्त्र हार्छ, त्यसैले यो चुनाव जित्न आवश्यक छ।”

उनले कांग्रेसले जनतालाई मालिक मानेर सर्वसत्ता सम्पन्न अधिकार दिएको तर कम्युनिस्टहरुले जनतालाई सधैँ डर त्रासमा राखेर शासन गर्न खोजेको आरोप लगाए। प्रधानमन्त्री देउवाले कम्युनिस्टहरुले जनतालाई बुटमुनि राखेर दमन गर्ने ध्येयमा रहेको कुरा बेलैमा बुझेर लोकतान्त्रिक गठबन्धनको नेपाली कांग्रेसलाई मतदान गर्न आग्रह गरे। उनले कांग्रेसले २००७ सालदेखि नै जनताको हक अधिकार रक्षा गर्दै जनतालाई सर्वशक्तिशाली मानेर आएको पार्टी भन्दै कम्युनिस्टले राजा महेन्द्रको तानाशाही व्यवस्थालाई ब्यूँताउन खोजेको आरोप लगाए। प्रधानमन्त्री देउवाले कम्युनिस्ट शासन संसारबाटै खत्तम भइसकेको बताए। प्रधानमन्त्री देउवाले जुझारु, क्रियाशील र जनजाति महिला नेत्री सीता गुरुङलाई जिताएर जिल्लाको विकास र समृद्धिलाई अगाडि बढाउन आग्रह गरे।

सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वाम गठबन्धनबाट देशमा अनिष्ट आउने दाबी गर्दै कम्युनिस्टहरु सधैँ हिंसाको बाटोतर्फ अग्रसर रहने अरोप लगाए। नेता पौडेलले कम्युनिस्टहरु समस्या उब्जाउन मात्रै जान्ने तर समाधान गर्न नजान्ने भन्दै कांग्रेसले सधैँ समस्याको समाधान गरी विकासलाई अगाडि बढाउन भूमिका निर्वाह गर्दै आएको बताए। ‘‘राजा महेन्द्रले पनि संसदीय व्यवस्था खोस्न खोजेका थिए, वामपन्थीले पनि संसदीय व्यवस्था खोस्न खोजेका छन्, यो व्यवस्था कुनै पनि हालतमा खोसिँदैन”, वरिष्ठ नेता पौडेलले भने। वरिष्ठ नेता पौडेलले बहुदल भन्ने तर मुलुकमा एकदल लागू गर्न खाज्ने कम्युनिस्टहरुसँग अब नेपाली जनता नझुक्किने धारणा राखे।

उनले संसदीय प्रणालीले विश्वका युरोप, जापान, भारतलगायतका मुलुकको विकास सम्भव भएको भन्दै यो व्यवस्थालाई रोज्न जनतालाई आग्रह गरे। नेपाली कांग्रेसले गरिबी, बेरोजगारी र अभावको अन्त्य गरी मुलुकलाई स्वावलम्बन बनाउन चाहेको वरिष्ठ नेता पौडेलको भनाइ थियो। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री एवं तेह्रथुमबाट प्रतिनिधिसभाकी उम्मेदवार सीता गुरुङले अढाइ दशकसम्म जिल्लाको ताला चाँबी वामपन्थीको हातमा परेकाले विकास निर्माणमा पछि परेको बताए।

उनले जिल्लाको विकास र समृद्धि नेपाली कांग्रेसको नेतृत्वमा मात्रै सम्भव हुने भन्दै आफूले समानुपातिकबाट सांसद हुँदा प्रत्यक्ष निर्वाचितभन्दा बढी काम गरेर देखाएको बताए। प्रत्यक्ष निर्वाचित हुने पुरुष नेताहरुको असहयोगकै कारण जिल्लाको विकासले तीव्रता नलिएको नेत्री गुरुङको दाबी थियो। कांग्रेसको केन्द्रीय सदस्यसमेत रहनुभएकी गुरुङले अब जिल्लाको समृद्धिको ढोका कांग्रेसले खोल्ने भन्दै व्यावसायिक कृषि र पर्यटन जिल्लाको समृद्धिका आधारहरु भएको बताए।