फलानोको फलानो - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

फलानोको फलानो



-बल पुन

भनिन्छ अगुल्टो खाएको विरालो बिजुली चम्किँदा पनि तर्सिन्छ रे ।यो कुरा लेख्दा मेरो हालत ठिक त्यस्तै भएको छ । किनभने मैले पहिला पनि एक पटक अगुल्टो खाइसकेको छु ।

मैले यस्तै पत्रकार मित्रहरुसँग गुनासो भएको फेसबुक स्टाटस लेख्दा एक जना पत्रकार साथीले मलाई ब्लक गरेको अनुभव छ । त्यही भएर पहिला नै पत्रकार वा कुनै मिडियासँग सम्बन्धित मित्रहरूलाई के भन्न चाहन्छु भने –यो पढेर अगुल्टो (बल्क) नै न हानिदिनुहोला बरु मेरो गुनासो पढेर म लगायत सबै पुरुषहरुलाई सहयोग गरिदिनुहोला ।

अब जाम मुख्य कुरातर्फ,

एउटा गुनासो, जुन मलगायत सम्पूर्ण पुरुषहरुको छ जस्तो लाग्छ । यो चुनावको नतिजा आउँदै गर्दा म पनि उत्सुक थिएँ र नतिजा थाहा पाउनलाई एउटा वाईफाई फ्र्री रेस्टोरेण्टको टेबलमा बसेर कफी पिउँदै, बाहिर हेर्दै विभिन्न पत्रपत्रिकाको अनलाइन संस्करण आफ्नो मोबाइलमा हेर्दै थिएँ ।

त्यत्तिकैमा मेरो छिमेकी महिला डल्लीज्यू आउनुभयो र ठुलो पल्टिँदै जता–ततै हामी महिला मात्र छौँ अनलाइनमा भन्दै महिलालाई हेडलाइन बनाएको खबर दिनु भो ।

डल्लीज्यूले केही समयसम्म मेरो अलिकति भएको गिदी पनि खानु भो र गमक्क पर्दै जानु भो ।
डल्लीज्यू गइसकेपछि यसो बाहिर तिर हेरेको त बाटोमा हिँड्ने जति पनि महिलाहरू गमक्क परेर केही जितेजस्तो गर्वको साथ हिड़ेको पो देख्छु ।

के हेडलाइन रहेछ र महिलाहरू त्यस्तो गमक्क पर्ने भनेर फेरि टाउको मोबाइलको स्क्रिनमा गाडें । खोज्दै जाँदा केही क्षणपछि म त छाँगाबाट खसे जस्तो भएँ । हेडलाइनमा महिला मात्र, यत्र तत्र सर्वत्र, महिलाहरुमात्र सम्बोधित छन्, हामी पुरुषको त ‘पु’ पनि छैन ।

जम्मा ‘श्रीमती’, ‘बुहारी’, ‘छोरी’, मात्र । ‘श्रीमान्’, ‘ज्वाईं’ ‘ससुरा’ र ‘छोरा’को नामोनिशान नै छैन । समाचारमा महिलाहरूलाई मात्र प्रमुखता दिएर ‘फलानोकी श्रीमती’, ‘फलानोकी बुहारी’ भनेर हेडलाइन बनाइएको थियो ।
यो हेडलाइन हेर्दा मैले के आशा गरेको थिएँ भने, अब हामी पुरुषहरुलाई पनि सम्बोधन गरिएको ‘फलानोको श्रीमान्’, ‘फलानोको ससुरा’ भन्ने हेडलाइन पनि हेर्न पाइन्छ ।

त्यही भएर मैले आफ्नो चस्मा लगाएको आँखालाई मोबाइलको स्क्रिन नजिकै लगेर खोजे तर भेटाइन । चस्माले छेके होला भनेर चस्मा फुकालेर पनि हेरेँ, तर दुर्भाग्य मैले खोजेको हेडलाइन पटक्कै भेटाइन । त्यो पुरुषसम्बन्धी हेडलाइन खोज्दा मेरो मोबाइलको ब्याट्री कति पटक सिद्धियो र कति पटक चार्ज गरे त्यो मलाई नै थाहा छैन । धन्न कान्छोभाइले लाहुरबाट पठाई दिएको ब्याट्री बैङ्कले गर्दा सजिलो तरिकाले चार्ज गर्दै हेडलाइन खोज्दै थिएँ ।

ब्याट्री सके सकोस् तर म आज ‘श्रीमान्’, ‘ससुरा’, ‘छोरा’ तथा ‘ज्वाई’ लेखेको हेडलाइन जसरी पनि खोज्छु भन्ने निधो गरेर निरन्तर खोजिराखें । बिहानदेखि बेलुकीसम्म भात नखाई कफी मात्र खाएर खोज्दा पनि नभेटेपछि मलाई पत्रकार मित्रहरुसंग रिस उठ्न लाग्यो ।

महिला–पुरुष बराबर भनेर वहाँहरुले नै ठुला–ठुला पत्रपत्रिकामा लेख्ने तथा समाचार बनाउने, नारी–पुरुष र लैङ्गिक समानताको कुरा एफएम, टिभीमा बजाउने र देखाउने । तर आज महिलालाई मात्र सम्बोधन गर्ने गरी हेडलाइन बनाएर पुरुषभन्दा महिलालाई महत्त्व दिने ?

यस्तो किन ?

किन आज पुरुषभन्दा महिलालाई महत्त्व दिएर ‘फलानोको श्रीमती’ तथा ‘फलानोको बुहारी’ मात्र हेडलाइन बनाएको ? के हामी पुरुषलाई पहिचानको जÞरूरत छैन ? हामी पुरुषलाई पनि ‘फलानोको श्रीमान्’ तथा ‘फलानोको ससुरा’ भनेर चिनिन मन लाग्छ ? कहिलेसम्म महिलाहरूको मात्र त्यस्तो सम्बोधन गरेको हेडलाईन हेर्ने ?

किन हामी पुरुषसँग भेदभाव गर्नुभएको पत्रकार मित्रहरू, के हामी पुरुष मनुष्य होइनौ ? के हामी पुरुष कसैको श्रीमान्, ससुरा, छोरा, ज्वाई होइनौ र ?

मेरो प्रश्न पुरुष पत्रकारमित्रहरुलाई के तपाईँहरूको पत्रपत्रिकामा महिला कर्मचारी धेरै भएर वहाँहरुको थिचोमिचोमा परेर महिलालाई मात्र हेडलाइन बनाएर वहाँहरुलाई मात्र ठुलो बनाउन खोज्नुभएको हो ? मेरो प्रश्न महिला पत्रकार साथीहरूलाई के तपाईहरुले महिलालाई मात्र सबैले चिनोस भनेर हामी पुरुषको लागि कुनै पनि हेडलाइन नबनाउनु भएको त होइन ?

मेरो अनुरोध तथा सुझाव पत्रकार मित्रहरूलाई (महिला–पुरुष दुवैलाई) आर्को पटक हेडलाइन बनाउँदा लैङ्गिक समानतालाई ध्यानमा राख्नुहोला र अझ हामी जस्तो आम मानिसले बुझ्ने सरल भाषा प्रयोग गर्नुहोला ।
तपाईहरु सरल शब्द थाहा छैन भने म केही हेडलाइन लेख्दैछु ।

आज–भोलि कपि–पेष्टको जमना   छ जुन तपाईहरुलाई सिकाउनै पर्दैन, तेही गर्नुहोला ।हेडलाइनहरु यसप्रकार छन् ः

फलानोको बुढ़ा, फलानोको बुढ़ी, फलानोको बाउ, फलानोको स्वास्नी, फलानोको लोग्ने, फलानोको ज्वाई, फलानोको पोई इत्यादि ।

कपि–पेष्ट गर्दा ‘फलानो’लाई एडिट गरेर नाम लेख्नुहोला । आशा गर्छु पत्रकार मित्रहरुले अर्को पटक पुरुष केन्द्रित हेडलाइन बनाऊनेछन् र म पनि गर्वको साथ डल्लीलाई फूर्ती देखाउनेछु ।