यस्तो छ ३३ किलो सुन काण्डमा एमाले 'कनेक्सन' ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

यस्तो छ ३३ किलो सुन काण्डमा एमाले ‘कनेक्सन’ !



काठमाडौं । ३३ किलो सुन प्रकरणमा निलम्बनमा परेका बेला एसएसपी दिवेश लोहनीले पूर्व अर्थमन्त्री विष्णु पौडेलसँग गोप्य भेटवार्ता गरेको खुलासा भएको छ । पौडेलसँग गोप्य भेटवार्ता गरेपछि लोहनीले अर्थमन्त्री डा.युवराज खतिवडा तथा एमालेका उपाध्यक्ष बामदेव गौतमसँग पनि गोप्य वार्ता गरेका थिए । तर, लोहनी जोगिन भने सकेनन् र अन्ततः मोरङ प्रहरीको हिरासतमा पुगे ।

तीन हप्ता अगाडि भैँसेपाटीस्थित एमालेका उपमहासचिव समेत रहेका पूर्वअर्थमन्त्री पौडेलसँग भएको उक्त रहस्यपूर्ण भेटवार्तालाई एमालेकै नेताहरूले ३३ किलो सुनकाण्डसँग जोडेर हेर्न थालिएको छ । हेडक्वार्टरमा तानिएका बेला लोहनीले पौडेलसँग वार्ता गरेका थिए । लोहनीसँग वार्ता गर्नु अगाडि पौडेलले आफ्नै निवासमा अर्थमन्त्री डा. खतिवडासँग परामर्श गरेका थिए ।

त्यति मात्रै होइन पूर्व अर्थमन्त्री पौडेलले एसएसपी लोहनीलाई पूर्वगृहमन्त्री एवम् एमालेका उपाध्यक्ष बामदेव गौतमसँग पनि भेट गराएका थिए । ‘वामदेव गौतम, विष्णु पौडेल, अर्थमन्त्री डा.युवराज खतिवडा र लोहनीबीचको वार्तामा के कुरा भयो जानकारी छैन’, स्रोतले भन्यो । तर ३३ किलो सुनकाण्डमा फसेका लोहनीसँगको गोप्य वार्तामा सुन प्रकरणकै विषयमा लोहनीलाई जोगाउने कुरा भएको स्रोतको दावी छ ।

एमालेका उपमहासचिव पौडेललाई भेटेको दोस्रो हप्ता लोहनीले गृह मन्त्रालयद्वारा गठित छानविन समितिमा पुगेर बयान दिएका थिए । बयान दिएपछि उनी एक सातासम्म ढुक्क भएर बसेका थिए । तर, डिएसपी प्रजित केसीको बयानले उनलाई पोल्यो र पुनः छानविनसमितिले मोरङ प्रहरीको हिसातमा राखेर अदालतमा बयान लिएको थियो । एसएसपी लोहनी आफूलाई बचाउन माग गरेर पौडेल र गौतमको शरणमा पुगेका थिए ।

एसएसपी लोहनीले भेटेपछि तनावमा देखिएका एमाले नेता पौडेल बुद्ध सम्मेलनका अवसरमा आफ्नै गृहजिल्ला रुपन्देहीमा भएको कार्यक्रममा भाग लिन गएका थिएनन् । रुपन्देहीबाट निर्वाचित सांसद समेत रहेका पौडेल लुम्बिनी सम्मेलनमा सहभागी नहुनुलाई रहस्यका साथ हेरिएको छ ।

३३ किलो सुन काण्डका प्रमुख योजनाकार चुडामणि उप्रेती ‘गोरे’ फरार छन् । त्यति मात्रै होइन त्यही सुनका कारण सनम शाक्यसहित तीनजनाले ज्यान गुमाउनु परेको छ । यति ठूलो काण्ड हुँदा पनि ३३ किलो सुनको भने अत्तोपत्तो छैन । त्यस बेला सत्तामा रहेका अर्थमन्त्री, गृहमन्त्री र सीमित नेताहरूले नै ३३ किलो सुन गायब बनाएको भनेर एमाले मुख्यालय धुमबाराहीमा चर्चा हुन थालेको छ ।

सुन काण्डको दोस्रो चरणको अनुसन्धानमा पूर्व अर्थमन्त्री कृष्णबहादुर महराका छोरा निर्मल, बामदेव गौतमका छोरा हरिश, पूर्व एआईजीद्धय विजयलाल कायस्थ, विज्ञानराज शर्मा र उनका भाई दयाराज शर्मा, पूर्व एसएसपी रविराज श्रेष्ठसहित ठूला माछाहरु तानिने भएका छन् ।

स्रोत: पत्रपत्रिका