एमाले र माओवादी केन्द्रबीच एकता, यी हुन सहमतिका ७ बुँदा - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

एमाले र माओवादी केन्द्रबीच एकता, यी हुन सहमतिका ७ बुँदा



काठमाडौं, फागुन ७ । नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकताको ऐतिहासिक समझदारी भएको छ ।

नेपाली जनताको समृद्धिको चाहना र समाजवादको आधार तयार पार्ने महान उद्देश्यसहित गत असौज १७ गतेदेखि शुरु भएको एकता प्रक्रियामा आज समझदारी जुटेको हो ।

यो बीचमा पार्टीको वैचारिक कार्यदिशा, नेतृत्व, संगठनात्मक एकीकरणको प्रक्रिया लगायतका विषयमा दर्जनौपटक दुबै दलबीच बिभिन्न तह र चरणमा छलफल सम्पन्न भएको थियो ।

दुबै दलले एकता प्रक्रियामा सहमति निर्माण गर्न दुबै अध्यक्ष रहने पार्टी एकता संयोजन समिति गठन गरेका थिए ।

आज बालुवाटारमा बसेको पार्टी एकता संयोजन समितिको बैठकल सात बुँदे समझदारी गरेको छ ।

पार्टी एकताका लागि सहमति भएका बुँदाहरु

ने.क.पा.(एमाले) र ने.क.पा. (माओवादी केन्द्र) का वीचमा एकीकरणका प्रारम्भिक आधारहरु

१) एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी’ रहने छ ।

२) पार्टीको निर्देशक सिद्घान्त माक्र्सवाद–लेनिनवाद रहने छ ।

३) नेकपा (एमाले)ले अपनाउँदै आएको ‘जनताको बहुदलीय जनवाद’ अन्तर्गत अबलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा (माओवादी) केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिष्पर्धा मार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायतका मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएकै छ ।

४. ने.क.पा. (एमाले) ले अबलम्वन गरिआएको ‘जनताको बहुदलीय जनवाद’ र ने.क.पा. (माओवादी केन्द्र)ले अवलम्वन गरि आएको ‘माओवाद र २१ औं शताब्दीमा जनवाद’ सम्बन्धी विषयहरुमा विधिसम्मत छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने छ ।

५. उपरोक्त आधारमा टेकेर अन्तरिम राजनैतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गरिने छ ।

६. प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रीयता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै समाजिक आर्थिक रुपान्तरण मार्फत् समाजवादका आधार निमार्ण गरिनेछ ।

७. आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्यरुपले सम्पन्न गरिने छ ।