एमाले-माओवादी पार्टी एकताका आधारभूत प्रश्न ! - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

एमाले-माओवादी पार्टी एकताका आधारभूत प्रश्न !



-नारायण खनाल 

जनताले चुनावी तालमेलका लागि मात्र भोट दिएका होइनन् । कम्युनिस्ट पार्टीको एकता र दीर्घकालीन राजनीतिक स्थायित्व सहित समृद्ध र विकसित राष्ट्र निर्माणका लागि हामीलाई जनताको अपार माया प्राप्त भएको छ । परन्तु विषयवस्तुलाई निरपेक्ष ढङ्गले मात्र हेरेर आधारभूत प्रश्न माथि छलफल नै नगरी एकताको राग अलापेर मात्र एकता सम्भव छैन । आज हाम्रा कार्यशैली पुँजीवादी पार्टीका भन्दा फरक छैनन् । पुजिबाद, नाताबाद र चाकडीबादले कम्युनिस्ट आन्दोलनलाई नराम्ररी गांजेको छ । पुजीवादी पार्टी र हाम्रो बिचमा जनताले छुट्याउन सक्ने अन्तर छैनन् । नियति अर्थात् वस्तुगत परिस्थिति यति निर्मम हुन्छ कि हाम्रो कार्यशैलीका कारण हामीलाई बिस्तारै बिस्तारै बाम होइन दक्षिण कित्ता तर्फ धकेल्दै छ । यो प्रवाहलाई रोक्न सकिएन भने हाम्रो पतनलाई हाम्रो एकता त के संसारको कुनै पनि तागतले रोक्न सक्दैन ।

तसर्थ शुद्धिकरणको महाअभियानको थालनी bombard the headquarter बाट गरीनुपर्छ तबमात्र एकता आफ्नो अभिष्ट प्राप्तिमा सार्थक बन्छ ।अर्कोतर्फ बृहत् कम्युनिस्ट पार्टी निर्माणका लागि निरपेक्ष पार्टी एकताको राग अलापनुको सट्टा बृहत् वैचारिक बहस र सम्मानपुर्ण व्यवहारिक सम्बन्ध मार्फत सकारात्मक वातावरण तयार गर्नु हामी सबैको दायित्व हो । पार्टी एकताका लागि आवश्यक आधारभूत सर्तहरू ।

१. वैचारिक प्रश्न:

माओवादी केन्द्र मालेमाबाद लाई आफ्नो निर्देशक सिद्धान्त ठान्छ भने एमाले मालेबाद लाई । नयाँ बन्ने कम्युनिस्ट पार्टीको मार्गनिर्देशक सिद्धान्त र त्यसको औचित्य स्पष्ट पार्नु पार्टी एकताको आधारभूत र सर्वोच्च विषय हुन आउँछ । अर्कोतर्फ नेपाली क्रान्तिको मौलिक बिचार भन्दै अगाडी सारिएका २१ औँ सताब्दिको नौलो जनबाद र जनताको बहुदलीय जनबादको बहस पनि चर्को नै पर्न सक्छ । तत्काल लाई सबै विषय थाती राख्दा समस्याको निकास निस्कन नसक्ने कुरा स्पष्ट छ । बिचारको प्रश्न स्पष्ट नपार्ने हो भने दीर्घकालमा फरक धारका कम्युनिस्ट पार्टी जन्मने र मौलाउने खतरातर्फ पनि सजक रहन जरुरी हुन्छ ।

२. कार्यदिशा र कार्यनीतिको प्रश्न :

साम्यबादी व्यवस्था सबै कम्युनिस्ट पार्टीको मुख्य लक्ष्य हो, अभिष्ट हो । वर्तमान समाजबिकास, उत्पादन सम्बन्ध र त्यसले पैदा गर्ने विभिन्न अंतर्विरोध र त्यसलाई बहुसङ्ख्यक जनताको हित हुने गरी उपयोग गर्दै हल गर्ने प्रश्न महत्त्वपूर्ण हुन आउँछ । कम्युनिस्ट पार्टी विभाजनको मुख्य कारण पनि यही हो तसर्थ कार्यनीति र कार्यदिशाको सन्दर्भमा पनि मोटामोटी रूपमा स्पष्ट हुन जरुरी देखिन्छ ।

३. सङ्गठनात्मक पद्धतिको प्रश्न :

जब कार्यनीति र कार्यदिशा तय गरिन्छ त्यसले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्नको लागि सोही अनुरूपको सङ्गठनात्मक ढाँचा अवलम्बन गर्न जरुरी देखिन्छ । वर्तमान सन्दर्भमा नोकरशाही पुजिबादमा फसेको एमालेको र जनयुद्धकालिन सङ्गठनात्मक ढाँचा छोडीसकेको र नयाँ ढाँचा निर्माण गर्न नसकेको तदर्थबादी माओवादी केन्द्र को दुवैको सङ्गठनात्मक ढाँचा अब निर्धारण हुने लक्ष्य अनुकूल छैनन् । लक्ष्य जतिसुकै सही भए पनि कार्यनीति र कार्यदिशा अनुसार सङ्गठनात्मक ढाँचा निर्माण गर्न नसके हाम्रो पराजय निश्चित भएको कुरा ०७० र भर्खरै सम्पन्न स्थानीय, प्रदेश र सङ्घको निर्वाचनमा माओवादी केन्द्र को पराजयले बताइसकेको छ । नयाँ निर्माण गरिने पार्टी मा तदर्थबादी र नोकरशाही पुजीवादी दुवै प्रकारका पद्धति बाट माथि उठेर कम्युनिस्ट आदर्श अनुकूलको आचरण हुने सगठनात्मक पद्धति अपनाइने कुराको सुनिश्चितता हुन जरुरी छ । अन्यथा सिङ्गो सङ्गठन नोकरशाही पुजिपतिको दलदलमा फस्ने छ ।

४. विगतको समीक्षा :

विश्व कम्युनिस्ट आन्दोलनको समीक्षाका बारेमा पछि पनि बहस गर्न सकिएला परन्तु नेपालको सन्दर्भमा झापा विद्रोहको धारबाट आएको एमाले र जनयुद्धको धारबाट आएको माओवादी केन्द्र दुवैले निसर्त दुवै धाराका गरिमा र महत्त्वलाई आत्मसात गर्न जरुरी छ । झापा विद्रोहको जगमा प्रजातन्त्रको स्थापना र जनयुद्धको जगमा गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्वको स्थापना भएको विगतलाई एकीकृत पार्टीले सगौरव आत्मसात गर्न सके मात्र पार्टी एकताको जग बलियो बन्नेछ । यी सन्दर्भमा कतिपय नेताले दिने अभिव्यक्ति पार्टी एकता भाड्ने दिशातर्फ लक्षित देखिन्छन् । बेलाबखत फरक धारमा रहेर पनि एकाअर्काको पुरक बनेको इतिहास त हाम्रो अगाडी साक्षी नै छ ।

५. नेतृत्वको प्रश्न/ कार्यबिभाजनको प्रश्न :

बिचार र नेतृत्व अभिन्न रूपमा जोडिएका विषय हुन । लक्ष्य प्रति इमानदार, नीतिमा दृढ र व्यवहारिक रूपमा लचक जसले हामीलाई हाम्रो लक्ष्यसम्म पुर्‍याउन सकोस् त्यस्तो गुण भएको सर्वोच्च कमान्डर चुन्नुपर्ने हुन्छ । अर्कोतर्फ यो पार्टी एकताको पनि प्रश्न भएकोले विगतमा फरक फरक धारमा भएकालाई पनि उचित जिम्मेवारी दिनुपर्छ तर मुख्य नेतृत्वको बारेमा भने यो पार्टी र उ पार्टीको गरिनु हुँदैन । उचित कार्यबिभाजन र सक्षम नेतृत्वको छनोट गर्न सकिएन भने फरक धारका संसदीय पार्टी(जस्तै कङ्ग्रेस, विवेकशील साझा) जन्मने र मौलाउने कुरामा मलजल पुग्दछ ।

मसिनो गरी सबै कुराको टुंगो एकीकृत कम्युनिस्ट पार्टीको महाधिवेशनले लगाउने नै छ । तथापि माथि उल्लिखित पाँच प्रश्न माथिको मोटामोटी सहमति बिनाको पार्टी एकता बालुवाको घर जस्तो बन्नेछ । तसर्थ सम्पूर्ण पार्टी पंक्ति(सबै कम्युनिस्ट पार्टीका) यो बहसमा सहभागी बनी अधिकतम लचकताका साथ पार्टी एकतालाई सार्थक तुल्याउन लागि परौँ ।