एमाले माओवादी कार्यकर्तालाई खुशीको खबर :शुक्रवारदेखि पार्टी एकताको प्रक्रिया सुरु - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

एमाले माओवादी कार्यकर्तालाई खुशीको खबर :शुक्रवारदेखि पार्टी एकताको प्रक्रिया सुरु



काठमाडौँ । निर्वाचनपछि एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण हुँदैन कि भनेर विभिन्न आशंका उब्जी रहेका बेला दुवै दलका शीर्ष नेताहरूले शुक्रवारदेखि एकताको प्रक्रिया सुरु गर्ने भएका छन् ।

साझा चुनावी घोषणापत्र निकाली निर्वाचनमा होम्मिएका एमाले र माओवादीबीच एकीकरण प्रक्रियाको औपचारिक सुरुआत शुक्रवार हुनेछ । दुवै पार्टीका अध्यक्षसहित शीर्ष नेता सम्मिलित केन्द्रीय एकता संयोजन समितिको बैठक शुक्रवार बस्ने स्रोतले जनाएको छ ।

बैठकमा पार्टी एकीकरणको अजेन्डादेखि पद बाँडफाँटसम्मका विषयमा छलफल हुनेछ ।

बैठकमा जानुअघिको अजेन्डा तयार गर्न माओवादीले बैठक सम्पन्न गरिसकेको छ । एमालेले आन्तरिक बैठक सक्नेबित्तिकै संयुक्त बैठक बस्नेछ ।

बैठकमा पेस गर्ने औपचारिक अजेन्डा र विषय तयार नपारिसकेकाले बैठक बस्न ढिलाइ भएको स्रोतले जनाएको छ । माओवादीको गत ३ गतेको बैठकले एकीकरण प्रक्रियालाई प्राथमिकता दिने निर्णयसहित पदीय बाँडफाँटमा सम्मानजनक अवस्था दिलाउने म्यान्डेटसहित पार्टी नेतृत्वलाई जिम्मेवारी दिइसकेकोे छ ।

एमालेको स्थायी समितिको बैठकले पार्टी एकीकरणलाई प्राथमिकतामा राखेर निर्वाचन परिणामको समीक्षा पनि गर्नेछ । एमालेको बैठक बिहीबार बस्दैछ ।

केन्द्रीय संयोजन समितिमा एमालेबाट अध्यक्ष केपी ओली, माधवकुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेललगायत छन् । माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता श्रेष्ठ, रामबहादुर थापालगायतका नेता सम्मिलित छन् । दुवै दलले आआफ्ना अजेन्डा शुक्रवारको बैठकमा पेस गर्दैछन् ।