जनयुद्ध र फिफ्टी फिफ्टी हात्तिको देखाउने दाँत ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

जनयुद्ध र फिफ्टी फिफ्टी हात्तिको देखाउने दाँत !



काठमाडौं । नेकपा एमाले र नेकपा माओवदी केन्द्रबीच हुने भनिएको पार्टी एकताको औपचारीक मिति तय हुन सकेको छैन । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भारत भ्रमण अगावै गर्ने भनिएको एकता तत्काल नहुने नेताहरुले बताउन थालेका छन् ।

चैत महिनामै एकता घोषण गर्ने तयारी गरेका एमाले–माओवादी केन्द्रबीच शक्ति बाँडफाँडको विषयलाई लिएर लम्बिएको खुलेको छ । एकताका विषयमा सबै सहमति जुटेको घोषणा गर्न मात्र बाँकि रहेको वाम गठबन्धनका नेताहरुले बताएपनि शक्ति बाँडफाँडका विषयमा ओली र माअोवादीका अध्यक्ष प्रचण्डबीच कुरा मिल्न नसकेको एमालेका एक नेताले बताए ।

प्रचण्डले अखिल (क्रान्तिकारी)को गोप्य प्रशिक्षणमा बराबरी हैसियत नपाए पार्टी एकता नहुने अभिव्यक्ति दिए । प्रचण्डको सो अभिव्यक्तिले एमालेमा तरंग पैदा भयो । तत्काल ओलीले एमालेका शीर्ष नेताहरुलाई बालुवाटारमा भेला गरेर जनयुद्ध र ५०/५० अनुपातमा पार्टी एकता नहुने बताए ।

जनयुद्धलाइ स्विकार गरेर ५०/५० को अनुपातमा पार्टी एकता हुन नसक्ने पक्षमा ओली छन् । ओलीकै आदेशमा जनयुद्ध, चुनाव चिह्न र केन्द्रीय कमिटीको एकीकरणको मापदण्ड बिना नै प्रतिवेदन तयार पारेर पार्टी एकता संयोजन समितिलाई बुझाइएको छ । एमाले नेताका अनुसार संयोजन समितिमा रहेका नेताहरू ईश्वर पोखरेललाई ओली र रामवहादुर थापा बादललाई प्रचण्डले दवाब दिएकै कारण सहमति जुट्न नसकेको हो ।

एकता घोषणाको अन्तिम अवस्थामा प्रचण्डले ५०/५० को तुरूप फालेपछि ओली रुष्ट बनेको एमाले नेताले बताए । उनका अनुसार ओली प्रचण्ड भेटमा समेत सो विषयमा छलफल भएको छ । भेटमा ओली जनयुद्ध स्विकार गरेर ५०/५० को अनुपातमा एकता हुन नसक्ने अडानमा देखिए भने प्रचण्ड दुबै शर्त छोड्न तयार देखिएनन् । यसले ओली–प्रचण्डबीचको सुमधुर सम्बन्धमासमेत दरार ल्याउने आशंका दुबै दलका नेताहरुले गर्न थालेका छन् । दुबै नेताले आ–आफ्नो अडान नछाड्दा पार्टी एकता नै पेचिलो बनेको छ ।

५०/५० को अनुपात एमालेले अस्विकार गरेपछि पछिल्लो समय माओवादी अध्यक्षले एकीकृत पार्टीमा केन्द्रीय कमिटीदेखि तल्लो तहसम्म दुई अध्यक्ष राख्न प्रस्ताव गरेको छ । एमाले दुई अध्यक्ष प्रणालीसमेत स्विकार्न तयार छैन । माओवादी केन्द्रका एक नेताका अनुसार ५०/५० को अनुपातमा एकता नभए पार्टी एकताबाट ‘ब्याक’ हुन प्रचण्डलाई पार्टीबाटै केहि नेताले दबाव दिएका छन् । माओवादी नेताहरुले एकता सम्मानजनक हुनुपर्ने बताउँदै आएका छन् ।

अब पार्टी एकतालाइृ निष्कर्षमा पुर्याउन कि एमाले जनयुद्ध स्विकार गरेर ५०/५० हैसियतमा एकता गर्न तयार हुनुपर्छ कि माओवादी केन्द्रले जनयुद्ध छाडेर एमालेले दिएको सिटमा चित्त बुझाउनु पर्छ । तर, दुबै दल आ–आफ्नो अडानकाट टसमस छैनन् ।