माईली - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

माईली



  • दुर्गा पंगेनी

एउटी साधारण केटी । त्यस्तै १४ वर्षकी हुँदीहुन भर्खर कुरकुरे बैँस सुरु भएको अवस्थामा अचानक एक जना उनकै टाढाको नातेदार महिलाले फकाएर उनको आफन्त सँग बिहे गराईदिए । उनको बिहे भएको उनकै बा आमाले समेत पत्तो पाएनन । गाउमा अचानक उनी पोइला गएको हल्ला चल्यो । त्यति सानै उमेरमा कसरी पोइला गई? एक किसिमको कौतुहलता गाउँ भरि व्याप्त भयो । उनका बा आमा र आफन्तले अझै पनि फर्काएर ल्याउन सकिन्छ कि भनेर कसरत गरे । तर त्यो समय नै त्यस्तै थियो । अन्जानमा आफन्तको लहै लहैमा लाग्दा उनी छोरी बाट अर्कैकी श्रीमती र बुहारी बैसकेकी थिइन । बिहे भनेको गुडियाको खेल हो भनेर बुझ्ने समयमा उनको आफ्नै बिहे भएको कुरा उनले कतिबेला थाहा पाइन् मैले अनुमान सम्म गर्न सक्तिन । उनको हाम्रो गाउको माइला सँग बिहे भएको कारण उनी हाम्रो गाउँकी माइली भाउजू हुन पुगिन ।

उनको बिहे भएका माइला दाइ कस्ता थिए भने बाहुनका छोरा गाउमा ठिकै खाले हुने खाने मध्यका अलि अलि सम्पत्ति भएका तर रक्सीको कुलतले नराम्रो सँग गाँजेको कारण उनको कतै पनि बिहे हुन सक्ने अवस्था थिएन । चिनेको वरिपरिको सात गाउँ बाट उनलाई छोरी कसैले नदिएर छिप्पड हुँदै गइरहेका थिए र उमेर सँगै उनको रक्सीको लत पनि छिप्पिदै थियो ।

अचनाक माइलादाईले घरमा दुलही भित्र्याएको हल्ला चल्यो । एक किसिमको रमाइलो कथा बन्यो माइला दाइको बिहे । कसैले उसले कसैलाई फसाएको भनेर कुरा काटे । कसैले सानै बालाखा केटी भगायो रे भन्ने हल्ला चलाए । जति हल्ला चले ती सबैमा केही न केही सत्यता थियो । अन्त्यमा माईला दाइको घरजम भयो । हल्ला हरू घट्दै गए । समाज आफ्नै लयमा बग्दै गयो ।

बिहेको केही दिन पछि बाट नै माइलाको घर बाट कोकोहोलो बाहिर निस्कन थाल्यो । रक्सी खाएपछि अत्यन्तै झगडालु माइलाले बिहे पश्चात् पनि रक्सी छोड्न त सकेन नै उल्टो रक्सी नखाउ भनेर अनुरोध गर्ने माइलीलाई भक्कु भकुर्न थाल्यो । एक त बालाखै छन् माइली भाउजू मुस्किल ले १४ वर्ष होलिन त्यसमाथि माईलाको पिटाइ र अन्याय ले उनी निराश र जिर्ण हुँदै गएकि थिइन । अनुहार को कान्ति हराएर आफूले अक्षम्य गल्ती गरेको लगुताभासले माइली लाई हेर्दै बिरक्त लाग्दी बनाउँदै लग्यो । माइलाको अराजकता पटक्कै घट्ने नामो निशान थिएन ।

अचानक गाउमा हल्ला चल्यो ल माइली त दुई जिउकी भएकी छ भनेर । अब पक्का पनि माइलो सुध्रन्छ भन्ने आशा उसको घर परिवारमा मात्र नभएर गाउँ भरि पलायो । आखिर गाउँ न हो । एक जना बिग्रदा गाउँ नै दुखी हुन्छ । एक जना सप्रदा सिङ्गो गाउँ खुसी हुन्छ । माइलाको उद्दण्डताले भन्दा माइलीको कारुणिक अवस्था देखेर दुखी थियो छिमेक । माइली को पेट बढ्दै आयो । दुई जिउकी हुँदा पनि माइलाको माइली माथिको अत्याचार घटेन । बरु बढ्दै पो गयो । माइली दैनिक कुटाइ खान्थिन – सहन्थिन चुपचाप । उनले सहेकै कारण उनी माथिको अत्याचार झन् झन् बढ्दै गइरहेको थियो । छिमेकी हरू मुक दर्शक थिए । घर बाहिर माइलाले हातपात गर्दा छुट्याउने एकादुई छिमेकी लाई उसै सँग नाजायज सम्बन्ध भएको आरोप लगाइदिन्थ्यो माईलो । त्यसैले पनि कोही कसैले माईली प्रति सहानुभूति देखाउन सम्म हिम्मत गर्दैनथे । समय बित्दै गयो –माइला माइलीको पहिलो सन्तानको रूपमा छोरी जन्मिईन । छोरी जन्मेपछि परिवारमा केही शान्ति आउला लोग्नेले आफूलाई माया गर्लान ।

केही कमाउलान र परिवार प्रतिको दायीत्वबोध गर्लान र आफ्नो जीवनमा पनि सुखका दिन फर्कलान भनेर आशा गरेकी माइली त्यति बेला निराश भईन जतिबेला सुत्केरी उम्केकै दिन छोरीको न्वारान कै दिन मईलाले उनलाई रक्सी खाएर कुट्यो ।फेरी पनि माईली सँग सहनुको विकल्प थिएन । उनी सँग जीवन रोजे कुटाई र मुक्ति रोजे आत्महत्या बाहेक विकल्प थिएनन । जाने ठाउँ थिएन । दुख बिशाउने ठाउँ थिएन । मर्न भर्खर जन्मेकी छोरीको मायाले दिएन । जिउन पापी माइलाको पिटाइको कारण नसक्ने अवस्था आएको अनुभव माइलीले मात्र होइन गाम्ले सबैले अनुभव गर्दै गैरहेका थिए ।

समयको चक्र घुम्दै गयो । माइलाको अत्याचार घट्दैन । दैनिक भट्टीमा जाने रक्सी खाने र घरमा आएर माइली लाई प्रताडित गर्ने बाहेक माईलाको अरू कुनै काम थिएन । माइली बिहान उठेदेखि बेलुका आधारात सम्म घर धन्दा र मेलोपात अनि छोरीको स्याहारले लखतरान हुन्थिन । माइलो भट्टी बाट फर्कन्थ्यो र उनैलाई लुछ्थ्यो । यो क्रम चलिरह्यो । दुई वर्ष पछि माइली फेरी गर्भवती भईन । उनको पेट बढ्दै आयो । यो दुखमा पनि फेरी अर्को सन्तान जन्माउनु कम्ती सास्तीको काम होइन फेरी पनि माइलीको कर्ममा त्यही लेखिएको थियो । माइलो छाडा – माइली अनजान । प्रकृतिले दिएको मलिलो कोखले बिउ विषको हो कि अमृतको चिन्दैन । मलजल गरेर हुर्काइदिन्छ । यहाँ पनि त्यस्तै भयो । माइलीले फेरी अर्को सन्तान छोरो जन्मईन ।

दुइटी सन्तान छोरा र छोरी हुँदा पनि माइलाको बानीमा सुधान आएन । दुवै सन्तानको अनुहार काटीकुटी माईलाकै जस्ता छन् फेरी पनि रक्सीको तालमा मेरा छोराछोरी नै हैनन् भन्दिन्छ कहिलेकाहीँ । पिट्ने उ, रात दिन रक्सीको नसामा आएर बाघले हरिणलाई झम्टेझैँ झम्टने र लुछ्ने उसले । अन्त्यमा दुर्वचन लगाउने र दुर्ब्यवाहर गर्ने पनि उही… । अन्यायको पनि हद हुन्छ । माइलाको अन्यायले माइलीलाई कठोर बनाउँदै ल्यायो । उनले कसरि छोरीहरुको सुरक्षा र लालन पालन गर्ने भनेर नसोचे कसैले नसोच्ने भयो त्यो कुरा माइलीले बुझिसकेकी थिइन । सिङ्गो जिन्दगी लमतन्न अगाडी तेर्सिएको छ । त्यसमाथि दुइओता सन्तानको भविष्यले उनी तिरै फर्केर आशातित नजरले केही मागीरहेजस्तो देख्छिन । अनि सोच्छिन अब छोराछोरीहरुलाई मैले कस्तो भविष्य दिने?

भरे के खाने या के लाउने भन्ने चिन्ता बेग्लै छ त्यसमाथि पहाड झैँ ठडिएको दुई सन्तानको भविष्यले माइली लाई जुर्मुराउन बाध्य बनायो । माइला सँग केटाकेटी छोडेर उनी बाहिर निस्कने अवस्था छदै छैन । उसले छोरी बोकेर मार्छु भन्दै हिड्छ । खोसेर युद्ध लडेर उनीहरूलाई जोगाउन परेको अवस्थामा माइली सँग यौटै विकल्प थियो –माईती  ।

अब माइलीको जिन्दगीको दोस्रो अध्याय सुरु हुने क्रम थियो । पासपोर्ट बनाएकि माईली वैदेशिक रोजगारीको लागी साइप्रस जाने लाइनमा थिइन । माइतीहरुले मनग्य साथ दिएका थिए । हुन त हुने खानेकै छोरी हुन उनी । आफन्तले झुक्याएर माइला सँग नजोडदिएको भए स्कुल पढ्दै हुन्थिन होला तर एउटा धोकाको कारण आज माइली २० वर्ष कि हुँदा उनको काखमा एउटी चार वर्ष र अर्को २ वर्षका बालख छन् काखमा ।

हेर्दा हेर्दै मईलिको साइप्रसको भिसा आयो । उडिन माइली आफ्नो थोरै सुख र धेरै अगाडिको सन्तानको भविष्यको खोजीमा । साइप्रस तुलनात्मक रूपमा सुरक्षित् र राम्रो कमाई हुने वैदेशिक रोजगारीको गन्तव्य हो । त्यहाँ पुग्नको लागि माइलीले गरेको सङ्घर्षको कथा त धेरै लामो छ । तर पनि साइप्रस पुगेपछि उनको जागिर राम्रै पर्‍यो । ठिकै ठिकै पैसा कमाउदै गईन माईली ले । गएको ऋण तिरेर पनि दुई वर्षमा राम्रै जोडजाम पारिन । समय बित्दै गयो माइलीका माईतिले माईलीलाई साथ दिँदै गए । माईलीले कमाएको पैसाले उनको लागि घडेरी किनियो । उनका छोरीको सुनौलो भविष्यको लागि माइली उता शंघर्शरत छन् यता उनलाई सहायोग गर्ने हातहरू तम्तयार छन् । अब माइलीको अवस्था सुधारोन्मुख हुँदै आयो ।

माइलाको अवस्था उस्तै छ । आफ्नो पुरुषार्थ देखाउन माइलाले आर्को बिहे गर्‍यो । अब माइली विदेशमा हुँदा घरमा कान्छी श्रीमती भित्र्याएर कान्छी सँग मारपिट गर्न थाल्यो माइलो । जति गरे पनि उसको बानीमा सुधार आएन । माईली विदेश हुँदा मवाल भएका छोरा छोरीहरुको कहिल्यै सम्झना सम्म गरेन । अन्त्यमा माइली विदेशबाट बिदामा अईन र उनीहरू बिच सम्बन्ध कानुनी रूपमै बिच्छेद भयो ।
माइली विदेशिएको बाह्र वर्ष हुन लाग्यो । छोराछोरीहरू राम्रो स्कुल कलेज पढिरहेका छन् ।

माइला सँग हुँदा भन्दा माइलीको रूप रङ्ग अहिले फेरिएको छ । सामाजिक सञ्जालमा बाक्लो उपस्थिति जनाउने माइली दैनिक दुई चार पटक अपडेट भैरहन्छीन । गाउमा जग्गा जमिन, पोखरामा घडेरी, मनग्गे बैङ्क ब्यालेन्स जोडिसकेकी माइलीको अबको सपना चिटिक्कको घर र एउटा सानो गाडी रहेको छ ।

बेला बेला बिदामा नेपाल आइरहने माईली र उनका छोराछोरीको सम्बन्ध अत्यन्तै भावनात्मक छ । बाबुनानीलाई राम्रै देशमा अगाडिको पढाइ गर्न पठाएपछि नेपाल फर्कने सोच बनाएकी माइली अब साइप्रस नफर्कने गरी नेपाल फर्कदा उनीहरू लाई अस्ट्रेलिया पठाउने उनको योजना छ ।त्यतिन्जेल सम्म माइलीका भविष्यहरू विदेश तिरै सेटल भैसकेका हुनेछन, यो उनको रहर मात्र होइन निकै छिटै हुन गैरहेको यथार्थ कुरा समेत हो ।

अहिले माइलोले समाचार पठाउछ । समाचार मात्र होइन रक्सीले मातेपछी रोएर भिडियो खिचेर पठाउछ । बिस्तारै माइलाको उमेर ढल्कदै गयो रक्सीले गाल्दै लग्यो । जिर्ण भएको अनुहार देखाएर आँसु झार्दै माइलोले माफी माग्छ । जे भए पनि तिमि नै मेरी जेठी श्रीमती होऊ माया नमार भनेर अलिकति सम्बन्ध को भिख माग्छ । माइलाले यसरि हात पसार्दा कता कता नरमाइलो त लाग्छ नै तर पनि माईलीलाई त्यो कहाली लाग्दो विगतले झस्काउछ । उनले अतीत सम्झन्छिन । माइलाले पिट्दा लागेका चोटका खत रू अझै ताजा जस्तो लाग्छ उनलाई । आफ्नो शरीरमा कहिले नमेटिने गरी लागेका चोटका दागहरू पुराना हुँदै गएका छन् ।

विर्षिसकेको विगत कोट्टीदा खाटा बसिसकेको मनको घाउ फेरी ताजा भएको अनुभव हुन्छ माईलीलाई । उनलाई झनक्क रिस उठ्छ,लामो श्वास फेर्छिन तर केही बोल्दिनन । हर्लक्क बढेर हेरिरहुँ जस्ता भएका कल्कलाउदा छोरीहरू, आफ्नो आफैले निर्माण गरेको सामाजिक हैसियत र अगाडिको खुशाहाल जिन्दगीको मार्गचित्र हेरेर माइली मुसुक्क मुस्कुराउछिन र माइलो रोएको भिडियो ह्वाट्सअपको इनबक्सबाट खुसुक्क डिलिट गर्दिन्छिन ।