डा. केसीको समर्थनमा गगन थापा सहित माइतीघरमा प्रदर्शन हुँदै - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

डा. केसीको समर्थनमा गगन थापा सहित माइतीघरमा प्रदर्शन हुँदै



पूर्व स्वास्थ्य मन्त्री गगन थापा चिकित्सा शिक्षा र स्वास्थ्य सेवामा व्याप्त बेथितिविरुद्ध आन्दोलनरत डा. गोविन्द केसी पक्राउको विरोधमा मंगलबार माइतीघर मण्डला जाने भएका छन्।

केसी पक्राउको विरोधमा उनलाई सर्वोच्च अदालत पेस गर्नुअघि मंगलबार बिहान ८ बजे माइतीघर मण्डलामा प्रदर्शन आयोजना गरिएको छ। प्रदर्शनमा सहभागी भएर केसी पक्राउको विरोधमा ऐक्यबद्धता जनाउन सामाजिक सञ्जालमा सबैसँग आग्रह गरिएको छ।

नेपाली कांग्रेसका नवनिर्वाचित सांसद थापाले ट्विटरबाट आफू पनि उक्त प्रदर्शनमा सहभागी हुने जानकारी दिएका हुन्।

‘न्यायका लागि भोलि बिहान ८ बजे म माइतीघर जानेछु र विश्वास छ तपाईं पनि आउनु हुनेछ,’ उनले ट्विटरमा लेखेका छन्।

त्यसअघि थापाले केसी पक्राउको विरोध र तुरुन्त रिहा गर्न माग गर्दै ट्विट गरेका थिए।

उनको पहिलो ट्विटमा भनिएको छ, ‘सबै नेपालीका लागि सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउन संघर्षरत डा. गोविन्द केसीको गिरफ्तारीको कडा शब्दमा निन्दा गर्दै उहाँलाई तुरुन्त रिहा गर्न सरकारसँग माग गर्छु। हाम्रो लोकतन्त्रले अन्यायको अहिंसात्मक विरोधलाई न्यायसम्पादनमा अवरोध मानेर दण्डित गर्ने अधिकार दिएको छैन।’

डा. केसी प्रधानन्यायाधीश पराजुलीको बर्खास्तगी लगायत माग राखेर सोमबार दिउँसोबाट अनसन बसेका थिए।

लगत्तै सर्वोच्चले आफैं टिप्पणी उठाएर उनीविरुद्ध अदालतको मानहानि मुद्दा इजलासमा पेस गरेको थियो। न्यायाधीश डम्बरबहादुर शाहीको इजलासले केसीलाई ‘मंगलबार बिहान ९ बजे अदालतमा उपस्थित गराउनू’ भन्ने आदेश दियो। आदेशमा तुरुन्तै पक्राउ गर्नू भनेर भनिएको छैन।

सर्वोच्चको आदेशको केही घन्टाभित्रै प्रहरीले उनलाई पक्रेको हो। उनलाई पक्रन एसपी रामदत्त जोशीसहितको टोली टिचिङ अस्पताल पुगेको थियो। केसीलाई सिंहदरबार वृत्तमा हिरासतमा राखिएको छ।

डा. केसीलाई ‘फरार अभियुक्तझैं पक्राउ गरिएको’ भन्दै सामाजिक सञ्जालमा विरोध भइरहेको छ।