धोका

November 6, 2017
2 Views

-अन्जना केसी 

‘सवि, तिमी तयार हौ है। हामी बाहिर जाँदैछौं,’ मेरो श्रीमान् संयोगले टावेल समात्दै भन्यो।

‘किन र?’

‘तिम्रो भिसा निस्किएछ। आज पैसा लिएर मेनपावर आउनु भनेको छ।’

मलाई कसैले घुचुकमै हानेजस्तो गाह्रो फिल भयो। मैले आँखाभरिको आश्चर्य र रिसलाई दबाउँदै बोलें, ‘कहिले एप्लाई गर्नुभा’को थियो र? कहाँ हो, कस्तो हो? के काम हो, अनि छोरी? उसको स्याहार कसरी गर्नुहुन्छ? रात दिन बाहिर बस्ने मान्छेले?’

‘छोरीको चिन्ता नगर न? फेरि बच्चाको सुन्दर भविष्यको लागि त एक जना बाहिर जानैपर्छ, पार्लरको काम हो धेरै गाह्रो छैन, दुवै भए पनि पैसा राम्रो हुन्छ भनेर साथीले भनेको थियो, अनि उसको अफिसको माध्यमबाट एप्लाई गरेको भिसा छिट्टै निस्किएछ।’

‘अनि हजुर गएको भय हुन्थ्यो नि त?,’ मैले झर्किंदै बोले। तिमी एउटा मात्र नारी होइनौं, जसले बच्चा छाडेर विदेशिएको छ। धेरै गनगन नगरी तयार होऊ’ भन्दै ऊ बाथरुम छिर्यो। म पनि विवशताको बहानामा विदेशिने भएँ। मुटुमा धक्का लाग्यो स्कुल गएकी पाँच वर्षकी छोरी सम्झेर। म संयोगको बाइकको पछाडि बसी मेनपावर पुगें। ‘भोलि वा पर्सि टिकट बन्छ, एक हप्तामा तपाईँ उड्नुपर्छ। तयार भएर बस्नुहोला,’ मेनपावरको मान्छेले भन्यो।

‘मात्र एक हप्ता?’

म स्तब्ध भएँ। सास अड्किएजस्तो भयो। घर फर्किएँ। दिउँसोको २ बजिसकेको थियो। छोरीलाई स्कुलबाट लिने समय भइसकेको हुनाले उसलाई स्कुल गएर बोकेर लिएर आएँ। उसलाई काखमै राखिरहेँ, छातीमै टासिरहुँ , मायाले चुमेर अँगालोमा बेरिरहुँ लाग्यो। छोरीको अनुहार हेरेँ। मेरो आँखा भरिएर आए। आँखामा भरिएको आँसु लुकाउन आँखा ठुला–ठुला पारेँ। आँसु पोखिएर झर्यो छोरीको गालामा तप्प…।

नाक रसिलो भयो। नाके रसलाई माथि तानेँ। उसलाई अँगालोमा अठ्याएर भक्कानिएर रोएँ । छोरी छक्क परी मेरो त्यो अवस्था देखेर। स्कुलबाट आउनासाथ होमवर्क गर भन्दै कराउने मामुले काखमा राखी माया गरेको देख्दा छोरी चुपचाप थिई। टुलुटुलु मेरो मुखमा हेरिरहेकी थिई।संयोगको ताल त्यही हो! छोरीलाई माइतमा राखुँ भने नेवारसँग बिहे गरी भनेर अहिलेसम्म बोलाएका छैनन्। न घरकाले नै मलाई बुहारी भनेर भित्र्याएँ।

लोग्नेले बच्चाको भविष्य देखाउँदै विदेश पठाउन चाहन्छ। मलाई त्यो लोग्ने अनि सानो बच्चा छाडेर जान मन छैन। अब म कसो गरुँ?,’ भित्रभित्रै पीडाले भुटभुटिएँ। छटपटिएँ। म कहिलेकाहीँ झगडा पर्दा तिमी विदेश गएर पैसा कमाउदैनौं भने म जान्छु भनेर पटक–पटक भनेकी थिएँ संयोगलाई। मेरै जिद्धीले पासपोर्ट बनाएको थियो। उसलाई तर्साउन बोलेका शब्द मैमाथि आइपर्छन्् भन्ने कुरा मलाई के थाहा! मैले मेरो दुःख–सुखको मिल्ने साथी चेतनालाई फोन गरेँ, ‘मेरो त भिसा निस्किएछ नि! यो हप्ता जानुपर्ने भयो।’

ऊ खुसहुदै बधाई दिई।

‘घर र छोरीको चिन्ता नगर, म छु नि,

मेरो के काम छ र ?

संयोगले नभ्याउँदा म उसलाई स्कुलबाट ल्याइहान्छु नि,’ चेतनाले ढाडस दिँदै भनी। मन अलि शान्त भयो।

‘हो नि!’बिहेदेखि अहिलेसम्म मलाई सहयोग र माया गर्ने चेतना नै त थिई! भन्दै केही खुसी पोतियो। सरसफाइ र केही आवश्यक सपिङ चेतनासँगै मिलेर गरेँ। मैले घर अनि बच्चाको चिन्ता गर्दा उसले मलाई सम्झाउँथी।

दिन बितेको पत्तै भएन। मेरो दुबईको लागि उड्ने दिन आयो। साँझ ८ बजेको फ्लाइट थियो। साढे ५ बजे नै घरबाट निस्कियांै। ट्याक्सीमा संयोग अगाडि बस्यो, चेतना, छोरी र म पछाडि बस्यौं। मेरो आँखाभरि आँसु थिए। गला अबरुद्ध थियो। चेतनाले खै के–के भन्दै सम्झाइरहेकी थिई। जति–जति एयरपोर्टतर्फ बढ्दै थिएँ उति नै मेरो पाइला गह्रौं हुन थाले।

कसैले पछाडिबाट डोरी लगाएर तानेजस्तै, साँच्ची कसैले तानिदिए हुन्थ्यो। प्लेन क्यान्सिल भइदिए हुन्थ्यो वा कतै तत्काल कुनै अनिष्ट होस् वा केही कारणले मलाई घर फर्कन परोस् ता कि एक रात भए पनि छोरीलाई काखमा राखेर सुत्न पाऊँ। वा उसलाई निदाउन नदिई छोरीसँग खेलेर रात बिताऊँ। यस्तै, यस्तै सोच्दै एयरपोर्ट आइसकेछ, ट्याक्सीबाट ओर्लंदै गर्दा सुन्दर सपना बोकेका मानिसहरूको ताँती थियो। आशावादी मन, निराश अनुहार बोकेर लामबद्ध भएको टिमसँग म पनि सामेल भएँ। भित्र छिर्ने बेला भयो।

छोरी रोइरहेकी थिई। मैले आँसु थामिरहेकी थिएँ। छोरीका अगाडि म उसलाई कमजोर बनाउन चाहन्नथें। मनमनै भन्दै थिएँ, ‘छोरी तिमी म बिना जिउन सक्नुपर्छ, के गर्नु तिमीलाई मेरो काख लेखेको छैन रहेछ। तिम्रो बाँकी सपनालाई तुहिन दिने छैन, म पूरा गर्ने छु।’

म भित्रिएँ छोरी रुवाएर। उसको रुवाईको आवाज परसम्म गुञ्जिह्यो। म नसुनेझैं गरेर अगाडि बढिरहें। विमानस्थलबाट जाँचपास भयो। प्रतिक्षायालय गएर बसेँ। छोरीको फोटो हेर्दै संयोग र चेतनालाई पटक–पटक कल गरेँ। एक घण्टाको अवधिमा पनि ‘छोरीको ख्याल राखिदेऊ है, संयागलाइ सम्झाइदेऊ है।’ यस्तै, यस्तै।

प्लेन उडेयो, मन प्लेनको रफ्तारमा उड्न सकेन। छोरीसँग अडिरह्यो। भुईँ छाड्न मनले मानेको थिएन। रित्तो मनमा न पखेटा थियो, न कुनै किसिमको इन्धन। कुनै बेला यसरी उड्ने सपना देखेकी थिएँ, आज सपना पूरा हुँदैथियो। मन दुःखी थियो सम्हालिनसक्नुको। प्लेनको यात्राभरि मनमा कुरा खेलिरहे। सबै नसम्झिने अर्थहीन कुरा सम्झिएँ। मन झन् पोलिरह्यो। तिनलाई मस्तिष्कबाट फरार गराउन चाहेँ। मनमा थप कुराहरू आहिरहे। दुबई एयरपोर्टमा प्लेन ल्याण्ड भयो।

पार्लरको मुख्य मान्छे लिन आउँछ भनेको थियो। मलाई नेपालबाट जे भनेर सिकाएको थियो, मैले त्यसै गरँे। रातको मध्यान्ह थियो, अपरिचित ठाउँ मलाई घुरेर हेर्नेहरूको जमात पनि बाक्लै थियो। मसँगै प्लेनबाट झर्नेहरू कहाँ गए कता गए। आफ्नै गतिमा गन्तव्यतर्फ लागे। अब म त्यहाँ एक्लै थिएँ। मेरो नाम लेखिएको प्लेकार्ड बोकिएको हुनेछ ऊ सँग जानु भनेकोले म त्यही व्यक्ति खोजें, थुप्रेको भिडमा पनि मेरो नाम भेटिएन। अब मेरो छाती पोल्न थाल्यो। अपरिचित मुलुकमा म कहाँ जाऊँ कोसँग जाऊँ। हाँडीभित्र मकै भुट्भुटिएजस्तै एक्लै भुटभुटिएँ। घन्टौं बितिसक्यो मलाई लिन कोही आएन। नेपाली अनुहार पनि मैले कोही देखिनँ।

अछामको गाउँदेखि काठमाडौँको केही एरियाबाहेक केही नदेखेकी र नचिनेकी मैले कहाँ गएर के गर्ने केही थाहा पाइनँ। एक जना मंगोलियन अनुहारलाई नजानेको टुटेफुटेको अङ्ग्रेजीमा आफ्नो समस्या सुनाएँ। उसले केही नबोली अर्को एउटा कार्यालयमा लगेर गयो अनि मेरो कागजपत्र हेरे। खै के कुरा गरे मैले बुझिनँ अनि फेरि उसैको अनुरोधमा पछिपछी लागेँ। मेरो कागजपत्रमा खै के को छाप लगाइयो र प्लेनमा बसाइयो। म चुपचाप बसें।

सायद मैले काम गर्ने ठाउँसम्म जाने प्लेन होला। भन्ने लाग्यो ।प्लेन उड्यो। धेरै भोक पनि लागेको थियो। म थाकेकोले गर्दा निदाएँछु केही पत्तो पाइनँ। अब केही मिनेटमा अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याण्ड हुँदैछौं भन्ने आवाजले म ब्यूँझिएँ प्लेन काम गर्ने ठाउँमा होइन कि काठमाडौँमा ल्याण्ड भएको रहेछ। बाहिर निस्किँदा रातको आठ बजेको थियो। म चौबिस घन्टामा दुबई पुगेर पनि नेपाल फर्किसकेकी थिएँ। मलाई फेरि अर्को चिन्ताले सताउन थाल्यो।

संयोगले मलाई ग्वाज्यांग्री भन्दै गाली गर्नेछ। उसले गाली पचाउने छु। छोरी कति खुसी हुनेछे, छोरीको खुसी सम्झेर उसको गालीलाई निलिदिन्छु। घरमा फोन गर्न मन लागेन। अब मलाई घरसम्म पुग्न हतार भइसक्यो। सबै चाँजोपाँजो मिलाएर फेरि फर्किनेछु सोच्दै ट्याक्सीलाई ‘घट्टेकुलो जाऊँ’ भन्दै चढेँ। इच्छाबिना गरिएको कार्य सही हुँदैन। आखिर त्यस्तै भयो। घरमा पुगें। रातको साढे नौ बजेको थियो।
गेट खुल्लै रहेछ। बिस्तारै खोलेँ। हामी पहिलो तल्लामा नै बस्थ्यौं।

ढप्काइएको ढोका उघारेर भित्र छिरें। बैठकमा छोरी सोफामा निदाइरहेकी थिई। टिभीमा मोटु पतलुको कार्टुन बजिरहेको थियो। संयोग त्यहाँ थिएनर सायद किचेनमा होला भन्ने सोचेँ, त्यहाँ गएँ। ऊ त्यहाँ पनि थिएन। बेड रुमको ढोका ढप्काइएको मात्र रहेछ। प्रेस गर्दा खुल्यो मैले। त्यहाँ देख्नै र हेर्नै नसकिने दृश्य देखेँ।

मेरो सबैभन्दा नजिककी साथी जो बच्चादेखि अहिलेसम्म हरपल साथ दिइरहेकी थिई, मेरो घाउमा मल्हम बनेर शितलता प्रदान गर्ने प्यारी साथी चेतना। अनि मेरो प्राण प्यारो श्रीमान् जसलाई पाउनको लागि मैले सबै रगतको नाता अनि सिङ्गो मेरो संसार त्यागेकी थिएँ, उनीहरू एउटै बिस्तरामा रासलिला मनाइरहेका थिए।

मलाई देख्नासाथ दुवै जना लाज छोप्नको लागि आफ्नो कपडा खोज्दैथिए। म बाहिर निस्किएँ कुनै योजना नलिई। कौसीमा गएँ। स्याँठले हानिरहयो। कसैका अगाडि मुख देखाउन मन थिएन। के गर्नु के नर्गनु भयोस पुसको कठ्याङ्ग्रिँदो जाडोमा पनि चिटचिट पसिना आयो। भित्तामा टाउकोले हानु कि! छातीमा मुड्डकीले बजाऊँ वा आफैँलाई आगो लगाऊँ। ब्लेडले चिरुँ वा के गरुँ? संयोगले भनेको एउटा कुरा याद आयो। चुरोटले मनको पीडालाई जलाएर शान्त पारिदिन्छ भन्दै चुरोट पिउँथ्यो। उसको चुरोट राख्ने ठाउँ कौसीमा थियो। कहिले चुरोट नपिउने मैले चुरोटको धुवाँ सजिलै निलिदिएँ। आगोले आफैँलाई पोल्न थाले। ताकि दुखाइले मन शान्त रहोस्। पोलुन्जेल शरीर दुख्यो पोल्न छाडेपछि फेरि मन दुख्यो। उसले दिएको धोकाले पोल्यो।

रातको मध्यान्ह भयो। उनीहरू कता थिए थाहा भएन। मलाई मर्न र आपफैंलाई जलाउन पटक्कै मन लागेन। छोरीको लागि पनि बाँच्नु थियो। मैले नाङ्गै सोफामा पल्टिरहेकी छोरी सम्झिएँ।चुरोटको ठुटा बाहिर फालेर खोक्दै छोरीलाई अंगाल्न पुगेँ। निदाएकी छोरी समातेर ग्वाँ ग्वाँ गर्दै दुनियाँ थर्कने गरी रोएँ। मेरो रुवाइको त्यहाँ कुनै महत्त्व थिएन। मेरो रुवाईले छोरी ब्यूँझिएकी थिइन्। अगाडिको टेबलमा कपसी रमको बोतल पल्टिएको थियो।

यो कथा काल्पनिक हो कसैको जीवन संग मेल खाएमा संयोग मात्र हुनेछ ।

Facebook Comments

You may be interested

चुनाव बिरोधि गतिबिधि गरेका सिके राउत छुटे
समाचार
0 shares7 views
समाचार
0 shares7 views

चुनाव बिरोधि गतिबिधि गरेका सिके राउत छुटे

himal post - २०७४, २७ मंसिर १७:५५

धनुषा– चुनाव विरोधी गतिविधिमा संलग्न रहेको भन्दै पक्राउ परेका सिके राउत बुधबार छुटेका छन् । उच्च अदालत जनकपुरको आदेशमा उनी…

चन्द्र भण्डारीले भने : काँग्रेसलाई हेप्न खोजे वाम सरकारको आयु १८ महिना मात्र
राजनीति
0 shares32 views
राजनीति
0 shares32 views

चन्द्र भण्डारीले भने : काँग्रेसलाई हेप्न खोजे वाम सरकारको आयु १८ महिना मात्र

himal post - २०७४, २७ मंसिर १६:३७

बुटवल । बाम गठबन्धनलाई चुनौती दिंदै चन्द्र भण्डारीले बाम सरकारको आयु छोटो हुने चेतावनी दिएका छन् । नेपाली कांग्रेसका नेता…

चुनाव सकिए लगत्तै रमेश कुमार महत जुटे सामाजिक कार्यमा
समाचार
0 shares23 views
समाचार
0 shares23 views

चुनाव सकिए लगत्तै रमेश कुमार महत जुटे सामाजिक कार्यमा

himal post - २०७४, २७ मंसिर १३:१८

कर्ण अधिकारी नुवाकोट। ककनी गाउँपालिका वडा नम्बर ७ स्याँगुले डाँडामा रहेको तामाङको घरमा सोमबार दिउँसो आगलागी भएको थियो।पीडित कान्छा तामाङको…