धागो कारखाना क्षेत्रको संभाव्यता अध्ययन गर्न टोली बनाइने - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

धागो कारखाना क्षेत्रको संभाव्यता अध्ययन गर्न टोली बनाइने



बुटवल । प्रदेश ५ को सरकारले मन्त्रालय राख्नका लागि भवनको खोजी थालेको छ । हाल दरबारमार्ग लाइनमा रहेको ६ तले भवनमा ५ वटा मन्त्रालय राखिएका छन् । मन्त्रालय र तिनका विभागहरूका लागि थप भवन आवश्यक परेपछि प्रदेश ५ का मुख्यमन्त्रीसहितको टोलीले शुक्रबार १० वर्षअघि बन्द भएको बुटवल धागो कारखाना क्षेत्रको अवलोकन गरेको हो ।

२०६४ सालमा बन्द भएको धागो कारखानाका उपकरण र यसले ओगटेको जग्गा बेवारिसे बनेको छ । कारखाना सञ्चालन गर्ने वा बन्द गर्नेबारे अन्योल रहेको बेला प्रदेश सरकारले सो क्षेत्रमा मन्त्रालय राख्न सकिनेबारे अध्ययन गर्ने निचोड निकालेको हो ।

धागो कारखानाको झण्डै १ सय ४४ रोपनी जग्गामा मन्त्रालय राख्न सकिने÷नसकिनेबारे प्रदेश सरकारले विज्ञ टोली खटाएर अध्ययन गर्ने भएको छ ।
प्रदेश सरकारले केहीदिनभित्रै इन्जिनियरहरूको टोली खटाएर अध्ययन गर्ने प्रदेश सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकास मन्त्री वैजनाथ चौधरीले बताए ।

‘हामीले कारखाना क्षेत्रको अवलोकन ग¥यौं– चौधरीले भने–कारखाना क्षेत्रमा मन्त्रालय राख्न उपयुक्त हुन्छ कि हुँदैन, यहाँका संरचनाहरूको अवस्था कस्तो छ, सबै अध्ययन गर्न एउटा टोली बनाउने छौं ।’२०६७ सालयताका सबैजसो उद्योगमन्त्रीले धागो कारखानाको अवलोकन गर्दै सञ्चालनका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए । तर कारखाना सञ्चालन हुन सकेको छैन ।

प्रदेश सरकार गठन भएसँगै सरकारले मन्त्रालय राख्ने तयारी गरिरहँदा धागो कारखानामा रहेका भवनहरू मन्त्रालयका लागि भने उपयुक्त नहुने कारखानाका निमित्त महाप्रबन्धक डोलराज शर्मा पौडेल बताउँछन् । ‘यहाँका भवनहरू उद्योगका लागि उपयुक्त हुने हिसाबले बनेका छन्’– उनले भने– मलाई लाग्छ, यी भवनमा यत्तिकै मन्त्रालय राख्न सकिँदैन ।’उनले प्रदेश सरकारले मन्त्रालय राख्न चाहेमा कुनै समस्या उत्पन्न नहुने बताए ।‘अहिलेकै अवस्थामा मन्त्रालय राख्न सकिँदैन, उनी भन्छन्– प्रदेश सरकारले चाहन्छ र उपयुक्त हुन्छ भने ठीकै छ ।’

कारखानामा रहेको झण्डै १ सय ४४ रोपनी जग्गामध्ये २३ हजार वर्गमिटर जग्गा भवनले ओगटेको छ । कारखानाका ६ वटा भवन छन्, तीमध्ये ४ वटामा दंगा नियन्त्रण गण बसेको छ । एउटामा कारखानाको मेशिन रहेको छ भने अर्कोमा कारखानाको प्रशासन कार्यालय रहेको छ । कारखानाको उच्च स्तरीय प्राविधिक अध्ययनले ९० प्रतिशत मेसिन काम नलाग्ने अवस्थामा रहेको प्रतिवेदन बुझाएको थियो ।