देउवाको हैकम- निर्वाचन समीक्षा अहिले होइन - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

देउवाको हैकम- निर्वाचन समीक्षा अहिले होइन



काठमाडौं-

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा भोगेको पराजयको विषयमा समीक्षा गर्न केन्द्रीय सदस्य र महासमिति बैठक बोलाउन आफू तयार रहेको बताएका छन्। बालुवाटारमा चलेको केन्द्रीय समिति बैठकमा आफ्नो धाराणा राख्दै देउवाले निर्वाचनको समीक्षा गर्न छिट्टै केन्द्रीय समिति र महासमिति बैठक बोलाउने प्रतिबद्धता व्यक्त गरे।

देउवाको नेतृत्वका कारण निर्वाचनमा निराशाजनक नजिता आएको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला र युवा नेताहरुले केन्द्रीय समिति र महासमिति बैठक माग गर्दै आएका थिए। पार्टी संघीय संरचना अनुसार विधान परिवर्तन गर्दै अघि बढ्ने भन्दै देउवाले आजको बैठकमा राष्ट्रियसभामा उम्मेदवार तय गर्ने विषयमा सुझाव दिन केन्द्रीय सदस्यहरुसँग आग्रह गरे।

के भने देउवाले?
नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण नेपाली कांग्रेसकै नेतृत्वमा पूरा भएको छ। संविधान निर्माणपछि अन्तत: तराई मधेसमा उत्पन्न समस्यालाई समाधान गरी निर्वाचनको प्रक्रियामा सबै पक्षलाई सहभागी गराउन सक्नु कांग्रेसको नेतृत्वका सरकार र सिंगो कांग्रेस पार्टीको सफलता हो भन्ने मेरो ठहर छ। लामो संक्रमणकाल अन्त्य गर्न प्राप्त सफलताका लागि म प्रधानमन्त्री एवं पार्टी सभापतिको हैसियतले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र साथीहरुमा बधाई ज्ञापन गर्न चाहन्छु।

सम्पन्न निर्माणको परिणाम हाम्रो पार्टी अनुकूल आउन सकेन। पराजयको पछिल्तिर हाम्रा अन्य जे जे कारण होलान् ती सबैका सन्दर्भमा समय लिएर व्यापक रुपले गम्भीर समीक्षा/छलफल एवं अन्तरक्रिया गर्न जरुरी छ। सभापतिका नाताले सम्पूर्ण साथीहलाई म खुला ढंगले समीक्षामा सहभागी हुन आग्रह गर्दछु। निकट भविष्यमा पार्टीको महासमितिको बैठक बस्नेछ। राज्यको पुनर्संरचना अनुसार पार्टीको विधानमा संशोधनका साथै नयाँ रक्तसञ्चार हुनेगरी पार्टीको आगामी रणनीति तय गर्न उक्त महासमितिले निर्देशन गर्नेछ। मुलुकको संविधान अनुरुपको पार्टी संरचनामा अत्यावश्यक हेरफेर गर्न पार्टीको विधान संशोधन हामीले गर्न जरुरी छ। माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि १० गते उम्मेदवार चयन र चुनावको तयारीमा केन्द्रित हुनुपर्नेछ।

अत: साथीहरुबाट यसमा केन्द्रित रहेर राय सुझाव अनुरुप हामी अघि बढ्नेछौं। तत्काल केही दिनमै केन्द्रीय समिति र कार्यसमितिको फेरि अर्को बैठक बोलाई पुन: छलफल र लामो बहस गरिनेछ।

गच्छदार विशेष आमन्त्रित 
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक चुनावी हार र राष्ट्रियसभाको निर्वाचनमै केन्द्रित भएको छ। विशेष आमन्त्रित सदस्यमा रुपमा विजयकुमार गच्छदार उपस्थित थिए। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, चन्द्र भण्डारी, कल्याण गुरूङ, दीपक गिरी र शंकर भण्डारीले आफ्नो धारणा राखेका छन्।

बैठक निर्वाचन समीक्षाभन्दा पनि राष्ट्रियसभाको उम्मेदवारको विषयसँग गाँसिएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ‘समीक्षाको लागि एक साताजति लाग्ने भएकाले आज स्थगित भएर पछि बस्नेछ। आज भने राष्ट्रियसभाको विषयमै बैठक केन्द्रित छ,’ उनले भने, ‘युवा नेताहरूले पार्टी रूपान्तरलाई मुख्य रूपमा उठाइरहनुभएको छ।’