दिल्लीको अस्पतालमा अलपत्र एक नेपाली, जीवन मरणको दोसाँधमा - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

दिल्लीको अस्पतालमा अलपत्र एक नेपाली, जीवन मरणको दोसाँधमा



भारतको राजधानी दिल्लीमा गुल्मी घर बताउने एक नेपाली अलपत्र परेका छन्। पछिल्लो एक महिनादेखि दिल्लीको सफदरजंग अस्पतालमा ५५ वर्षका रमेशबहादुर राना अलपत्र परेका हुन् ।

नशा सम्बन्धी रोगका कारण थला परेका रमेशबहादुर रानालाई स्याहार-सुसार गर्ने समेत कोही नभएपछि अस्पताल प्रशासनले ध्यान दिएको छैन । उपचारमा पनि ध्यान नदिएर वार्डभन्दा बाहिर शौचालयनजिक बेवारिसे अवस्थामा राखेको छ ।

घटनाको बारेमा थाहा पाएपछि भारतकै राजस्थानका समाजसेवी श्रवण कुमारले जानकारी गराए, त्यसपछि प्रवासी नेपाली हेल्प मिसन र अखिल भारत एकता मञ्चले रेखदेख गरिरहेको छ ।

यद्धपी प्रवासी नेपाली हेल्प मिसन र एकता मञ्चले बेवारिस अवस्थामा रहेका रमेशबहादुर रानाको उपचारमा ध्यान दिन अस्पतालमा प्रशासनलाई दबाब दिँदै आएका छन् । तर उनको स्याहार गर्ने कोही नभएको, आफै सफाई गर्न नसकेकोले अन्य बिरामीलाई आपत्ति हुने भन्दै बेड दिन नसक्ने अस्पतालले जनाएको छ ।

यस्तो अवस्थामा आफूहरूले केहि गर्न नसक्ने भन्दै अस्पतालले उनलाई वार्डभन्दा बाहिरै राखेको छ । घटनाको बारेमा थाहा पाएर अस्पताल पुगेपछि समाजेसेवी श्रवणकुमारसंग प्रवासी नेपाली हेल्प मिसन भारतका अध्यक्ष एवं अखिल भारत एकता मञ्चका संयुक्त सचिव अर्जुन दयालको नेतृत्वमा गएको टोलीले अचेत अवस्थामा रहेका रमेशबहादुर रानालाई नुहाई, सफा गरी खाना खुवाएका थिए ।

खाना खाइसकेपछि उनले अस्पष्ट रूपमा आफू गुल्मीको रिगाको स्थायी बासिन्दा भएको बताउँदै आफू ससिराम रानाको पुत्र र चुन्नी बहादुर रानाको दाजु भएको बताएका छन् । उनलाई चिन्ने जो सुकैले पनि उनको घरपरिवारलाई खबर गरिदिएर जीवन रक्षा गर्न अर्जुन दयालले सबैमा आग्रह गरेका छन्।