दाङमा आगलागीको डरलाग्दो रूप ५ वर्षमा ६ सय ७९ घर खरानी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

दाङमा आगलागीको डरलाग्दो रूप ५ वर्षमा ६ सय ७९ घर खरानी



दाङ । केही दिनअघि राजपुर गाउँपालिका वडा नं. ३ भैसहवा स्थित केशवराम यादवको घरमा आगलागी भयो । खरको छानो भएको घरमा आगो लाग्दा सबै जलेर खरानी बन्यो । गुचुप्प परेको बस्ती भएकाले आगो अन्यत्र फैलन सक्ने त्रास थपियो । आगो नियन्त्रणमा लिन कुवाँ तथा नल्काको पानी, माटो, बालुवा, स्याउला प्रयोग गरे । सबैको जोड बलले बल्लतल्ल आगो नियन्त्रणमा आयो ।

गर्मी मौसम सुरु भएसँगै दाङको देउखुरी उपत्यकामा आगलागीको घटनामा वृद्धि हुन थालेको छ । आगलागीको उच्च जोखिममा गढवा र राजपुर गाउँपालिकाका बस्ती पर्छन् । यो सँगै राप्ती गाउँपालिका र लमही नगरपालिका पनि आगलागीको उच्च जोखिममा रहेको छ । बितेको पाँच वर्षमा दाङ जिल्लामा ६ सय ७९ घर जलेर नष्ट भएको छ । आर्थिक वर्ष २०६९÷०७० मा एक सय ४, ०७०÷०७१ मा एक सय ३७, ०७१÷०७२ मा एक सय ८० आगलागीका कारण प्रभावित बनेका थिए ।

यस्तै आर्थिक वर्ष ०७२÷०७३ मा एक सय १८, ०७३÷०७४ मा ८५ घरमा आगलागी भएको थियो । यस वर्षको फागुन २५ गतेसम्म ५५ घरमा आगलागी भएको जिल्ला विपत् व्यवस्थापन समिति÷जिल्ला आपत्कालीन कार्यसंचालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले जानकारी दिए । ‘गर्मी मौसम सुरु हँुदैछ यो वेलामा सबैभन्दा बढी सावधानी अपनाउनुपर्छ’, उनले भने– ‘फागुन २५ सम्मको प्राप्त विवरणमा माघमा ७ र फागुनमा ७ गरी १४ वटा घरमा आगलागी दुई महिनाको बिचमा भएको विवरण प्राप्त भएको छ ।’

हरेक वर्ष देउखुरीमा आगलागीका घटना दोहोरिने गरेको छ । तर, आगलागीको घटना दोहोरिन नदिने गरी ठोस योजना निर्माण नहुँदा यस्तो समस्या देखिने गरेको हो । ‘मानवीय असावधानीका कारण बढी जसो आगलागीका घटना हुने गरेका छन्, मानवीय कारणले हुने आगलागीका घटनालाई रोक्न सकिन्छ’, नेपाल रेडक्रस सोसाइटी उपशाखा लालमटीयाका सभापति गंगाराम भट्टराईले भने– ‘आगलागी हुनै नदिन सचेत हुनुपर्ने महत्त्वपूर्ण मानिन्छ, अर्को कुरा आगलागी भैहालेमा क्षति हुन नदिन आगलागी नियन्त्रणका उपायहरू तत्काल नै अपनाउन सकिन्छ, समुदायका मानिसहरूनै पहिलो उद्धारकर्ता भएकाले समुदायका मानिसलाई क्षमतावान बनाउँदै सरोकारवाला निकायलाई जिम्मेवार बनाउन जरुरी छ ।’

तालिम प्राप्त अग्नि नियन्त्रक छैनन्

दाङ जिल्लामा चार वटा वारुणयन्त्र छन् । देउखुरी उपत्यकामा लमही नगरपालिकाले नयाँ दमकल सञ्चालनमा ल्याएको छ । लमही नगरविकास समितिले पुरानो दमकल मर्मत गरेर तयार पारेको छ । घोराही र तुलसीपुर उपमहानगरपालिकामा एक÷एक वटा दमकल छन् । जिल्लामा ठुलो आगलागीको घटना भएमा यी दमकल अपर्याप्त हुन्छन् । नेपालगञ्ज अथवा बुटवलबाट दमकल बोलाउनुपर्ने बाध्यता छ ।

सडकको अवस्थाका कारण आगलागी भएको स्थानसम्म दमकल पुग्न सक्दैन । एउटा दमकल सञ्चालन गर्न ६ जना तालिम प्राप्त अग्नि नियन्त्रक हुनुपर्छ । तर अहिले जिल्लामा सञ्चालन भएका दमकल मापदण्ड विपरीत छन् । अरूले गरेको देखेको आधारमा आगो नियन्त्रण गर्न खटिएका छन् । एक जना चालक र अर्का एक जना गरी दुई जना मात्रै आगो नियन्त्रणमा खटिने गरेको पाइएको छ । परम्परागत शैलीमा आगो नियन्त्रण भइरहेको छ ।