आँखा शल्यक्रिया गर्न आउने भारतीय बढी - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

आँखा शल्यक्रिया गर्न आउने भारतीय बढी



दशरथ घिमिरे
दाङ । नेपाल–भारत सिमा क्षेत्रअन्तर्गत भारतका नागरिक आँखा उपचारको लागि नेपाली अस्पताल खोज्दै आउने गरेका छन् । भारतीय नागरिकको लागि नेपाली आँखा अस्पताल उपचार गर्न भरपर्दाे ठाउँ बनेको छ । नेपाली नागरिकहरू अन्य स्वास्थ्य उपचारको लागि भारत लगायत अन्य देशमा जाने गरेको देखिएको छ । तर, आँखा उपचारको लागि भारतीय नागरिकहरू नेपाली अस्पतालमा आउने गरेको पाइएको छ ।

नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज अन्तर्गतका अस्पतालहरू उपचार केन्द्रहरूमा आउने विरामीहरूको अनुपात हेर्ने हो भने आधा भन्दा बढी सेवाग्राही भारतीय नागरिक छन् । भारतमा आँखा उपचार सेवा महङ्गो हुने, सेवा लिन झन्झटिलो, गुणस्तरीय नहँुदा नेपाल–भारत सिमा क्षेत्रमा बसोवास गर्ने नागरिकहरू आँखा उपचारको लागि नेपालमा खोलीएका आँखा अस्पतालमा आउने गरेका हुन् ।

राप्ती आँखा अस्पताल तुलसीपुर, लमही आँखा अस्पताल लमही र बहादुरगञ्ज आँखा अस्पतालबाट सन् २०१७ को एक वर्षमा १३ हजार ७ सय २ जना बिरामीको मोतीया विन्दुको शल्यक्रिया भएको छ । जसमध्ेय आधाभन्दा बढी ८ हजार ४ सय ९४ जना भारतीय नागरिक छन् ।

लमही आँखा अस्पतालले एक वर्षमा एक हजार दुई ९३ जनाको मोतीया विन्दुको शल्यक्रिया गरेको छ । जसमध्ये २ जना भारतीय नागरिक छन् । यस्तै २ सय ९९ वटा अन्य आँखाका शल्यक्रिया भएका छन् । उपचार सेवा ३६ हजार चार सय ५३ जनाले प्राप्त गरेका छन् । बहादुरगञ्ज अस्पतालवाट मोतीया विन्दुको शल्यक्रिया ९ हजार ८ सय ३४ जनाको भएको छ ।

जसमध्ेय ८ हजार ४ सय ९२ भारतीय नागरिक छन् । लमही आँखा अस्पतालले साप्ताहिक उपचार क्लिनिक कोईलावासमा सञ्चालन गर्दै आएको छ । त्यहाँ उपचारको लागि भारतीय नागरिक आउने गरेका छन् । वार्षिक तथ्यांक अनुसार तिन सय २१ जना उपचारको लागि आएका मध्य २ सय १९ भारतीय छन् ।
दाङ जिल्लावासीलाई जिल्लामै सुविधा सम्पन्न अस्पताल खुलेपछि उपचारमा झनै सहज भएको छ । पत्रकार केबि मसालको आँखामा समस्या देखियो । उपचारको लागि तिलगंगा आँखा अस्पताल पुगे । चिकित्सकहरूले सल्लाह दिए दाङको लमहीमा रहेको आँखा अस्पतालबाट मोतीया विन्दुको शल्यक्रिया गर्न सकिन्छ । मसाल तिलगंगा अस्पतालमा पुगेपछि लमही आँखा अस्पतालले दिने सेवाको बारेमा त्यहाँ जानकारी पाए ।

‘हाम्रै ठाउँमा यति राम्रो सुविधा प्राप्त हुने खबर अन्यत्र गएर थाहा पाएँ’, मसालले भने– ‘मेरो आँखामा देखिएको मोतीया विन्दुको शल्यक्रिया मेसीन मार्फत भयो, शल्यक्रिया सफल भएकोमा म खुसी छु ।’
मेसीन र हात दुवैको प्रयोग गरेर आँखाको शल्यक्रिया गर्ने प्रविधि लमही आँखा अस्पतालमा छ । ‘नेपालबाट अन्धोपन हटाउने अभियानमा छौं, गाउँ केन्द्रित अभियान गरेर आँखा उपचारको बारेमा सन्देश पु¥याइरहेका छौं, अझै पनि गाउँमा आँखाका बिरामीहरू हुनुहुन्छ । उहाँहरूको उपचारको लागि अस्पतालहरू खुलेका छन्’, लमही आँखा अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत शम्सेर थापाले भने– ‘गाउँमा उपचार शिविर चलाउँदा शल्यक्रिया गर्नुपर्ने बिरामीहरू केही आउनुहुन्छ, केही अझै आउन सकिरहनु भएको छैन ।’ बुधवार अस्पतालले पत्रकार सम्मेलको आयोजना गरी वार्षिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो । लक्षित वर्गले सर्वसुलभ मूल्यमा आँखाको सेवा पाइरहेको विवरणहरू प्रस्तुत गरिएको थियो ।