कपिलबस्तुमा घरधुरी ९३ हजार, दमकल ३ मात्र - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

कपिलबस्तुमा घरधुरी ९३ हजार, दमकल ३ मात्र



कपिलवस्तु । जिल्लामा ९३ हजार घरधुरी र ६ लाख बढी जनसंख्या छन् । तर दमल भने मात्र ३ वटा मात्र छन् । हावाहुरीको मौसम सुरु भएको छ, आगलागी पनि सुरु भएको छ तर दमकलको अभाव खड्किएको छ ।

जिल्लामा वर्षेनी आगलागीका सयौँ घटनाहरू हुने गरेका छन् । लाखौँको सम्पत्ति समेत नष्ट हुनुका साथै मानवीय क्षति समेत हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ । गत वर्ष कपिलवस्तुमा आगलागीबाट ४ सय ५० बढी घरगोठ जलेर नष्ट भए ।

६ जनाभन्दा बढीको मृत्यु भयो । सबै भन्दा बढी शिवराज, महाराजगंज नगरपालिका, विजयनगर गाउँपालिकामा आगलागीका घटना घटे । हावाहुरीको मौसममा आगलागीका घटना बढी हुने गर्दछन् । अहिले पुनः गर्मीयामसँगै हावाहुरीको मौसम सुरु भइसके पनि स्थानीय तहले यसबारे आवश्यक चासो लिएका छैनन् ।

जननिर्वाचित प्रतिनिधिहरू समेत आगलागीका सम्भावित घटना न्यूनिकरण तर्फ गम्भीर देखिएका छैनन् । आगलागी नियन्त्रणका लागि स्थानीय तहमा पर्याप्त श्रोत साधनको अभाव छ । कुल ९३ हजार घरधुरीमा जम्मा ३ वटा दमकल संचालनमा छन् । जिल्लाका १० मध्ये ७ वटा स्थानीय तहले दकमल खरिदमा चासो दिएका छैनन् । बाणगंगा, कृष्णनगर र कपिलवस्तु नगरपालिका बाहेक अन्यमा दमकल छैनन् । विलासी गाडी खरिद गर्ने, भाडामा लिएर चढ्ने र अन्य सवारी खरिद गरेका स्थानीय तहले दमकल खरिदमा चासो देखाएका छैनन् ।

सबै भन्दा बढी फुसको कच्ची घर भएका विजयनगर गाउँपालिका, शिवराज नगरपालिका, बुद्धभूमि नगरपालिका, यशोधरा, शुद्धोधन र मायादेवी गाउँपालिकाले दमकल खरिद गरेका छैनन् । कृष्णनगर, कपिलवस्तु र बाणगंगामा संचालित दमकललाई आवश्यक सेवा लिनका लागि कुनै सम्झौता वा आर्थिक अनुदान समेत उपलब्ध गराएका छैनन् ।

निर्वाचित जनप्रतिनिधिले नगरपालिकाको बजेटबाटै विलासी साधन खरिद गरेका छन् भने कतिपयले दैनिक ४ देखि ६ हजारसम्म भाडामा गाडी चढिरहेका छन् । तर विगतदेखि नै ठूलो समस्याको रूपमा रहेको आगलागी तथा अन्य दैवी प्रकोप न्यूनीकरण तर्फ भने कुनै बजेट विनियोजन गरेका छैनन् । आफ्नो नगरक्षेत्रमा हुने सम्भावित आगलागी घट्ना न्यूनिकरणका लागि नगरपालिकाहरूले बेवास्ता गरेको सरोकारवालाहरूको आरोप छ । दमकल खरिद गर्न शिवराज, महाराजगंज, बुद्धभूमि नगरपालिकाले चासो नदेखाएको स्थानीयबासीहरू बताउँछन् ।

शिवराज नगरपालिका प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले आवश्यक बजेट तथा जनशक्ति अभावले खरिद गर्न नसकेको बताए । दमकल खरिद गरेर परिचालन गर्ने र राख्ने स्थान समेत नभएकाले तत्काल योजना नबनाएको उनले बताए ।

‘ आगलागीका घटना हँुदा छिमेकी कृष्णनगर नगरपालिकाको दमकलबाट सेवा लिइरहेका छौँ’, उनले भने । तर कृष्णनगरले सेवा दिए बापत शिवराज नगरपालिकाले हालसम्म केही नदिएको बताएको छ । कृष्णनगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गणेश प्रसाद अर्यालले दमकल व्यवस्थापन र मर्मतका लागि विजयनगर गाउँपालिका तथा शिवराज, महाराजगंज नगरपालिकाले रकम सहयोग नगर्दा संचालनमा समस्या परेको बताए । कपिलवस्तु नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विमल आचार्यले बजेट अभावले दमकल समंचालनमा समस्या आएको बताए ।

दमकलका लागि चाहिने ईन्धन मर्मत खर्च पर्याप्त नहुँदा समस्या परेको उनले बताए । बुद्धभूमि महाराजगंज नगरपालिका तथा यशोधरा, शुद्धोधन र मायदेवी गाउँपालिकाहरूले समेत दमकल प्रयोग गर्ने तर मर्मत र इन्धन खर्च दिएका छैनन् । वार्षिक बजेट विनियोजन गर्दा दमकल संचालनमा रकम छुट्याउने गरे पनि पछि अन्य शीर्षकमा खर्च गरिने श्रोतको दाबी छ । ठूलो नगरपालिका क्षेत्रमा एउटा दमकल व्यवस्थापनका लागि वार्षिक २० लाख रकम आवश्यक पर्ने आचार्य बताउँछन् ।

जिल्ला समन्वय समितिले पनि दमकल खरिद गर्न तथा आगलागीका घटना न्यूनिकरण गर्न स्थानीय तहले आवश्यक योजना बनाउनुपर्ने बताएको छ । सबै नगरपालिका तथा गाउँपालिकाहरूले आगलागी नियन्त्रणका उपकरण खरिद, अग्नी नियन्त्रण योजना, आपतकालिन सन्देश प्रवाह पद्धतीबारे नयाँ योजना ल्याउन आवश्यक रहेको स्थानीय समन्वय अधिकारी चन्द्रकान्त न्यौपानले बताए । नेपाल सरकारले प्रत्येक नगरपालिकामा दमकल राख्नुपर्ने नीतिसमेत रहेकाले तत्काल सबैले दमकल खरिदको प्रक्रिया थाल्न न्यौपानेले आग्रह गरे ।