दलका मियोहरु जित्नेभन्दा हार्ने धेरै - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

दलका मियोहरु जित्नेभन्दा हार्ने धेरै



 

विजयकुमार गच्छदार
निर्वाचनको मुखमा आफू नेतृत्वको लोकतान्त्रिक फोरमलाई कांग्रेसमा विलय गराएका विजयकुमार गच्छदारले सुनसरी ३ बाट निर्वाचन जितेका छन् । उनले ३८ हजार नौ सय ७२ मत पाए भने उनकी प्रतिद्वन्द्वी एमाले उम्मेदवार भगवती चौधरीले ३८ हजार ६ सय ५१ मत ल्याइन् । गच्छदारले ०४८, ०५१ र ०५६ मा कांग्रेसबाट निर्वाचन जितेका थिए । ०६४ को संविधानसभा निर्वाचनमा मधेसी जनअधिकार फोरमबाट तथा ०७० मा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट चुनाव लडेर उनी विजयी भएका थिए ।

अभिषेकप्रताप साह
निर्वाचनको मुखमा संघीय समाजवादी फोरम छाडेर कांग्रेस प्रवेश गरेका अभिषेकप्रताप साह कपिलवस्तु ३ बाट निर्वाचित भएका छन् । उनले संघीय समाजवादी फोरमका उम्मेदवार मंगलप्रसाद गुप्तालाई पराजित गरेका हुन् । साहले २० हजार एक मत पाए भने गुप्ताले १५ हजार आठ सय २६ मत प्राप्त गरे । ०६४ को संविधानसभामा सबैभन्दा कान्छो सभासद् बनेको साहले ०७० को निर्वाचन पनि जितेका थिए । यसपटक निर्वाचन जितेसँगै ह्याट्रिक गरेका छन् ।

हृदयेश त्रिपाठी
राष्ट्रिय जनता पार्टीको अध्यक्षमण्डलको सदस्य त्यागेर सूर्य चिह्नमा निर्वाचन लडेका हृदयेश त्रिपाठी नवलपरासी १ बाट विजयी भएका छन् । कांग्रेसका देवकरणप्रसाद कलवारलाई हराउँदै उनले जित हात पारेका हुन् । त्रिपाठीले ३९ हजार पाँच सय ९२ मत ल्याए भने कलवारले ३३ हजार पाँच सय ९१ मत पाए ।

वृजेश गुप्ता
हृदयेश त्रिपाठीसँगै राजपा छाडेर सूर्य चिह्नबाटै कपिलवस्तु २ मा उम्मेदवार बनेका वृजेश गुप्ता कांग्रेसका सुरेन्द्रराज आचार्यलाई पराजित गरी सांसद बनेका छन् । गुप्ताले ३५ हजार एक सय ४७ मत प्राप्त गरेका छन् भने आचार्यले ३१ हजार पाँच सय ६६ मत पाएका छन् ।

हार्ने नेता
रामचन्द्र झा
पहिला एमाले, त्यसपछि माओवादी, माओवादीबाट नयाँ शक्ति र निर्वाचनको मुखमा पुनः माओवादी केन्द्रमा फर्केर टिकट लिएका झा धनुषा २ बाट उम्मेदवार बनेका थिए । उन संघीय समाजवादी फोरमका उमाशंकर अरगरियासँग पराजित भए । अरगरियाको ३२ हजार ४४ मत आयो भने झाले १८ हजार ७१५ मत पाए ।

गंगाप्रसाद यादव
दोस्रो संविधानसभामा राप्रपाबाट सभासद् बनी रूपान्तरित संसद्मा उपसभामुख बनेका यादव निर्वाचनको मुखमा राप्रपा छाडेर एमालेको सूर्य चिह्नमा चुनाव लडे । सिरहा १ मा उम्मेदवार बनेका उनी कांग्रेस उम्मेदवार प्रदीप गिरीसँग पराजित भए । गिरीले २३ हजार ९५१ मत ल्याए भने यादवको २१ हजार ३७१ मत आयो ।

रामजनम चौधरी
लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएपछि कैलाली ३ बाट निर्वाचन लडेका चौधरी माओवादी केन्द्रका उम्मेदवार गौरीशंकर चौधरीसँग पराजित भए । गौरीशंकरले २४ हजार ८७९ मत
ल्याए भने रामजनमले २० हजार ४९४ मत पाए ।

गोपाल दहित
लोकतान्त्रिक फोरम कांग्रेसमा विलय भएपछि बर्दिया २ बाट निर्वाचन लडेका दहित पनि माओवादी केन्द्रका सन्तकुमार थारूसँग पराजित भए । थारूले ५० हजार ५५५ र दहितले ३६ हजार ७३५ मत पाए ।

शम्भुलाल श्रेष्ठ
दोस्रो संविधानसभा निर्वाचनमामा कांग्रेसबाट टिकट नपाएपछि माओवादीमा प्रवेश गरेर तत्कालीन एमाले अध्यक्ष झलनाथ खनाललाई सिराहामा पराजित गर्ने श्रेष्ठले यसपटक हार सामना गर्नुप¥यो । माओवादीबाट टिकट नपाउने छाँट देखेपछि उनी निर्वाचनअघि पुनः कांग्रेस फर्केका थिए । कांग्रेसका तर्फबट सर्लाही १ उम्मेदवार बनेका उनी पराजित भए । प्रतिस्पर्धामा तेस्रो भएका श्रेष्ठले २० हजार ७५ मत ल्याए भने राजपाका प्रमोद साहले २२ हजार ३६ मत ल्याएर विर्नाचन जिते ।

मोहनसिंह राठौर
एमालेबाट टिकट नपाएपछि कांग्रेसमा प्रवेश गर्दै कैलाली २ बाट निर्वाचन लडेका राठौर एमाले उम्मेदवार झपट रावलसंँग पराजित भए । रावलले २५ हजार १ सय २७ मत ल्याए भने राठौरले २३ हजार ३ सय १३ मत पाए ।

ईश्वरदयाल मिश्र
राजपा त्यागेर एमालेको सूर्य चिह्न लिएर कपिलवस्तु ३ बाट निर्वाचन लडेका मिश्र कांग्रेस उम्मेदवार अभिशेकप्रताप शाहसंँग पराजित भए । शाहको २० हजार एक मत आयो भने तेस्रो स्थानमा रहेका मिश्रकोे १४ हजार ३३० मत आयो ।

पशुपतिदयाल मिश्र
राजपा त्यागेर एमालेको सूर्य चिह्न लिई बाँके ३ मा निर्वाचन लडेका मिश्र संघीय समाजवादी फोरमका मोहम्मद इस्तियाक राईसँंग पराजित भए । राईको २१ हजार ५७५ मत आयो भने मिश्रको १५ हजार ९५१ मत आयो ।

जंगीलाल राय
निर्वाचनको मुखमा संघीय समाजवादी फोरमको महासचिव पद त्यागेर कांग्रेस प्रवेश गर्दै सर्लाही २ बाट निर्वाचन लडेका राय राजपाका महिन्द्र राय यादवसंँग पराजित भए । महिन्द्रको २९ हजार १९१ मत आयो भने जंगीलालको १८ हजार ९७६ मत आयो ।

इमदाद गद्दी
राजपाबाट टिकट नपाउने भएपछि नेपाल संघीय समाजवादी पार्टीमा प्रवेश गरी पर्सा ४ बाट टिकट लिएका गद्दी राजपा उम्मेदवार लक्ष्मणलाल कर्णसंँग पराजित भए । कर्णले २० हजार ७३८ मत ल्याए भने चौथोमा रहेका गद्दीले २७ सय ८९ मत ल्याए ।

ओमप्रकाश यादव गुल्जारी
राजपाले अर्का उपाध्यक्ष लक्ष्मणलाल कर्णलाई टिकट दिने भएपछि पार्टी उपाध्यक्ष ल्यागेर एमाले प्रवेश गर्दै रुपन्देही ४ बाट टिकट लिएका गुल्जारी कांग्रेसका प्रमोद यादवसँंग पराजित भए । तेस्रोमा रहेका गुल्जारीले चार हजार ७९ मत ल्याए भने यादवले ३१ हजार ७१८ मत ल्याए ।

शिवपूजन राय
निर्वाचनको मुखैमा राजपाबाट माओवादी केन्द्र प्रवेश गरी सर्लाही ४ बाट टिकट लिएका रायको उम्मेदवारी निर्वाचन आयोगले रद्द गरिदियो । रातो पासपोर्ट अपचलन गरेको अभियोगमा रायविरुद्धको मुद्दा अदालतमा विचाराधीन छ । अदालतमा मुद्दा विचाराधीन भएको व्यक्ति निर्वाचन लड्न नपाउने भन्दै आयोगले उनको उम्मेदवारी खारेज गरिदिएको हो । नयाँ पत्रिकामा यो खबर छ ।