काँग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

काँग्रेसले पायो प्रमुख प्रतिपक्षी दलको मान्यता



जनकपुरधाम । नेपाली काँग्रेसले प्रदेश २ मा प्रमुख प्रतिपक्षी दलको मान्यता पाएको छ । प्रदेश सभाका सभामुख सरोजकुमार यादवले नेपाली काँग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिएका हुन् ।

प्रमुख प्रतिपक्षी दलको मान्यता पाएसँगै नेपाली काँग्रेस संसदीय दलका नेता रामसरोज यादव प्रमुख प्रतिपक्षी दलको नेता भएका छन् ।

यसअघि प्रदेश २ मा प्रमुख प्रतिपक्षी दलको मान्यता कसलाई दिने भन्ने विषयमा नेपाली काँग्रेस र तत्कालीन नेकपा एमालेबीच विवाद थियो । दुवै दलले आफु नै प्रमुख प्रतिपक्षी भएको दाबी गर्दै आएका थिए ।

विवादका बीच प्रदेश सभा नियमावली नबनेसम्म काँग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिइएको सभामुख यादवले बताएका छन् ।

प्रदेश २ मा तत्कालीन एमालेको २१ र नेकाको १९ सीट छ । तत्कालीन माओवादीको ११ सीट थपिएपछि नवगठित नेकपा ३२ सीटसहित प्रदेश सभाकै ठूलो दल बनेको छ ।

प्रदेश सभामा २९ सीट भएको संघीय समाजवादी फोरम र २५ सीट भएको राजपाले मिलिजुलि सरकार बनाएपछि वामगठबन्धनका एमाले र माओवादीले सरकारलाई विश्वासको मत दिएको थियो । सोही कारण काँग्रेसले आफुलाई प्रमुख प्रतिपक्षी दल दाबी गर्दै आएका थिए ।

नेपाली काँग्रेसलाई प्रमुख प्रतिपक्षी दलको मान्यता दिने सभामुखको निर्णय अनुपयुक्त भएको भन्दै नेकपाले उक्त निर्णय सच्याउन माग गरेको छ भने नेपाली काँग्रेसले भने उक्त निर्णयको स्वागत गरेको छ ।