कम्युनिष्ट पार्टी जस्तो विरोध मात्रै गर्ने विपक्षी कांग्रेस होइन :शर्मा - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

कम्युनिष्ट पार्टी जस्तो विरोध मात्रै गर्ने विपक्षी कांग्रेस होइन :शर्मा



सरकारको नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ । नेपालको संसदीय इतिहासमा नै प्रतिपक्षी दललेसमेत सरकारको नीति र कार्यक्रमको समर्थन गरेको यो पहिलो पटक हो । २०४८ सालपछि संसदमा प्रतिपक्ष पनि सरकारको नीति तथा कार्यक्रमको पक्षमा उभिएको पहिलो घटना भन्दै नेकपाले सबैका आकांक्षा पूरा गरिने आश्वासन दिएको छ । तीब्र विकासमार्फत सुखी नेपाली, समृद्ध नेपाल बन्ने कुरामा कांग्रेसको विरोध नरहेकाले नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गर्न सघाएको प्रमुख प्रतिपक्षी दल कांग्रेसले उल्लेख गरेको छ । यिनै विषयमा केन्द्रित रहेर ऋषि धमलाले कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मासँग कुारकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

सरकारको नीति तथा कार्यक्रम कांग्रेसलाई मन परेको हो ?

नेपाली कांग्रेसले नीति तथा कार्यक्रममा भएका कमी कमजोरी स्पष्टसँग औँल्याएको छ । आउँदै गरेको बजेट हेर्छौँ । आगामी दिनको सम्भावना पनि हेर्नुपर्छ । विरोध नै गर्नुपर्छ भन्ने छैन ।

सरकारसँग मिलेर जानुपर्छ भन्ने कांग्रेसको नीति हो ?

यो त प्रश्न भएन नि । कांग्रेस विपक्षीमा छ त्यसको अर्थ विकास र समृद्धि चाहँदैन भन्ने होइन । कांग्रेसले पनि सरकारमा रहँदा विकासको नेतृत्ग गरेको थियो । कम्युनिष्ट पार्टीहरुको अवरोधलाई झेलेर पनि कांग्रेसले काम गरेको थियो । संसद घेराउ, सडक बन्द, सरकार गिराउन जस्ता काम गर्दा पनि कांग्रेसले विकासका काम अगाडि बढायो ।

सरकारको सय दिनलाई कसरी लिनुभएको छ ?

सय दिनमा सरकारले गरेका राम्रा कामलाई सहयोग गर्नु स्वभाविक हो । तर सरकारको सय दिन सामान्य गति र दर्जन विसंगति छ । यो कुरा मैले राखिसकेँ । नीति र कार्यक्रम लागु गर्न ईच्छाशक्ति मिलोस भन्ने हाम्रो चाहना हो । कम्युनिष्ट पार्टी जस्तो विरोध मात्रै गर्ने विपक्षी कांग्रेस होइन । सरकारको नीति तथा कार्यक्रम पारित गर्न कांग्रेसले जे भूमिका खेल्यो, यही भूमिका विगतमा कम्युनिष्टहरुले गरेको भए देश कहाँ पुगिसक्थ्यो होला ?

कम्युनिष्ट सरकारले राम्रो काम गर्छ भन्ने सन्देश प्रवाह भएको हो ?

तपाईसँग भेट हुँदा मैले राम्रो कुरा गरेँ, सञ्चो विसञ्चो सोधेँ भने अब सधैँभरी राम्रो सम्बन्ध हुन्छ भन्ने हुँदैन । विगतमा कांग्रेस सरकारमा हुँदा सबैको सहयोग चाहिन्छ भन्ने पार्टी हो । कांग्रेस सरकारमा हुँदा तीन महिनामा सरकार ढाल्छु भन्ने प्रतिपक्ष थियो । आज कांग्रेसले सरकारलाई सहयोग गरिरहेका छ । तर सरकारका कमजोरी र विकृति पनि छन् नि ।

तर कांग्रेस नेता डा. शेखर कोइरालाले सरकार अधिनायकवादतर्फ गयो भने फु गरेर सरकार ढाल्छौँ भन्नुभयो नि ।

हैन तपाईलाई के लाग्छ ? अधिनायकवादतिर सरकार गयो भने छोड्ने हो भनेर भन्नुपर्ने ? कोइरालाले सरकार अधिनायकवादतर्फ गयो भने छोड्दैनौँ भन्नु त सही हो । हामी प्रतिपक्षीको कर्तव्य त गलत काम औँल्याउने र राम्रो कामको समर्थन गर्ने हो । तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ? संसदमा रोष्ट घेर्ने र रत्नपार्कमा गएर टायर बाल्ने प्रतिपक्ष चाहिएको हो ? हामीजस्तो सक्षम र सही प्रतिपक्ष त देख्ने नहुने हो ?

कमजोर प्रतिपक्ष भएका कारण सरकारलाई समर्थन गरेको भन्ने टिप्पणी गरिएको छ । के भन्नुहुन्छ ?

कांग्रेस कमजोर भयो त्यसैले सरकारलाई समर्थन गर्यो भन्छन् भने त्यही सही । तर कांग्रेस पार्टी कम्युनिष्टभन्दा फरक हो । कांग्रेसले गलत गरे सही देख्नु, सही गर्दा गलत देख्नु राम्रो होइन । कांग्रेसले लफडा गर्नुपर्छ भन्ने अपेक्षा नगर्नुस् न । तपाईले राम्रो कार्यक्रम चलाउनुहुन्छ । तर हरेक कुरामा नकरात्मक कुरा खोज्नु हुँदैन । संसदमा तोड्फोड गर्न त दुई जना सासंद भए पनि पुग्छ । नेपाल बन्द गर्नका लागि सय वटा पम्प्लेट र सय जना मान्छे भए पनि पुग्छ नि । तर कांगेसका लागि यस्ता काम सुहाउँदैन । कांग्रेसले जिम्मेवार कदम चाल्छ ।

कांग्रेसभित्र विवादै विवाद छ । यो समाधान गर्न सक्नुहुन्छ ?

गणितको परीक्षा दिइरहेका बेला इतिहासको प्रश्न सोधे जस्तो भयो । हामी नीति र कार्यक्रमको समिक्षा गरिरहेका छौँ ।

तपाईले नीति र कार्यक्रमको समिक्षा त गरिसक्नुभयो नि ? अब कांग्रेस कसरी अगाडि बढ्छ भन्नुस् न ।

कांग्रेसले संसदमा रचनात्मक भूमिका खेल्छ । नेपालको समृद्धि र विकासका लागि हाम्रो साथ रहन्छ ।

कांग्रेसभित्रको द्धन्द्ध कहिले समाधान हुन्छ त ?

पार्टीभित्र कहिले द्धन्द्ध हुन्छ कहिले एकता हुन्छ । हामी एकतावद्ध भएर कांग्रेसलाई अगाडि लैजान्छौँ ।

सभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर आलोचना गर्नेहरु पनि छन् नि ?

यो कांग्रेसको आन्तरिक जीवनको प्रश्न भयो । यसबारेमा केन्द्रिय समिति बैठकमा छलफल भइसक्यो । आजको मितिमा कांग्रेसको आन्तकरिक विषयमा छलफल गर्नु जरुरी छैन ।रिपोर्टर्स नेपालको सहयोगमा