चुनावमा सूर्य सूर्य भन्दै भोट हाल्ने जनता अहिले सूर्यको तापमा जल्दै। - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

चुनावमा सूर्य सूर्य भन्दै भोट हाल्ने जनता अहिले सूर्यको तापमा जल्दै।



कर्ण अधिकारी।

२०७४ सालको प्रतिनिधि सभा चुनावमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रले गरेको गठबन्धनको चुनावी तालमेललाई नेपाली जनताले खुबै रूचाए।यसरी रूचाउनुको पछाडि एउटै कारण थियो बाम गठबन्धनको चुनावी एजेन्डा र जनतालाई दिउँसै रात पार्ने किसिमका मन्त्रमुग्ध बनाउने भाषण र प्रचार बाजी।नेपाली जनताको मनो विज्ञान पढ्न भ्याएका कम्युनिस्टहरूले गर्न नसक्ने कामलाई पनि सहजै तवरमा अर्थात् उखान तुक्कामा भए पनि सहज बनाई दिए।कुनै पनि प्रेमीले प्रेमिकालाई माया जालमा पार्नका लागि आकाशको तारानै टिपेर ल्याई दिन्छु भने झैँ बाम गठबन्धनले पनि त्यही बोली नेपाली जनता माझ बोली दिए।

लाखौँ लाख वृद्ध आमा बुबाको माझ बाम गठबन्धनले चुनाव जितेमा उक्त गठबन्धनले सरकार बनाउने र अहिले दिँदै आएको वृद्ध भत्ताबाट बढाएर ५ हजार पुराउने प्रतिबद्धता गरेका थिए।त्यही आसमा काँग्रेसकै झन्डा मुनी बसेका वृद्ध वृद्धाहरूले पनि लोभमा परेर आँखा चिम्लिदै धोको पुरा गराई सूर्य र हँसिया हथौडामा भोट हाले।युवाहरूलाई शैक्षिक प्रमाण पत्र राखेर बिना धितो लगानी गरी दिने,मूल्य वृद्धिलाई रोकि दिने,विकास र रोजगारको अवसर सृजित गराई दिने,जनताले पाउँदै र लिँदै आएको सुविधाहरूलाई बिस्तार गर्ने,भारत विरुद्ध राष्ट्रियताको लागि डटेर लड्ने जस्ता चिल्ला कुराहरूले युवाहरू र राष्ट्र प्रेमीहरूको मन जितेर भोट बटुले तर आज त्यही गठबन्धनको पार्टी एकिकरण भई सकेको छ भने सरकार पनि यसैको छ।आर्थिक वर्ष ७५/७६का लागि आर्थिक बजेट भाषण पनि भई सकेको छ तर विगतमा ती चुनावी मैदान र दौडानमा बोलिएका कुराहरूलाई बजेट भाषणले समेट्न सकेन।

कुनै पनि आयोजना,उद्योग धन्दा सञ्चालन गर्न चाहने हरूलाई चर्को मात्रामा ट्याक्स अर्थात् राजस्व लिने वातावरण सृजित गरेको छ।वृद्ध वृद्धाहरूको लागि आवश्यक भत्ताको लागि यस बजेटले केही गर्न सकेन,कर्मचारीको बेसिक तलब बढ्न सकेन।भौतिक संरचना निर्माणका लागि चाहिने कच्चा पदार्थहरूको महंगाईले चरम रूपमा सीमा नाघेको छ।पेट्रोलियम पदार्थको मूल्य वृद्धि ३ महिनामा ५ पटक बढी सकेको छ।खाद्य पदार्थहरूको पनि महंगाई हुने पक्का छ।शान्ति सुरक्षा र अमन चयनको अनुभूति जनताले पाउन सकेका छैनन्।जनताले बोल्न र लेख्न पाउने हक अधिकारलाई कुण्ठित गर्न खोजिएको छ।जनताका अगाडी पार्टी एकिकरण गर्ने छौ भनी गरेका प्रतिबद्धतालाई क्षणिकलाई भए पनि जनताको आँखामा छारो हाल्नकै लागि भए पनि एकिकरणको नाटक मञ्चन गरिएको छ।

विगतका दिनमा शेर बहादुर देउवाको नेतृत्वमा रहेको सरकारले मूल्य वृद्धि गराई रहँदा नेकपा एमालेका कार्यकर्ताले सडक नै बन्द गरी आन्दोलनमा उत्रिए पूर्व प्रम देउवालाई राजीनामा दिनका लागि दबाब दिए।नालायक देउवा सरकार कमिसनका लागि मूल्य वृद्धि गर्‍यो भन्ने नविना लामा जस्तो कम्युनिस्टका असली कार्यकर्ताहरू ओली सरकारले ९९ रूपैयाको पेट्रोललाई ११३ रुपैयाँ बनाउँदा किन चुप?के आफ्नो पार्टीका सरकारले नराम्रो र अनैतिक काम गर्दा चाहिँ पुण्ड्य तर काँग्रेसले गरेमा चाहिँ पाप ! छात्तिमा हात राखेर बोल्नु नविना लामा जी तपाईँ किन मौन?तपाईँ नै होइन देउवा सरकारले मूल्य वृद्धि गरेको विषयमा सरकार बाट राजीनामा देऊ भन्ने तर आज न त तपाईँ नै बोल्नु भो न त तपाईँको भातृ सङ्गठनहरू नै।

त्यस कारण हरेक कुरा गर्दा सोचेर गर्दा राम्रो हुन्छ।के तपाईँ अब मूल्य वृद्धिलाई कम गराउन सक्नु हुन्छ?त्यही राष्ट्रियताको विषयमा असल नेता अर्थात् राज नेता बनेका केपी ओलीको वास्तविक हैसियत देखि हाल्नु भो उहाँ भारत सामु कसरी झुक्नु भो।अरुण तेस्रो तत्कालीन एमालेले २०४८ साल देखि नै काँग्रेसको राष्ट्रघाती कदम हो भन्दै आएको तर अहिले कम्युनिस्ट सरकार बने पश्चात् प्रम ओली र भारतीय प्रम नरेन्द्र मोदीले सिलन्यास गर्नु भो यो कुरा नेपाली जनताले बुझ्नु जरुरी छ।सुन देखि नुन सम्म दह्रो ट्याक्स लगाउन तयार भएको ओली सरकारबाट जनताले आशाको दियो जलाई राख्नु बेक्कार छ।यातायातमा सिण्डिकेट तोडे भन्ने सरकारले अहिले घर जग्गामा भने आफैले सिण्डिकेट लगाउने तयारीमा छ।

अब १० लाख भन्दा माथिको कारोबार भएमा १०% का दरले दोहोरो कर लिने भनेर भनी सकेका छन्।आफ्नो घर जग्गा बेच्दा र किन्दा समेत सरकारलाई सोध्नु पर्ने यो कस्तो नियम बन्दै छ।बिदेशीएका नेपाली कामदारले विदेशबाट सुन ल्याए भने पनि दरो रूपमा कर तिर्नु पर्ने नियम लगाएको छ।नेपालबाट विदेश घुम्न जाँदा लगाएको सुनको समेत फर्कँदा कर तिर्नु पर्ने भन्ने कुरा सञ्चार जगत्मा छाएको छ।भूकम्प पीडितलाई कुनै राहत योग्य काम वा बजेट ल्याउन सकेन।जसरी चुनावी एजेन्डामा हावादारी गफ दिएका थिए त्यस अनरूप यसपालिको बजेटमा भने हावादारी कुरा समेट्न सकेन।मूल्य वृद्धिले जनताको ढाड सेकाउने पक्का छ।जुन अपेक्षा लिएर जनताले कम्युनिस्टलाई जिताएका थिए तर त्यो अनरूप कुनै पनि कुराहरू व्यवहारमा लागु भएको नदेख्दा नेपाली जनता मर्माहित भएका छन्।