चिनियाँ सेनाबीचको झडपको भिडियोलाई भारतीय सेनाले पुष्टि गर्न सकेन । - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

चिनियाँ सेनाबीचको झडपको भिडियोलाई भारतीय सेनाले पुष्टि गर्न सकेन ।



काठमाडौं, भदौ ३ ।

भारतका एक सेवा निवृत्त लेफ्टिनेन्ट जनरल प्रकाश काटोचले शनिवार पोष्ट गरेको भारतीय तथा चिनियाँ सेनाबीचको झडपको भिडियोलाई भारतीय सेनाले पुष्टि गर्न सकेको छैन ।

काटोचको फेसबुक पेजमा पोष्ट गरिएको उक्त भिडियोलाई भारतीय राष्ट्रिय सुरक्षा निकायले यु ट्युबमा सेयर गरेता पनि भारतीय सुरक्षा अधिकारीले उक्त भिडियोको आधिकारिताको बारेमा पुष्टि नगरेको द इण्डियन एक्सप्रेस दैनिकले जनाएको छ ।

काटोचले पोष्ट गरेको सो भिडियो भारतीय सेना तथा चिनियाँ सेनाबीच अगष्ट १५ तारिखका दिन भएको एक झडपको थियो । चिनियाँ सेना सीमा नाघेर अघि बढ्न खोज्दा भारतीय सेनाले हाते साङ्लो बनाएर चिनियाँ सेनालाई रोकेको भारतीय पत्रपत्रिकाले जनाएका छन् । भारतीय सेनाको साङ्लो टुटाउन चीनको पिपुल्स लिबरेशन आर्मीका जवानले ढुङा मुढा गरेका थिए र भारतीयको तर्फबाट पनि त्यसको जवाफमा ढुङ मुढा भएको देखिएको छ ।

उक्त घटना भएको स्थलको नजिकको डाँडाबाट खिचिएको उक्त भिडियोमा भारतीय तथा चिनियाँ सेना प्रष्ट सँग चिनिँदैन । झगडा भएको र एक दुई व्यक्तिलाई धेरैले मिलेर पिटेको दृश्य देखिने उक्त भिडियोमा भारतीय र चिनियाँ सेनापनि राम्ररी छुट्टिँदैन । तर एक जवानले रातो झण्डाजस्तो देखिने वस्तुलाई लौरोको रुपमा प्रयोग गरेर अर्कोतर्फ पिटेको दृश्यले कुन भारतीय सेना र कुन चिनियाँ सेना भनेर अनुमान लगाउन सकिन्छ ।

अगष्ट १६का दिन चिनियाँ सेनाकी प्रवक्ताले आफूलाई चिनियाँ सेनाले लद्याखमा अतिक्रमण गरेको सूचना नभएको बताएकी थिईन । भारतीय विदेश मन्त्रालयले भने शुक्रवार उक्त घटना भएको कुरा स्वीकार गर्दै प्रवक्ता रविश कुमारले दुवैतिरका सेनाका कमाण्डरले आपसी वार्ताबाट सो समस्या सुल्झाएको बताएका छन् ।

हेर्नुहोस् भिडियो ।

बाह्रखरी