चन्द्रमामा चमत्कार - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

चन्द्रमामा चमत्कार



-माधव गौतम

आकाशमा हाम्रो सबैभन्दा निकटतम छिमेकी हो चन्द्रमा । चन्द्रमाले प्राचिनकाल देखिनै मानव कल्पनालाई विभिन्न किसिमले रोमाञ्चित गराउँदै आएको छ । चन्द्रमाको बारेमा धेरै मानिसले विभिन्न प्रकारले बुझ्ने कोसिसमा लागे । विभिन्न अड्कलवाजी गरे । तर प्रसिद्ध वैज्ञानिक ग्यालिलीयो ग्यालिली (सन् १५६४–१६४२)ले टेलीस्कोपको आविष्कार गरेपछि मात्र चन्द्रमाको वास्तविक अवस्थाको जानकारी प्राप्त भयो । टेलीस्कोपको माध्यमले मानिसले चन्द्रमालाई हेरे र चित्रमा उतारे । बिस्तारै खगोल विज्ञान विकसित हुँदै जानथाल्यो । झनझन शक्तिशाली टेलिस्कोप बन्दै गए । बैज्ञानिकहरुमा चन्द्रमाबारेको जिज्ञासा झन् बढ्न थाल्यो । उनीहरूले पहिले वायुयान र पछि मानिसलाई नै चन्द्रमामा पठाएर विस्तृत अध्ययन गर्न चाहे । लामो प्रयास पछि सोभियत सङ्घले सन् १९५९ मा सबैभन्दा पहिले लूना – १ नामक अन्तरिक्ष यानलाई चन्द्रमाको नजिकै पठाउन सफल भयो ।

त्यो नै पृथ्वीको गुरुत्वाकर्षणबाट बाहिर गएको पहिलो बस्तु मानिन्छ । लगत्तै सोही वर्ष नै रुसी यान लुना – २ पहिलो पटक चन्द्रमाको सतहमा पुग्ने पहिलो कृत्रिम बस्तु बन्यो । त्यसपछि पठाइएको लुना – ३ ले चन्द्रमाको विभिन्न क्षेत्रको तस्बिर समेत पठायो । त्यसपछि सोभियत सङ्घले सन् १९६६ सम्म एक पछि अर्को गर्दै विभिन्न मानवरहित यान पठाएर चन्द्रमाको अध्ययनलाई व्यापक बनायो । अर्कोतफ अमेरिकी वैज्ञानिक पनि यस अध्ययनलाई बढावा दिइरहेका थिए । अमेरिकाले पनि एपोलो अभियान शुरुगरि सकेको थियो । अमेरिका र सोभियत सङ्घ बिच सित युद्ध र अन्तरिक्षको होड एकसाथ अगाडी बढिरहेको थियो ।

सन् १९६९ मा पहिलो पटक अमेरिकाले मानिसलाई चन्द्रमामा उतार्न सफल भयो । सन् १९७२ सम्म अमेरिकाले छ पटक मानिसलाई चन्द्रमामा उतारीरह्यो । निल आर्मस्ट्रङ चन्द्रमाको धर्तीमा पहिलो पटक पाइला टेक्ने मानिसका रूपमा इतिहासमा लेखिए । यसरी पृथ्वीदेखि बाहिर अन्तरिक्षमा चन्द्रमा नै यस्तो दुनियाँ हो जहाँ मानिसले पाइला टेक्न सफल भएको छ । तर सन् १९७२ पछि भने आजसम्म कुनै पनि देशले चन्द्रमामा मानिस उतारेको समाचार प्रकाशमा आएको छैन । यद्यपि अमेरिका लगायत विकसित देशहरू यस विषयमा निरन्तर लागिरहेका छन् । भारतले पनि २००८ मा मानव रहित चन्द्रयान चन्द्रमाको सतहमा टेकाएको थियो ।

आकाशमा सूर्य पछि सबैभन्दा चम्किलो देखिने वस्तु चन्द्रमालाई मानिसहरूले पहिले स्वप्रकाशित ठानेका थिए । तर पछि वैज्ञानिकहरूले त्यस्तो नभएको पाए । सूर्यप्रकाशको कारणले नै चन्द्रमा चम्किंदो रहेछ र पृथ्वीको परिक्रमा गर्ने दौरानमा विभिन्न कोणमा सूर्यबाट प्रकाशित हुनेहुँदा चन्द्रमा विभिन्न आकारमा कलात्मक देखिंदो रहेछ । राती आकाशमा चम्किने चन्द्रमा प्राचीन काल देखिनै सौन्दर्य र शीतलताको प्रतिमान रहंदै आएको छ । तर वास्तवमा चन्द्रमाको अवस्था अर्कै रहेछ । त्यहाँ न त पानी छ, न हावा, न बादल, न वर्षा । त्यहाँको आकाश पुरै कालो देखिन्छ । किनकि सूर्यको प्रकाश छर्नकोलागि त्यहाँ हावा नै छैन । चन्द्रयात्रीले दिउँसो नै त्यहाँ तारा र सूर्य चम्केको देखेका थिए । पृथ्वीलाई एक चक्कर लगाउन चन्द्रमालाई २७.३२२ दिन लाग्छ ।

यो पृथ्वीको समकालिक परिक्रमासँग जोडिएको छ । चन्द्रमामा पर्ने पृथ्वीको ज्वारीय प्रभावको कारण चन्द्रमालाई आफ्नो कक्षमा घुम्न ठिक त्यति समय लाग्छ जति पृथ्वीलाई एक चक्कर लगाउन । यही टाइडल लकको कारणले पृथ्वीबाट चन्द्रमाको सधैँ एउटा मात्र हिस्सा देखिने गर्दछ । चन्द्रमाको दिनमा औसत तापमान १०७ डिग्री सेल्सियस रहन्छ भने रातमा –१५३ डिग्री सेल्सियस सम्म पुग्दछ । भ्याकुममा ध्वनी नहिँडने हुँदा चन्द्रमामा पृथ्वीमा जस्तो एक आपसमा कुरा गर्न सम्भव हुँदैन । दुवै तर्फको रेडियो तरङ्गबाट मात्र कुरा गर्न सकिन्छ । चन्द्रमाको सतहमा धेरै खाडलहरु छन् ।

वैज्ञानिकहरूले ती खाडलहरुलाई प्रसिद्ध वैज्ञानिकको नाम दिएका छन् । जस्तो कुनैलाई प्लेटो त कुनैलाई कोपरनिकस । अहिले सम्म प्राप्त जानकारी अनुसार सौर्य मण्डलमा सबैभन्दा गहिरो खाडल चन्द्रमामा नै छ । जसको ब्यास २२४० किलोमिटर छ भने गहिराई १३ किलोमिटर छ । यो दक्षिणी ध्रुव र भुमध्ये रेखाको बिचमा छ । चन्द्रमामा सतहमा देखिने कालो भागलाई ग्यालीलियोले गल्तीले समुद्र ठानेका थिए । तर त्यो लावाको कारण बनेको थियो । वायुमण्डल नभएकाले त्यो क्षेत्र आज पनि उस्तै छ, जस्तो यो ३ अरब वर्ष पहिले थियो । चन्द्रमामा पाइला टेकेका यात्रीको पदचाँप मानव हस्तक्षेप नहुने हो भने लाखौँ वर्षसम्म जस्ताको तस्तै रहन्छ ।

चन्द्रमाको उत्पत्ति सूर्य मण्डलको उत्पत्ति भएको ३ देखि ५ करोड वर्ष पछि भएको हुन सक्ने अनुमान गरिएको छ तर कसरी भयो भन्ने कुरामा वैज्ञानिक एकमत छैनन् । यस बारेमा चार सिद्धान्त प्रचलित छन् ।

१. चन्द्रमाको जन्म पनि अरू ग्रह जस्तै सौर्यमण्डलको निर्माणको क्रममा धुलो र ग्याँस मिलेर भएको हो ।

२. चन्द्रमा एउटा क्षुद्र ग्रह थियो जसलाई पृथ्वीको गुरुत्ववलले आफ्नो कब्जामा लियो ।

३. जब पृथ्वीको सुरुवाती आकार बनिरहेको थियो त्यतिवैला यो यति तिब्रगतिमा घुम्थ्यो कि यसको केन्द्रिकृत बलको कारण यसको पर्पटीको एउटा हिस्सा नै छुट्टीएर गयो । प्रशान्त महासागर यसको क्षदचिन्ह हो ।

४. जब पृथ्वी शैशवकालमा थियो त्यति बेला मङ्गल ग्रह जत्रै एउटा ग्रह पृथ्वीमा ठक्कर खाई चकनाचुर भयो र अन्तरिक्षमा ठुलो मात्रामा छरियो । पछि बिस्तारै ती चट्टानहरु जोडीने प्रक्रियाबाट नै चन्द्रमाको निर्माण भएको हुन सक्छ ।

चन्द्रमा पृथ्वीदेखि ३८४४०० किलोमिटरको औसत दुरीमा छ । यसको हाम्रो जीवनमा ठुलो प्रभाव पार्दै आएको छ । समुद्रमा उठ्ने ज्वार भाटा र ग्रहणको कारण चन्द्रमा नै हो । पृथ्वीमा जीवको उत्पत्तिमा पनि चन्द्रमाको योगदान रहेको वैज्ञानिकको मान्यता छ । उनीहरूका अनुसार ज्वारभाटाको कारण उत्पन्न हुने तरङ्ग र रसायनको मिश्रणबाट नै जीवन सम्भव भएको हो ।

अबका केही दशक भित्रै चन्द्रमा मानवीय गतिविधिको प्रमुख केन्द्र बन्ने देखिन्छ । किनकि विकसित देशहरू यहाँ होटेल देखि लिएर मानव बस्ती बसाल्ने योजनाकासाथ काम गरिरहेका छन् । अब चन्द्रमामा चमत्कार भएको हेर्न धेरै कुर्न नपर्ला ।

( दिनेश रावतको पुस्तक अद्भुत ब्रम्हांडबाट अनुदित अंश )