बिकास र निकासका निम्ती काँग्रेस – चन्द्र केसी - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

बिकास र निकासका निम्ती काँग्रेस – चन्द्र केसी



गुल्मी : नेपाली काँग्रेसका नेता तथा गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्यका उम्मेद्वार चन्द्र केसीले आर्थिक विकास र राजनीतिक निकासको लागि नेपाली काँग्रेसलाइ जिताउन मतदाताहरुलाइ आग्रह गर्नुभएको छ ।

चुनावी अभियानको क्रममा आइतबार मदाने गाँउपालिकाका बिभिन्न स्थानहरुमा पुग्नुभएका कांग्रेस उम्मेदवार केसीले २००७ सालदेखि नेपालमा भएका हरेक परिणाममूलक राजनीतिक आन्दोलन र परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले नै गरेको बताउनुभयो ।

उहाँले २००७ सालको आन्दोलन, २०३६ सालको आन्दोलन, २०४६ सालको आन्दोलन र २०६२।६३ को आन्दोलन पनि नेपाली कांग्रेसको नेतृत्वमा भएको विस्तार गर्नुभयो ।

नेपाली कांग्रेसले हरेक परिवर्तनका उपलब्धिहरुलाई संस्थागत गर्न लगत्तै संविधान निर्माण र निर्वाचन गराउदै आएको पनि स्मरण गराउनुभयो । २००७ सालपछि नेपालको अन्तरिम शासन विधान, २०१५ सालको संविधान, २०४७ सालको संविधान तथा २०६३ सालको अन्तरिम संविधान र वर्तमान संविधान पनि नेपाली कांग्रेसको नेतृत्वमा बनेको उहाँले दावी गर्नुभयो । उहाँले स्व. सुशील कोइराला नेतृत्वको सरकारले संविधान बनाएको भन्दै उनले यसलाई समयानुकूल परिस्कृत र परिमार्जित गर्दै कार्यान्वयन गर्न पनि कांग्रेसको सरकार चाहिएको उल्लेख गर्नुभयो ।

नेता के.सी.ले कम्युनिष्ट गठबन्धनले नेपाली जनताको ७० बर्षको संघर्षले प्राप्त हालको संविधानलाई मिल्काएर कार्यकारी राष्ट्रपति हुने संविधान बनाउने दुष्चेष्टा देखाएकोले उनीहरुमाथि भर नपर्न पनि उहाँले मतदातालाई आग्रह गर्नुभयो ।
उहाँले अहिले बनेको बाम गठबन्धन धोकेबाजहरुको स्वार्थको गठबन्धन भएको पनि उल्लेख गर्नुभयो ।

निर्वाचन अभियानमा काँग्रेसकै प्रदेश सभा (ख) का उम्मेद्वार छन्द पहराइले गुल्मीका जनताले वामपन्थीहरुको गुलिया वचन र जनता झुक्याउने चाला राम्रोसंग थाहा पाएकोले यसपटकको निर्वाचनमा प्रनिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसलाई अत्यधिक मतले विजयी गराउने विश्वास व्यक्त गर्नुभयो ।

उहाँ आइतबार पुर्काेटदह, भनभने लगायतका क्षेत्रमा पुग्नुभएको थियो ।

यता गुल्मी कै क्षेत्र नं. २ प्रदेश सभा नं.(क) मा नेपाली काँगे्रसका उम्मेदवार शालिकराम पन्थील आईतबार ईस्मा गाउँपालिकाको पालुखा, रातचौर, रातडाँडा र ताल्तुङ्गमा घरदैलो अभियान सम्पन्न गर्नुभएको छ ।

उहाँले लोकतन्त्रको रक्षा गर्न र गरिब जनताको उत्थानको लागी आफ्नो उम्मेदवारी बताउनुभएको छ ।

उहाँले यस क्षेत्रमा सरकारको तर्फबाट पुुर्याउनु पर्ने बाटोघाटो, शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात,सिंचाई,विद्युत सेवा आफ्नो प्रमुख एजेण्डा भएको बताउनुभएको छ ।उहाँको प्रचार अभियानमा नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष हरी बहादुर खत्री, नेपाली काँग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सभापति भगतसिंह खड्का, पूर्व जिल्ला सदस्य चन्द्र महत नेविसंघ नेता रोशनसिंह ठकुरी लगायत सम्मिलित हुनुहुन्छ ।