यहि जेलमा बसेका ओली प्रधानमन्त्री बने, तर जेलको कन्तबिजोग - Himal Post Himal Post
  • ८ बैशाख २०८१, शनिबार
  •      Sat Apr 20 2024
Logo

यहि जेलमा बसेका ओली प्रधानमन्त्री बने, तर जेलको कन्तबिजोग



जेलमा बसेर सबै ठूला नेता भए । तर, आज आफैँ बसेको जेलतर्फ फर्केर हेरेनन् ।’ जेलको अवस्था देखेर चिन्तित जगन्नाथ देवलस्थित केन्द्रीय कारागार प्रमुख गणेशप्रसाद भट्टराईका भनाइ हुन् यी । जेलमै बसेर ठूला नेता भए पनि दयनीय अवस्थाका विषयमा चासो नदिएको गुनासो उनको छ । ‘हेरौं अब त केही हुन्छ कि ?’ दिक्दारी भाषामा भट्टराई भन्छन् ।

०२८ सालको झापा काण्डदेखि तत्कालीन मालेका नेता राधाकृष्ण मैनालीले निरन्तर १५ वर्ष जेलमै जीवन बिताए । उनी पटकपटक मन्त्री पनि बने तर, आफैं जेल सुधार गर्न नसकेको स्विकार्छन् । सुधारका लागि एकपल्ट जेल नै खाली गर्ने प्रस्ताव राखेको समेत उनले सुनाए । जेलमा रहँदा पेट भर्न र आङ ढाक्नै संकट हुने गरेको सम्झना उनको छ । ‘जेल बस्दाको अन्तस्करणको कुरा बिर्सनु मार्मिक विषय हो । म पनि ९÷१० महिना गरी दुईपटक मन्त्री भएँ । बन्दीगृह र बन्दीबारे खासै निर्णय गर्न र गराउन भने सकिनँ,’ उनले भने, ‘राजनीतिक परिवर्तन भए पनि मुलुकको आर्थिक विकास नभएकाले जेल मात्र होइन, बन्दीको जीवन पनि जीर्ण बन्दै गएको छ । गणतन्त्र घोषणा भएपछि स्थितिमा सुधार ल्याउन एकपल्ट जेल नै खाली गरौं भनेर पनि प्रस्ताव गरेँ तर केही प्रगति भएन ।’

मैनालीका अनुसार त्यसबेला शान्तिप्रक्रिया पूर्णरूपमा टुंग्याउने र सत्यनिरुपण तथा मेलमिलाप आयोग र बेपत्ता आयोगको काम सम्पन्न भएपछि जेलको पुनःसंरचनामा अघि बढ्ने भनेर पन्छिने काम भयो । ‘आफ्नै खेतमा पानी पठाउनेबारे नसोच्ने नेताहरूले जेलबारे सोच्ने कुरै भएन,’ उनले भने । उनले स्वास्थ्योपचार नपाएर जेलमै बितेका छविलाल राजवंशीलाई पनि सम्झिए । आफ्नै आँखासामुबाट लग्दै भीमनारायण श्रेष्ठ र क्याप्टेन यज्ञबहादुर थापालाई फाँसी दिइएको घटनाले मैनाली भावुक बने । ‘जेल जीवनका ती दुर्दान्त घटना आँखावरिपरि घुम्दा पीडा अनुभूत हुन्छ’, उनले भने ।

जेलमा बस्दा खुला बन्दीगृहसम्मको योजना बनाएका उनीहरूले विधि र व्यवहारमा उपलब्धि देखाउन नसकेको नेताहरू बताउँछन् । वर्षौंसम्म जेलका कालकोठरीमा बन्दी जीवन बिताउने नेताहरूले बहुदल हुँदै गणतन्त्रसम्म आइपुग्दा पनि जेल सुधारमा आँखा चिम्लिएका कारण स्थिति जर्जर बनेको हो ।