खुलेआम मिनी क्यासिनो राजधानीमा - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

खुलेआम मिनी क्यासिनो राजधानीमा



काठमाडौं । राजधानीमा खुलेआम मिनी क्यासिनो सञ्चालन हुन सुरु भएका छन् । कहीं प्रहरीसंगको मिलेमतोमा त कहीँ नमिलाईकन यसका सञ्चालकहरुले जुवा खेल्ने अखडा मात्र नभई क्यासिनो नै सञ्चालन गर्न थालेका छन् ।

ललितपुर जील्लाको भैंसेपाटी, नख्खु, हात्तीवन, जाउलाखेल र काठमाडौँको कलंकी र स्वयम्भू आदि क्षेत्रलाई आफ्नो कार्यक्षेत्र बनाएर यस्ता मिनी क्यासिनोहरु सुरु भइरहेको जानकारी प्रहरी महानिरीक्षकको सचिवालयमा पुगेको छ । कहीं स्थानीय प्रहरी प्रमुखसंग मिलेर त कहीं गस्तीमा आउने प्रहरीहरुलाई मिलाएर ठूलो जुवा अखडा सञ्चालन गरिएको जानकारी सचिवालयमा प्राप्त भएको छ । प्रहरी परिसर एवं मेट्रोले छापा मार्नुको साटो उल्टो संरक्षण गर्ने गरेको आरोपसमेत सचिवालयसम्म पुगेको जानकारी स्रोतले दिएको छ ।

धेरै मात्रामा मिनी क्यासिनो सञ्चालन गर्नेमा रोशन लामा र सानो दावा लामा नामका दुई सञ्चालकको नाम अग्रपंक्तिमा रहेको छ । केही दिनअघिमात्रै दुवै जनालाई काठमाडौं प्रहरी परिसरका सई दीपेन्द्र चन्दको नेतृत्वको टोलीले पक्राउ गरी आवश्यक कारवाहीका लागि लैनचौर स्थित प्रहरी वृत्तमा पठाएको थियो । उनीहरु थुनामा एक साता पनि नभई छुटेका थिए ।

काभ्रेका तरुण दलका अध्यक्षसमेत रहेका गुण्डाका रुपमा चर्चित दावा लामाको लगानीमा दुवै लामाबन्धुहरुले  जुवा अखडा सञ्चालन गरेका हुन् । क्यासिनोमा दावाको ५० प्रतिशत शेयर रहेको बताइएको छ । बाँकी ५० प्रतिशत कान्छा बस्नेत, प्रेम थापामगर र अष्ट लामाको लगानी रहेको जानकारी उजुरीमा उल्लेख गरिएको छ । नख्खिपोट बस्ने अष्ट लामा, इमाडोलका युवराज लामा, लेले ठैंचो बस्ने प्रेम थापामगर र जाउलाखेल हात्तीवन बस्ने कान्छा बस्नेत पनि जुवा सञ्चालक र लगानीकर्ताकै रुपमा परिचित छन् । मुख्यतः जुवा खेलाउने र जुवा खेल्नेहरुलाई मिटर व्याजमा लगाउने व्यक्तिका रुपमा युवराज लामाको नाम समेत उजुरीमा उल्लेख छ भने कान्छा बस्नेत खेलाडीका रुपमा चिनिन्छन् । झण्डै दैनिक आधा करोडको जुवा हुने उनीहरुको अखडामा भेटीमात्रै १२ देखि १५ लाख उठाउने गरेको जानकारी आएको छ । यस्ता चर्चित जुवाडेहरुलाई मेट्रो प्रहरीबाट सिभिलमा खटिने केही जुनियर प्रहरी अधिकृतहरुको संरक्षण रहेको जानकारी आएको छ ।

रिसोर्ट जुवा अखडा

बालाजुदेखि नुवाकोट जाने बाटोमा रहेको मुड्खुस्थित रिसोर्टमा छापा हान्दा ४ महिलासहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ । ग्रिनपिस रिसोर्टमा कौडा खेलिरहेको अवस्थामा ४ लाख ५२ हजार ६ सय ५० रुपैयाँसहित प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा काभ्रेका जितमान गोले, दयाराम नेपाल, ललितपुरका महेश बजगाई, काठमाडौँका दिपेश खड्गी, सानुकाजी महर्जन, मकवानपुरका बसन्धुरा केसी, गौतमसिंह महर्जन, भुजन बलामी, केशर घिमिरे, स्वयम्भूका दीपक महर्जन, नुवाकोटका कृष्ण बस्नेत, सिन्धुपाल्चोकका नवीन गुरुङ, पुरानो बानेश्वरकी अनिता लामा क्षत्री, मकवानपुरकी तुलसा कार्की, रोल्पाकी कमला कार्की र रामेछापकी गोमा थापा छन् । उक्त रिसोर्टमा पेशेवररुपमा नै जुवा खेलाइने गरेको सूचना पाएपछि प्रहरीले छापा हानेको हो । त्यस क्षेत्रका होटल तथा रिसोर्ट अवैध गतिविधिका कारण बदनाम छन् ।
काठमाडौँ महानगरपालिका–३२ कोटेश्वर कोटदेवी मन्दिर नजिकको श्यामकृष्ण सुवेदीको घरमा जुवातास खेलिरहेको अवस्थामा सुवेदीसमेत गरेर ६ जनालाई २१ बुक तास, नगद २ लाख ६९ हजार ६ सय ६५ नेपाली रूपैयाँ र ६ सय भारतीय रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित केएमसी चोक बस्ने देवेन्द्र प्रधानको घरमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले प्रधानसहित १२ जनालाई ३ बुक तास र नगद ९५ हजार ६ सय ५२ रुपैयाँसहित पक्राउ गरेको छ । यसैगरी पोखरा लेखनाथ महानगरपालिका–११ फुलबारी बस्ने धनुमाया पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा पुन लगायत ९ जनालाई नगद ४३ हजार ८ सय ३५ रूपैयाँ र ४ बुक ताससहित प्रहरीले पक्राउ गरेको छ । बन्दीपुर गाँउपालिका–४ बिमलनगर बस्ने रञ्जु थापाको बेम्बो कटेजमा जुवातास खेलिरहेको अवस्थामा थापासमेत १० जनालाई २ बुक तास र नगद ३ लाख ६१ हजार ७ सय ५० रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । यसैगरी तनहुँको शुक्लागण्डकी नगरपालिका–७ खैरेनीटारस्थित हीराचन होटल एण्ड लजमा प्रहरीले छापामारी १२ जना जुवाडेलाई पक्राउ गरेको छ । जुवाको खालबाट प्रहरीले एक लाख २५ हजार ६१५ नगदसहित १२ व्यक्तिलाई पक्राउ गरेको कुरा जिल्ला प्रहरी कार्यालय, तनहुँका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए । होटलमा अवैधरुपमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा उनीहरूलाई पक्राउ गरिएको हो । जुवा खालबाट १६० पत्ती तास तथा नगद रकम बरामद गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका सबै व्यक्तिउपर अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।