क्यान इन्फोटेक मेला सुरु, के के छन त आकर्षण? - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

क्यान इन्फोटेक मेला सुरु, के के छन त आकर्षण?



हिमालपोष्ट/काठमाडौं, १३ माघ

सूचना प्रविधि सम्बन्धि मेघा मेला ‘सुविसु क्यान इन्फोटेक–२०१७’ बिहीबारदेखि भृकुटीमण्डपमा शुरु भएको छ । सुचना, प्रविधि र सञ्चारमा भएका नयाँ आयामहरुको जानकारी गराउने यो मेला १८ गतेसम्म चल्ने छ।

क्यान महासंघको आयोजनामा शुरु भएको २३औँ संस्करणको क्यान इन्फोटेकमा विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसंग सम्बन्धित कम्पनीहरुको सहभागिता रहने मेलामा २२२ स्टल रहेका छन् । मेलाको एक समारोहका बीच आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले उद्घाटन गरे।

“राज्य प्रणालीलाई आधुनिकीकरण गर्न जरुरी छ, परम्परागत कार्य प्रणालीलाई आधुनिक बनाई सेवा प्रणालीलाई सुलभ र छरितो बनाउन प्रविधिको अपरिहार्य भइसकेको छ,” उद्घाटनसत्रमा बोल्दै उपप्रधानमन्त्री महराले भने।

महराले राज्य विज्ञान र प्रविधिको आधुनिक आविष्कारबाट बाहिर जानै नसक्ने भन्दै विद्युतीय सिकाइ ‘इलर्निङ’ लाई प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले दूरसञ्चार प्रविधिको पहुँच ग्रामीण भेगका जनतासम्म पुर्याउन सरकार लागि परेको उल्लेख गर्दै अबको १० वर्षपछि पूरै नेपाल ‘इ’ नेपाल हुनुपर्ने बताए।

क्यान महासङ्घका अध्यक्ष विनोद ढकालले सूचना प्रविधि क्षेत्रको विकासमा राज्यको ध्यान जानुपर्नेमा जोड दिए । उद्घाटन समारोहमा मुख्यसचिव सोमलाल सुवेदी, सूचना प्रविधिको क्षेत्रमा काम गर्ने विज्ञलगायतको सहभागिता थियो ।

के छ त मेलाको आकर्षण?

प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टिनेन्स, पावर सोलुसन्स, मोबाइल एसेसोरिज, डिलर र डिस्ट्रिब्युटर्स, इन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेसन्स्, आइसिटी कलेज तथा ट्रेनिङ इन्स्टिच्युट्स, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् र अन्य रहेका छन् ।

मेलामा व्यवसायीले व्यापारिक सम्भावना विस्तारित गर्ने मात्र नभई विभिन्न नयाँ तथा नौलो प्रविधिको प्रदर्शनी गर्ने पनि मौका पाउनुका साथै एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नयाँ नयाँ प्रविधि, उपकरणको अवलोकन तथा खरिदसमेत गर्न पाउने छन् ।

क्यान इन्फोटेकको अघिल्लो वर्ष तीन लाख ६३ हजारले अवलोकन गरेकामा यस वर्ष सो सङ्ख्या चार लाख पुग्ने विश्वास आयोजकको छ । इन्फोटेकमा अवलोकन शुल्कबापत सर्वसाधारणलाई रु एकसय र विद्यार्थीलाई रु ५० तोकिएको छ । क्यान मेला नयाँ प्रविधि र उपकरणको वस्तुस्थिति झल्काउने मञ्च भएकाले यसबाट अवलोकनकर्ताले मोबाइल कम्युनिकेसन र कम्प्युटर हार्डवेर सफ्टवेयरको नयाँ भर्सनका उपकरण देख्न पाउने क्यान महासङ्घका कोषाध्यक्ष रञ्जित पोद्दारले हिमालपोष्ट सँग कुरा गर्दै भने।

गोदावरी जेसीजको रक्तदान कार्यक्रम

क्यान इन्फोटेक मेलामा बिगतका बर्षझैँ गोदावरी जेसीज र सीतापाइला रेड्क्रसले “रक्तदान महादान” भन्ने नारालाइ आत्मसाथ गर्दै बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। अघिल्लो बर्ष ५०० भन्दा बढिले रक्तदान गेरेका थिए।

दीर्घ रोग नलागेका, उमेर पुगेका र स्वस्थ ब्यक्तिले रक्तदान गर्न सक्ने गोदावरी जेसीजका अध्यक्ष कुबेर केसीले बताए ।