भारतीय ओभरलोड मालबहाक गाडी नियन्त्रणका लागि नारायणी पश्चिमका ट्रक व्यवसायीहरु एकजुट - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भारतीय ओभरलोड मालबहाक गाडी नियन्त्रणका लागि नारायणी पश्चिमका ट्रक व्यवसायीहरु एकजुट



अाचार्य प्रदीप
बुटवल : आयात भएको सामानको भार बहन क्षमता मिलान गरेर मात्रै ढुवानीकालागि सम्बन्धि भन्सार कार्यालयले ईजाजत दिनुपर्ने र तोकिएबमोजिम भन्दा बढी भारबहन गर्नुपर्ने सामाग्रिको हकमा सम्बन्धित यातायात व्यबस्था कार्यालयको स्वीकृतिमा मात्रै भन्सार कार्यालयले ढुवाई ईजाजत दिन पाउने कार्यविधिमा भएतापनि यो व्यबस्थाले छुन नसकेको नेपाली मालवाहक यातायात व्यबसायीहरु बताएका छन् ।

लागु भएको कार्यविधि कार्यान्वयन गर्नकालागि पटक पटक सम्बन्धित कार्यालयहरुमा आग्रह गरिपनि ती कार्यालयका अधिकारीहरुले वेवास्ता गरेको मालवाहक यातायात व्यबसायीहरुले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गरि गुनासो गरेका छन् ।

पश्चिमाञ्चल यातायात व्यबसायी समिति बुटवल, बाणगंगा यातायात व्यबसायी समिति कपिलबस्तु र लुम्बिनी ट्रक यातायात व्यबसायी संघ भैरहवाले मंगलबार बुटवलमा संयुक्त रुपमा पत्रकार सम्मेलन गरी अव पनि ओभरलोड समस्या समाधान नभए बाध्य भएर आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

भारतीय गाडीको ओभरलोडका कारण नेपाली व्यबसायीहरु आफ्ना सवारी साधन थन्काएर बस्नुपर्ने स्थिती बिकास हुँदै गएको बताउँदै पश्चिमाञ्चल यातायात व्यबसायी समितिका पूर्व अध्यक्ष अर्जुन रानाभाटले आन्दोलन बाहेक अरु केही विकल्प नभएको बताए ।

भारतबाट वेलहीया तथा कृष्णनगर नाका हुँदै दैनिक १८० वटा सम्म भारतीय ट्रक नेपाल भित्रिने त्यसमध्ये ५० प्रतिशत सवारी साधन अत्यधिक ओभरलोडका हुने पश्चिमाञ्चल यातायात व्यबसायी समितिका अध्यक्ष टिकाराम गौतमले बताए ।

‘जतिपनि भारतिय गाडीहरु नेपाल प्रवेश गर्दछन् ति ट्रकहरुमा अत्याधिक भारवहन हुन्छ जसले गर्दा नेपालका सडकको क्षमताले ति लोड धान्न सक्दैनन र सडक क्षतविक्षत हुनुका साथै अधिक लोडका कारण पुल पुलेसाहरु समेत जोखिममा परेका छन् ।’ पत्रकार सम्मेलनमा पश्चिमाञ्चल यातायात व्यबसायी समितिका निवर्तमान अध्यक्ष लोकराज पोखरेलले भने ।

नेपालमा मात्रै ६२ हजार ट्रक रहेको र ती ट्रकमा प्रत्यक्ष रुपमा सवालाख श्रमिकले रोजगारी पाएपनि सरकारले नेपाली व्यबसायीलाई वेवास्ता गरी भारतीय व्यबसायीलाई काखि च्यापेको लुम्बिनी ट्रक यातायात व्यबसायी संघका अध्यक्ष विष्णुप्रसाद खरेलले बताए ।

ओभरलोडको समस्या ट्रक व्यवसायीका मात्र नभई सार्वजनिक महत्वका बिषय भएकाले कानूनले निर्दिष्ट गरेका कुराहरु कानून को परिपालना गर्ने गराउने निकायले नगरी कानूनकै वर्खिलाप भएको बाणगंगा यातायात व्यबसायी समितिका अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए ।