समग्र बिकासका लागि बाम गठबन्धनको जित आवश्यक : पौडेल - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

समग्र बिकासका लागि बाम गठबन्धनको जित आवश्यक : पौडेल



बुटवल : नेकपा एमालेका उपमहासचिव विष्णुप्रसाद पौडेलले मंगलबार रुपन्देहीका विभिन्न चुनावी कार्यक्रमहरुलाई सम्बोधन गर्नुभएको छ । बुटवलको वडा नंं. १३ स्थित बेलबासमा भएको संयुक्त प्रचार–प्रसार कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले यस क्षेत्रको समग्र विकासका लागि बाम गठबन्धनका उम्मेदवारले चुनावमा बिजय हासिल गर्नुपर्ने बताउनुभयो ।

नेकपा माओवादी केन्द्र र नेकपा एमालेको वडा नं. १३ को संयुक्त प्रचार–प्रसार कार्यालय उद्घाटन गर्दै रुपन्देही क्षेत्र नं. २ प्रतिनिधि सभा उम्मेदवार समेत रहेका नेता पौडेलले बाम गठबन्धनका उम्मेदवारको जीत निश्चित भएपनि अन्य पार्टीका मतदाताले आफूहरुको पुनः मूल्याङ्कन गरिदिन आग्रह गर्नुभयो । पौडेलले भन्नुभयो, ‘यसअघिको स्थानीय चुनावमा वडा नं. १३ मा दाँतमा ढुंगा लागेको अनुभूति भयो तर यसपटक यसो हुनेछैन । ’

पछिल्लो राजनीतिक अवस्था र बाम लातमेलका कारण पनि चुनाव जित्न आफूहरुलाई कठिन नभएको भन्दै तर सबै मतदाताले आफूहरुको भूमिकालाई बुझिदिनुपर्ने पौडेलले उल्लेख गर्नुभयो ।

यहाँको सगग्र विकासका लागि छ लेन सडक, बिमानस्थल निर्माणको काम, बेलबास–बेथरी सडक निर्माण, दानव नदी तथा तिनाउ नदीको व्यवस्थापन, शिद्धबाबा सडकको सुरुङमार्ग वा बैकल्पिक मार्ग, कालिगण्डकी डाईर्भसन, नारायणगढ–कोहलपुर सडक निर्माण, केरुङ–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग जस्ता आयोजनाको लागि आफूले महत्वपूर्ण भूमिका खेलेको भन्दै यसमा सबैको सहयोग आवश्यक रहेको नोता पौडेलले बताउनुभयो ।

उपमहासचिव पौडेलले मुलुकमा स्थायी सरकार बन्न नसक्दा विकास निर्माणका कामले अपेक्षित गति लिन नसकेको भन्दै प्रतिनिधि सभा र प्रदेश सभामा दुईतिहाई मत प्राप्त गरेपछि बाम गठबन्धनको स्थायी सरकार गठन हुने र पाँच वर्षमा धेरै विकासका काम गरिने उल्लेख गर्नुभयो । एक अर्को प्रसंगमा नेता पौडेलले नेपाली काँग्रेसलाई जनताले परीक्षण गरिसकेकाले अब मत दिएर बिजयी गराउन नसक्ने दावी गर्नुभयो ।

कार्यक्रममा रुपन्देही क्षेत्र नं. २ ख का प्रदेश सभा सदस्य उम्मेदवार भोजप्रसाद श्रेष्ठ, नेकपा माओवादी केन्द्रका निर्मल जीसी, टिका ओली, एमालेका गोपाल राना, राजु गुरुङ, मोहन गौडेल लगायतले बोल्दै आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा तथा प्रदेश समाको चुनावमा बाम गठबन्धनलाई बिजयी गराउन मतदाता समक्ष आग्रह गर्नुभयो ।