बुटवलमा सुरु भएको प्रदर्शनीमा दर्शकहरुको उल्लेखनीय उपस्थिती - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

बुटवलमा सुरु भएको प्रदर्शनीमा दर्शकहरुको उल्लेखनीय उपस्थिती



बुटवल (रासस) : बुटवलमा बिहीबारदेखि जारी १४ औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ को तेस्रो दिन शनिबार प्रदर्शनीको अवलोकन गर्न उल्लेख दर्शक प्रदर्शनीस्थल पुगेका छन् ।

सार्वजनिक बिदाको दिन परेका कारण विद्यालय तथा सरकारी कर्मचारीको उपस्थिति बाक्लो रहेको थियो । ‘समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने उद्देश्यका साथ नेपाल उद्योग परिसंघको सहकार्यमा रुपन्देही उद्योग संघको आयोजनामा सञ्चालन गरिएको प्रदर्शनी मूल आयोजक समितिका सदस्य सचिव तथा रुपन्देही उद्योग संघका महासचिव माधव पौडेलले शनिबार ४० हजार दर्शकले प्रदर्शनी अवलोकन गरेको बताउनुभयो ।

प्रदर्शनीमा खाद्यान्न, कपडा, कस्मेटिक, साबुन चिया तथा कृषि उत्पादनको करिब रु ५० लाखको आर्थिक कारोबार भएको अनुमान गरिएको छ ।

प्रदर्शनीमा दर्शकको बढ्दो आगमन तथा स्टलमा राखिएका सामग्रीमा देखाएको चासोले आफूहरु उत्साहित बनेको मूल समितिका संयोजक दिनेशराज रेग्मीले बताउनुभयो ।

प्रदर्शनी हेर्न आएका अवलोकनकर्ताले प्रविधितर्फका पेभेलियनमा राखिएका उत्पादन प्रक्रियामा चासो देखाएका थिए । प्रदर्शनीमा पहिलो पटक राखिएको प्रविधितर्फको पेभिलियनमा उपभोक्तालाई सामग्री उत्पादन गरेर देखाउने गरिएको छ ।

सहभागी स्टलधनी गौतम इञ्जिनियरिङका सञ्चालक हरिभक्त गौतमले नेपालमा हाइड्रोपावरको विकासमा स्वदेशकै प्रविधि र जनशक्तिबाट गर्न सकिन्छ भन्ने कुरालाई आम उपभोक्तालाई जानकारी गराउन सहयोग मिलेको बताउनुभयो । उहाँले सानो लगानी तथा प्रविधिको प्रयोगबाट विद्युत्को उत्पादनमा आफूहरु मेसिनरी खपत गर्दै आएको जानकारी दिनुभयो ।

स्टलमा डायमण्ड ह्याण्डिक्राफ्ट, ललितपुरद्वारा निर्माण गरी राखिएको मेसिनबाट कागजबाट पेन्सिल बनाएर देखाउने गरेको र त्यसबारेमा निकै चासो लिएर सोधपुछ पर्ने गरेको सञ्चालक दीपकबहादुर बुढाले बताउनुभयो ।

अवलोकनकर्ताले निकै चासो लिएर जानकारी लिने र किन्ने पनि गरेको हँुदा आफू निकै उत्साहित बनेको बुढाको भनाइ छ ।