बुटवल देखि जयपुर जाँदै गरेको गाडी लखनउको कन्नोजमा दुर्घटना - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बुटवल देखि जयपुर जाँदै गरेको गाडी लखनउको कन्नोजमा दुर्घटना



धनवीर पुन/नयाँ दिल्ली  ।

सुपा देउराली टुर एण्ड ट्राभल्सको गाडी उत्तर प्रदेशको कन्नोजमा दुर्घटनामा परेको छ । बुटवलदेखि राजस्थान जयपुर जाँदै गरेको RH 14 -TE 0650 नम्बरको फोर्स सड्कमा उभिरहेको ट्रकमा ठोकिँदा सो दुर्घटना हुन पुगेको हो ।

गाडीमा चालक र मालिक सहित २५ जनाले यात्रा गरिरहेका थिए । ड्राइभर राम सिंह (श्रीराम)ले विश्राम गरेका थिए, गाडी भने गाडी मालिक देवीराम शर्माले चलाइरहेको अवस्थामा दुर्घटना हुन पुगेको प्रत्यक्ष दर्शीहरुले बताएका छन् ।

सो दुर्घटनामा परि गाडी मालिक देवीराम शर्मा, ड्राइभर रामसिंह, यात्रुहरू क्रमशः मीन बहादुर थापा, खोमा थापा तनहुँ भिमाद नपा, उशा राना, विष्णु माया खैरेनीटार तनहुँ र प्रेम विक पोखरा चिप्लेढुंगाको अवस्था गम्भीर रहेको छ ।

देवीराम शर्मा गम्भीर अवस्थाबाट होसमा आएका छन् भने मिनबहादुर थापाको अवस्था गम्भीर रहेको बताइएको छ । थापाको घुँडा र साप्रो भाचिएको चिकित्सकहरूले बताएका छन् ।

गाडी दुर्घटना हुनुमा लापर्वाही पूर्वक गाडी हाँकनुको कारण नै बुझिएको छ । कन्नोजमा दुर्घटना भई घाइते भएकाहरुलाई उपचार नजिकको सुविधा सम्पन्न अस्पतालमा गर्नुको सट्टा आज बिहान ७ बजे रिफरको नाममा जयपुर पुर्‍याउनु रहस्यमय बुझिएको छ ।

हामीले गाडी सञ्चालक पक्षसँग पटक पटक सम्पर्क गरी दुर्घटनाको विवरण माग्न खोज्दा गाडी नम्बर समेत नदिई जानकारी दिन पूर्ण रूपले अस्वीकार गरेका थिए । तर हामीले विभिन्न व्यक्तिहरू र स्रोतहरूसँग आफ्नो पहुँच पु¥याई घटना विवरण सङ्कलन गरिसके पछि मात्रै फोन मार्फत जीवन रसाईलीले गाडी नम्बर टिपाएका थिए । हामीले पहिला सुपा देउराली टुर एण्ड ट्राभल्सका संस्थापक कृष्ण पौडेल, सदस्य जीवन, जयपुर शाखाका विशाललाई सम्पर्क गरेका थियौँ ।

दिल्लीदेखि नेपाल गाडी सञ्चालन गर्ने पहिलो ट्राभल्सले समेत यात्रुलाई दुर्घटना पश्चात् उपचारमा गरिएको अनुदारपूर्ण व्यवहारले गर्दा अन्य गाडी सञ्चालकहरू माथि कसरी विश्वास गर्ने र कसरी ढुक्कसाथ यात्रा गर्ने ? प्रश्न खडा भएको छ ।