२५६२औँ बुद्धजयन्ती सफल पार्न स्थानीयको भूमिका महत्त्वपूर्ण - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

२५६२औँ बुद्धजयन्ती सफल पार्न स्थानीयको भूमिका महत्त्वपूर्ण



बुटवल ।  लुम्बिनीको योजनाबद्ध विकासकोलागी स्थानीयलाई साथमा लिएर विकास कोष अघि बढ्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । उनीहरूले स्थानीयको साथ र सहयोगले विकास र कार्यको सफलताको लागी महत्त्वपूर्ण हुने बताएका हुन् ।

लुम्बिनी प्रेस क्लबको दोस्रो साधरणसभा को अवसरमा भएको अन्तरक्रिया मा बोल्ने वक्ताहरूले सो कुरा बताएका हुन् ।

उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री लीला गिरीले लुम्बिनीको गुरुयोजना अनुसारको विकासलाई छिटो सक्न स्थानीय पत्रकार, राजनैतिक दल, संघसंगठन एवं नागरिक समाज र सबैपक्षको साथ लिएर विकास कोष अघि बढ्नुपर्नेमा जोड दिए ।

मन्त्री गिरीले लुम्बिनी प्रेस क्लबले आसन्न बुद्धजयन्तीको पुर्वसन्ध्यामा गरेको बुद्धजयन्ती सफल पार्न मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम उपलब्धीमूलक भएको पनि बताए ।

उनले भने ‘लुम्बिनी सबै नेपालीको पहिचान हो । वैशाखको दोस्रो हप्ता हुन गइरहेको बुद्धजयन्ती सफल पार्न सबैको सहयोग र सहकार्य आवश्यक छ । विकास कोषले बुद्धजयन्तीको पुर्वसन्ध्यामा लुम्बिनीसँग सरोकारीत पक्ष त्यसमा मिडियाका साथीहरूसँग अन्तरक्रिया राखेर राम्रो गरेको छ । यसको निरन्तरता जरुरी छ । ’

क्लबका कार्यवाहक अध्यक्ष दीपेश पछाईको सभापतित्वमा भएको कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेश त्रिपाठी (भिक्षु मेहता) ले यस पटकको बुद्ध जयन्ती विगतको भन्दा विशेष हुने अपेक्षा राखेका थिए ।

उनले भने ‘प्रधानमन्त्री के.पी ओली ज्यू केही दिनको बसाई नै गर्नेगरी लुम्बिनी आउँदै हुनुहुन्छ । सम्मानीय राष्ट्रपति ज्यू पनि आउने कार्यक्रम छ । देश विदेशका विद्धानहरुले कार्यपत्र पेस गर्ने कार्यक्रम तथा स्थानीयको व्यापक सहभागिता र सहकार्यमा बुद्धजयन्ती मनाउने तयारी भइरहेको छ । ’

सोही कार्यक्रममा प्रदेश सांसद फकरुदिन खानले विगतका बुद्धजयन्ती र सम्मेलनमा स्थानीयलाई वास्ता नगरिएको भन्दैं आसन्न बुद्धजयन्तीमा स्थानीयलाई साथमा लिएर मात्रै कार्यक्रम गर्न सुझाव दिए । उनले भने ‘लुम्बिनीकोलागी स्थानीयको योगदान अत्यन्तै छ । त्यसैले उनीहरूलाई साथमा लिएर कार्यक्रम गरिँदा विगत भन्दा अझै प्रभावकारी हुन्छ । ’

सिद्धार्थनगरका मेयर हरिप्रसाद अधिकारीले बुद्धजयन्तीलाई व्यवस्थित बनाउन लुम्बिनीको प्रवेशद्धार सिद्धार्थनगर सधैँ अग्रपङ्क्तिमा रहेको बताए ।

विकास कोषका निमित्ति सदस्यसचिव ई.सरोज भट्टराईले लुम्बिनीको विकास गुरुयोजना अनुसार नै  भइरहेको जनाउदैं बुद्धजयन्तीलाई भव्य र सभ्य रूपमा सफल पार्न सबैको सहयोग आवश्यक भएको बताए ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदीले बुद्धजयन्तीमा स्थानीय पत्रकारको साथ र सहयोग लिएर अघि बढ्न विकास कोषलाई सुझाव दिए ।

राष्ट्रिय पयटन व्यवसायी महासङ्घ ५ नम्बरका संयोजक सागर अधिकारीले बुद्धजयन्ती पर्यटन व्यवसायीकोलागी महत्त्वपूर्ण अवसर भएकोले सबै व्यवसायी विकास कोससँग हातेमालो गरेर काम गर्न इच्छुक भएको बताए । प्रेस क्लबका कार्यवाहक अध्यक्ष दिपेश पछाईले विगतका वर्षहरूमा वर्षमा एक दिन बुद्धजयन्तीमा मात्रै आउने पत्रकारलाई मिडियाको नाममा धेरै रकम खर्र्चिएको भएता पनि फलदायी नभएको तर्क गर्दै स्थानीय पत्रकारहरूलाई साथमा लिएर अगाडी बढे कार्यक्रम बढी प्रभावकारी हुने बताए ।

कार्यक्रम संयोजक क्लबका कार्यसमिति सदस्य दीपक घिमिरेको स्वागत, सचिव सम्झना शर्माको सञ्चालनमा सम्पन्न उक्त कार्यक्रममा क्लबका महासचिव नरेश के.सी, पत्रकार महासङ्घ रुपन्देहीका कार्यवाहक अध्यक्ष निरु गौतम, कपिलवस्तुका पत्रकार मनोज पौडेल, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका कायसमिती सदस्य गोविन्द ज्ञवाली, उद्योग व्यापार सङ्गठनका लुम्बिनी अध्यक्ष कृष्ण बहादुर गुरुंग, साटाका अध्यक्ष चन्द्र बहादुर थापा, सिद्धार्थ होटेल एसोसिएसनका वरिष्ठ उपाध्यक्ष मिथुन कुमार श्रेष्ठ लगायतले मन्तव्य राख्दै ०७५ वैशाख १५, १६, १७ गते नेपाल सरकार, लुम्बिनी विकास कोषको आयोजनामा  बुद्ध जन्मस्थल लुम्बिनी रुपन्देहीमा सम्पन्न हुन गइरहेको २५६२ औँ बुद्ध जयन्ती समारोह तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनलाई सफल पार्नु हामी सबैको दायित्व र कर्तव्य  भएको बताएका थिए । लुम्बिनी नेपाल, भगवान् बुद्धको जन्मस्थल , बौद्ध धर्मको उद्गम केन्द्र तथा विश्वशान्तिको मुहान       (लुम्बिनी नेपाल, द बर्थ पैलेस अफ लर्ड बुद्ध, द फाउन्टेन अफ बुद्धिज्म एण्ड वल्र्ड पिस) भन्ने मूल नाराका साथ यसपटकको बुद्धजयन्ती मनाउने तयारी विकास कोषले थालेको छ ।

लुम्बिनी प्रेस क्लबले आफ्नो विधानको उद्धेश्यको ५.१२ मा विश्व पर्यटनको लुम्बिनीको विकास, संरक्षण, सम्बद्धन र प्रबद्र्धनकोलागी सरोकारवाला निकायसँग समन्वयकारी प्रचारात्मक कार्यक्रम गर्ने उल्लेख गरेको छ । सोही विधानको उद्धेश्य अनुरूप साधरणसभाको अवसरमा बुद्धजयन्ती सन्दर्भ पारेर कपिलवस्तु, नवलपरासी र रुपन्देहीका पत्रकार तथा लुम्बिनीसँग सरोकारीत व्यक्तित्वसँग अन्तरक्रिया गरिएको क्लबका महासचिव नरेश के.सी.ले जनाए ।

 

प्रेस क्लबको विभिन्न उपसमिति गठन

यसैबिच उद्घाटन सत्रपछि लुम्बिनीमा नै लुम्बिनी प्रेस क्लबको बन्दसत्र सम्पन्न भएको छ । बन्दसत्रमा क्लबका महासचिव नरेश के.सी.ले प्रस्तुत गरेको प्रतिवेदन, कोषाध्यक्ष कमल रायमाझीले पेस गरेको कोषाध्यक्ष तथा लेखा प्रतिवेदनलाई पारित गरेको छ । यसै गरी बन्दसत्रले विधान संशोधन गर्दै विभिन्न ३ वटा उपसमिति समेत गठन र सल्लाहकार समितिमा थप ३ जना थप्ने व्यवस्था गरेको छ ।

सभाले पत्रकार आचारसंहिता काम गर्ने पत्रकारलाई शुद्धिकरण गर्ने ध्येयले अनुशासन समिति गठन गरेको छ । जसको संयोजकमा दीपेन्द्र बडुवाल र सदस्यहरूमा प्रकाश न्यौपाने तथा भुवन पाण्डे रहेका छन् ।

यसै गरी लेखा समितिको संयोजकमा राधेश्याम विश्वकर्मा र सदस्यहरूमा पुनहरी बेलबासे र रविन्द्र गुप्ता रहेका छन् । यसै गरी तालिम समितिको संयोजकमा मनोरञ्जन शर्मा र सदस्यहरूमा विरेन्द्र मिश्रा र मोहमद हबिब रहेको सचिव सम्झना शर्माले जनाइन् ।

साधरणसभाले विगत डेढ महिनादेखि दिल्लीको एम्स अस्पतालमा रहनुभएका क्लबका अध्यक्ष माधव ढुंगानाको श्रीमती गीता शर्मा र ग्रान्डी अस्पताल काठमाण्डौंमा उपचारत सल्लाहकार चेतन पन्तको शीघ्र स्वास्थय लाभको पनि कामना प्रस्ताव पारित गरेको छ ।

२०७२ सालमा स्थापना भएको लुम्बिनी प्रेस क्लबमा भैरहवा, मर्चवार, लुम्बिनी, धकधई कार्यक्षेत्र भएका ३७ जना पत्रकारहरू सदस्यको रूपमा रहेको कोषाध्यक्ष कमल रायमाझीले बताए ।