नेइमार–जिसस–कोन्टिन्होको कमाल - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

नेइमार–जिसस–कोन्टिन्होको कमाल



विश्व फुटबलमा आफ्नो प्रभाव मेट्नै नसकिने गरी पारेको ब्राजिल यसपटक युवा टिमले भरिएको छ । चार वर्षअघि घरेलु मैदानमा भएको विश्वकप फुटबलमा नमिठो अनुभव लिएको ब्राजिललाई यसपटक रुसमा हुने विश्वकपको बलियो उपाधि दाबेदारका रुपमा हेरिएको छ ।

रुस विश्वकपको तयारी स्वरुप भएको आफ्नो अन्तिम अभ्यास खेलमा ब्राजिलले प्रभावशाली जित निकालेको छ । यो जितमा टिमका सबै उत्कृष्ट युवा खेलाडीले गोल गरे । भिएनामा भएको खेलमा ब्राजिलले अस्ट्रियालाई ३–० ले हराएको हो ।

ब्राजिललाई जिताउने नेइमार, गाब्रिएल जिसस र फिलिप कोन्टिन्होले गोल गरे । पहिलो हाफमा एक गोल गरेको ब्राजिलले दोस्रो हाफमा दुई गोल गरेको हो । ३६ औँ मिनेटमा जिससले गोल गर्दै ब्राजिललाई पहिलो हाफमा १–० को अग्रता दिलाए ।

चोट निको भएर तीन महिनापछि मैदान फर्किएका नेइमारले ६३ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे । यस्तै ६९ औँ मिनेटमा कोन्टिन्होले गोल गर्दै ब्राजिलको जित निश्चित गरेका हुन् ।

पाँच पटकको विश्व विजेता ब्राजिल रुस विश्वकपका लागि समूह ई मा छ । उसले जुन १७ मा स्वीट्जरल्याण्डसँगको खेलबाट विश्वकप यात्रा सुरु गर्नेछ । त्यसपछि उसले कोस्टारिका र सर्बियासँग प्रतिस्पर्धा गर्नेछ ।