अर्घाखाँची वासीको मुहारमा मुस्कान छर्ने "मुस्कान" - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

अर्घाखाँची वासीको मुहारमा मुस्कान छर्ने “मुस्कान”



-विरेन्द्र खनाल 

राजनीति भित्रको अपराधिकरण र अपराधको राजनीतिकरणले मुलुक आक्रान्त भइरहेको बेला हामी मतदाताहरुले नै जिताएर फुलमाला लगाइदिएका जनप्रतिनिधिहरु हामिप्रती कति उत्तरदायी बने?

हामी कसलाई जिताउनु पर्थ्यो,कसलाई जितायौ र कसलाई जिताउनुपर्छ ? यो विषयको हेक्का राखेनौ भने राजनीति शब्दलाई मात्र दोष नलगाउ हामीभित्र पनि केही कमजोरी छ।हामी हाम्रो अधिकारको प्रयोग गर्दै गर्दा कतै फेरि ती पुरानै गल्तिहरु दोहोर्याइरहेका त छैनौ गम्भीरतापुर्वक आत्मविश्लेशण हुन जरुरी छ।

निर्वाचनको मिति नजिकिदै छ।नेताहरू घरदैलो कार्यक्रममा व्यस्त छ्न । यसै सन्दर्भमा ५ नम्बर प्रदेश अन्तरगतको पहाडी जिल्ला अर्घाखाँचीमा चुनावी रौनकता बढदो छ।प्रतिनिधिसभामा  एउटा क्षेत्र र प्रदेशसभाको लागि दुईवटा क्षेत्र रहेको अर्घाखाँचीमा साबिकको क्षेत्र नम्बर १ अर्थात् हाल प्रदेश सभा “क”मा नेपाली काङ्ग्रेसको तर्फबाट जिल्ला पार्टी सभापति समेत रहेका विष्णु प्रसाद खनाल”मुस्कान” चुनावी मैदानमा छन्।

२०३६ सालदेखि विद्यार्थी राजनीतिमा होमिएका मुस्कान पन्चायत विरुद्धका आन्दोलनमा सक्रिय रूपमा सहभागी बने।अर्घाखाँचीमा भएका हरेक परिवर्तनको लडाइमा नेपाली काङ्ग्रेसमा आबद्ध रहेर विभिन्न तह र तप्काको नेतृत्व सम्हाल्दै आएका उनै मुस्कान आज चुनावी परीक्षामा छ्न।

जनताको तहमा पुगेका उनी ५ नम्बर प्रदेश अखण्ड रहनुपर्छ भन्ने विषयमा केन्द्रमा पार्टीको निर्णय र निर्देशन भन्दा माथि उठेर आन्दोलनमा अर्घाखाँचीको नेतृत्व गरेका थिए।सदैव जनताको मनोभावलाई सम्मान गर्नुपर्छ भन्ने मुस्कान २०४३ सालदेखि हालसम्म सदरमुकाम सन्धिखर्कमा भाडाको कोठामा बस्छन।उनी सङ्ग न घर न घडेरी छ र त्यो जोडन पनि सकेनन्।जनताकै सेवामा समर्पित हुने ध्ययले खाइपाइको शिक्षकको जागिर छोडेर जनताको मुहारमा मुस्कान खोज्दै राजनैतिक बाटो रोजे।

निरन्तर परिवर्तनको खातिर लडेका मुस्कान व्यक्ति र दलिय स्वार्थभन्दा माथि उठेर सामाजिक स्वार्थमा समर्पित उनी काङ्ग्रेसजनमा मात्र होइन गैरकाङ्ग्रेसिहरुको पनि मन जितेका छ्न। लाभको पदबाट टाढा रहेर समग्र अर्घाखाँचीको विकासमा समर्पित उनी जिल्लामा राजनैतिक भाइचार कायम राख्न अब्बल मानिन्छ्न।

जनताले रेल भन्दा पहिले खाने तेलको सहज पहुँच खोजिरहेका छ्न,स्वास्थ्य,शिक्षा,खानेपानी मोटरबाटो,बिजुली…….आदि जनताका अपेक्षाहरु साना साना छन् हामी ठुला ठुला सपना नबाडौ। विद्यालएका   भवनहरुको स्तर उन्नति गौण कुरा हो तर शिक्षाको गुणस्तरमा कसरी स्तरबृद्दि गर्न सकिन्छ त्यो विषय महत्त्वपूर्ण हो भन्ने बिचारलाई आत्मसात गरेका मुस्कान विकासको श्रीवृद्धिको लागि तल्लिन छ्न।

जनताको इक्षा,चाहना,भावना र हितलाई केन्द्रबिन्दुमा राखी विकासको रोडम्याप तय गर्दै विकासका बाछिटाहरुले कुनाकन्दराहरु पनि  भिझ्नुपर्छ भन्ने दृष्टिले ओतप्रोत छ्न । विकास देखिनु त पर्छ नै तर यो बढी देखाउने भन्दा पनि जनताले प्रत्यक्ष अनुभूति गर्ने गरी विकासका क्रियाकलापहरू सञ्चालन गर्छु भन्ने प्रतिबद्धतकासाथ चुनावी मैदानमा होमिएका “मुस्कान”लाई शुभकामना।अर्घाखाँची बासीको मुहारमा मुस्कान छर्ने “मुस्कान” नामै काफी छ।