विष्णु पौडेल कुशल र भरपर्दो नेता हुनुहुन्छ: नेता भट्टराई - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

विष्णु पौडेल कुशल र भरपर्दो नेता हुनुहुन्छ: नेता भट्टराई



काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले नवगठित पार्टीका महासचिव विष्णु पौडेल योग्य व्यक्ति भएको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले कम्युनिष्ट पार्टीभित्र उत्तराधिकारी नहुने भन्दै अहिलेका लागि पौडेल योग्य व्यक्ति भएको बताए ।

“दुईवटा पार्टीको समायोजन गर्दा उहाँ महासचिव हुनुभएको छ । राम्रोसँग जिम्मेवारी पूरा गर्नका लागि म शुभकामना दिन्छु । उहाँ कुशल र भरपर्दो नेता हो ।”

पटक पटक मन्त्री भइसकेका पौडेल अनुभवी नेता भएको उनले बताए । संसदीय फाँटका अनुभवी नेता पौडेलले राष्ट्रिय–अन्र्राष्ट्रिय रुपमा पनि सम्बन्ध राम्रो बनाउने क्षमता राख्ने भन्दै भट्टराईले प्रशंसा गरे ।

पौडेलले पछिल्लो पुस्ताको नेतृत्व गर्न सकेको खण्डमा कसैले पनि आपत्ति जनाउन नपर्ने उनको तर्क छ । यद्यपी पार्टीभित्र विभिन्न तहमा नेतृत्व गर्न सक्ने नेताहरु प्रशस्तै रहेको उनले बताए ।

नवगठित पार्टीमा नेताहरुको जिम्मेवारी बाँडफाँट गर्न बाँकी रहेको बताएका छन् । अहिलेका लागि आफूलाई पार्टी एक भएकोमा खुशी मनाउने भूमिका रहेको तर्क गरे ।

खुशीको क्षण समाप्त भएर अब भने जिम्मेवारी बाँडफाँट गरेर काममा फर्किने उनले बताए ।

“जिम्मेवारी बाँडफाँट हुँदा हामीले पनि केही जिम्मेवारी पाइएला भन्ने आशा छ ।” उनले भने ।

तत्कालिन नेकपा एमालेको स्थायी समिति सदस्य तथा सचिव रहेका भट्टराई अहिले पनि नेकपाको स्थायी समिति सदस्य छन् । तत्कालिन एमालेका स्थायी समिति सदस्य सबैलाई नेकपाको पनि स्थायी समिति सदस्य बनाउने एमालेले जनाएको छ ।

सचिवको पद भने अहिले नरहने भएकाले आफ्नो पहिलाको सचिव पद पनि नरहेन उनले बताए ।

दुई दलबीच मिलेर बनेको नेकपालाई भावनात्मक रुपमा पनि एक बनाउनु पर्ने भट्टराईको तर्क छ ।

आफूले अहिलेको नेतृत्वले विश्राम लिएर नयाँ पुस्तालाई नेतृत्व दिनुपर्छ भने पनि केपी ओली र प्रचण्ड नै अभिभावकको भूमिका रहेको बताए ।

“सिङ्गल इन्जिनवाला विमान होइन । जेट विमान हो । दुईजना मात्रै पाइलट हुँदैनन् । छेउमा अरु पनि हुन्छन् । सबैको निगरानी भइरन्छ ।” भट्टराईले बताए ।

जेट विमान चलाउनका लागि ओली र प्रचण्ड अहिले अभ्यासको चरणमा रहेको उनले बताए । आफूहरु पनि पाइलटकै भुमिकामा ओली र प्रचण्डसँगै रहेको उनको तर्क छ ।