बिष्णु पौडेल महासचिव भएपछी तत्कालीन एमालेमा खैलाबैला - Himal Post Himal Post
  • ११ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 23 2024
Logo

बिष्णु पौडेल महासचिव भएपछी तत्कालीन एमालेमा खैलाबैला



काठमाडौँ– पार्टी एकीकरणको महत्वपूर्ण निर्णयहरु सञ्चार माध्यमबाट मात्र थाहा पाउँदै आएका तत्कालीन एमाले र माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुलाई बिहीबार दिउँसो संयुक्त बैठकका लागि बालुवाटार बोलाइयो ।

बैठकमा सहभागी हुन एमालेका दुई सय जना केन्द्रीय सदस्य र माओवादीका ७७ जना सचिवालय सदस्य केन्द्रीय सदस्यका हैसियतमा संयुक्त बैठकमा बसे। सबै सदस्य आइसकेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले संयुक्त बैठक सुरु भएको औपचारिक घोषणा गरे।

बैठक सुरु गरेसँगै दुवै पार्टीका केन्द्रीय कमिटी भंग भएको घोषणासँगै पार्टी एकता संयोजना समितिले गरेका आठ वटा निर्णय भटाभट सुनाए। आठवटा निर्णय मध्ये एक थियो, एकीकृत पार्टी सञ्चालनका लागि नौ सदस्य सचिवालय गठन र सचिवालयको महासचिव विष्णु पौडेल नियुक्त भएको।

निर्णयलाई ताली बजाएर अनुमोदन गरिदिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गरेको आग्रह अनुसार सबैले ताली बजाएर सबै निर्णयको अनुमोदन गरे। तर, आफैंले ताली बजाएर गरेको कतिपय निर्णयप्रति दुवै पार्टीका नेता सन्तुष्ट थिएनन्। चित्त नबुझेको निर्णयमध्ये एक थियो, विष्णु पौडेलको महासचिवमा नियुक्ति।

एमालेको उपमहासचिव भएर नौ नम्बर वरियतामा रहेका पौडेल एकाएक धेरै वरिष्ठ नेताहरुलाई पन्छाउँदै एकीकृत पार्टीको महासचिवजस्तो निक्कै माथिल्लो पदमा नियुक्त भएको सुन्दा दुवै पार्टीका केन्द्रीय सदस्य र पत्रकारहरुसमेत अचम्ममा परे।

एमालेको वरियतामा उनीभन्दा माथि अध्यक्ष ओली, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधव नेपाल उपाध्यक्षहरु वामदेव गौतम, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य र भीम रावल तथा महासचिव ईश्वर पोखरेल थिए। पोखरेलपछि बल्ल एमालेको वरियतामा थिए पौडेल।

असन्तुष्ट हुनेमा सबैभन्दा धेरै एमालेकै नेताहरु । बिहीबार रातिसम्म एकीकरणका विभिन्न कार्यक्रममा व्यस्त भएर शीर्ष नेताको निर्णयमा ताली बजाउँदै हिँडेका नेताहरु शुक्रबारदेखि विष्णु पौडेलको महासचिव नियुक्तिप्रति निक्कै आक्रामक पाइएका छन्।

एमालेका एक पदाधिकारी स्तरका नेताले पौडेलको महासचिवमा नियुक्तिलाई ‘अन्तर्राष्ट्रिय शक्ति केन्द्रको छायाँ प्रकट भएको’ भनेर टिप्पणी गरेका छन् ।

ती नेताले आक्रोश मुद्रामा भने, ‘राजनीतिमा अहिलेसम्म नभएको दलाली र माफियाकरण प्रकट भएको छ। यसलाई पार्टीमा माफियाको खुलमखुला प्रवेशका रुपमा लिएको छु।’

त्यस्तै सिंहदरबार पार्टी एकताबारे अनौपचारिक कुराकानी गरिरहेका एमालेकै अर्का नेताले अपारदर्शी ढंगले ओली प्रचण्डबीच कुरा आदानप्रदान गरे बापत ‘ब्रोकरिङ फाइदा’ का रुपमा पद पुरस्कार पाएको टिप्पणी गरे। ती नेताले पार्टी एकीकरणमा अरु नेताको भूमिका पनि कम नरहेको दाबी गरे।

‘अपारदर्शी रुपमा काम गरेबापत कसैले पद नै लिन्छ भने अरु काम गरे बापत उसले अरु के के लेला? राजनीतिमा नैतिकताको पनि प्रश्न हुन्छ । त्यसलाई पनि ख्याल गर्नुपर्छ,’ ती नेताले भने।

एमालेकै नाम बताउन नचाहने अर्का नेताले निर्णयप्रति तत्कालीन एमाले र एकीकृत पार्टीभित्र छलफलसमेत नहुने अवस्था रहेको बताए । उनले भने, ‘छलफल हुन्छ कि हुँदैन खै के भनौं। निर्णयमा सबै ठूला नेताको सहमति देखिन्छ।’

तत्कालीन एमालेको निर्वाचित महासचिव भएर पनि सचिवालय सदस्यमा समिति भएका ईश्वर पोखरेलले शुक्रबार पदभार ग्रहण कार्यक्रममा अनुपस्थिति हुनुलाई समेत असन्तुष्टिका रुपमा हेरिएको छ। धुम्बाराही र पेरिसडाँडा पुगेर अध्यक्षद्वयसहित अरु सदस्यले पदभार ग्रहण गरे पनि पोखरेल भने काठमाडौंमै भए पनि उपस्थिति भएनन्। वरिष्ठ नेता झलनाथ खनाल भने चीन भ्रमणमा छन्।हुबहु देशसंचारबाट