वीर र कान्ति बाल अस्पतालमा डर लाग्दो उडुसआतंक - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

वीर र कान्ति बाल अस्पतालमा डर लाग्दो उडुसआतंक



काठमाडौं ।।   देशकै पुरानो वीर अस्पताल र बालबालिकाको उपचार गर्ने कान्ति बाल अस्पतालमा उडुसको टोकाइबाट बिरामी र कुरुवा आतंकित भएका छन् । उडुसको टोकाइबाट उपचारका लागि आउने बिरामी, कुरुवा र स्वास्थ्यकर्मीसमेत हैरान भएका हुन् । पटक–पटक औषधि प्रयोग गरे पनि उडुस नमासिएको अस्पताल व्यवस्थापन पक्षले जनाएको छ ।

दाङबाट मिर्गौलाको उपचार गर्न छोरालाई लिएर एक साताअघि वीर अस्पताल आएका चन्द्रबहादुर श्रेष्ठ उडुसका कारण रातभरि सुत्न नसकेको बताउँछन् । ‘म पाँच दिनदेखि आइसियुबाहिर बिरामी कुरेर बसेको छु । रात परेपछि यहाँ उडुससँग लडाइँ हुन्छ,’ श्रेष्ठले भने, ‘सुत्ने भन्ने त परको कुरा हो । उडुसबाट जोगिनै मुस्किल छ, ।’ अँध्यारो कोठा भएका कारण साँझ पर्नासाथ उडुस निस्केर टोक्ने गरेको श्रेष्ठले बताए । खबर आजको नयाँ पत्रिका दैनिकमा छ ।

उडुसको टोकाइबाट चिकित्सक पनि हैरान
बिरामी र कुरुवा मात्र होइनन्, उडुसको टोकाइबाट अस्पतालका स्वास्थ्यकर्मी पनि हैरान छन् । रात परेपछि उडुसले टोकेर हैरान पार्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । वीर अस्पतालको आइसियु र सिसियुबाहिरका भित्तामा उडुस मारेर राता टाटैटाटा भएका छन् । ‘उडुस मारेरै हाम्रो रात बित्ने गरेको छ,’ अस्पतालका एक कर्मचारीले भने, ‘अनेक औषधि गर्दा पनि यसलाई निर्मूल पार्न सकिएको छैन । उडुसले गर्दा बिरामीको उपचार सेवा नै प्रभावित बनेको छ ।’ उडुसको टोकाइबाट बिरामी र कुरुवा रातभरि निदाउन पाउँदैनन् । अस्पतालको आइसियुअगाडि बिरामी कुरेर बसेकी सीता देवकोटाले भनिन्, ‘रातको समयमा शरीरका विभिन्न भागमा र कानभित्रसमेत उडुस पसेर हैरान पार्ने गरेको छ ।’

उडुस निर्मूल पार्न कठिन
उडुस सम्झिँदा पनि कतिपयलाई राति निद्रा नै पर्दैन । उडुसको टोकाइबाट शरीर चिलाउने, सुन्निने तथा एलर्जी हुने गर्छ । उडुस सानो र छिट्टै लुक्ने परजीवी भएकाले यसलाई खोजेर निर्मूल पार्न एकदमै कठिन हुन्छ । उडुसलाई निर्मूल पार्न निकै गाह्रो हुने चिकित्सकहरू नै बताउँछन् । उडुस नखाएर पनि लामो समयसम्म बाँच्न सक्ने भएकाले यो लुकैरै महिनौँ बाँच्न सक्न ।

पुराना उपकरणले उडुस बढ्यो
वीर अस्पतालका निर्देशक प्रा.डा. भूपेन्द्रकुमार बस्नेतले वर्षौं पुराना उपकरणको प्रयोगले उडुस बढेको बताए । वीरमा २०औँ वर्ष पुराना खाट र खिया लागिसकेका फलामे बेड प्रयोगमा छन् । जसका कारण उडुस बढेको बस्नेतको भनाइ छ । ‘सुन्दा सामान्य लाग्न सक्छ । तर, उडुसले अस्पतालमा ठूलो चुनौती थपेको छ,’ बस्नेतले भने । उडुसको विषयमा बिरामीले भन्दा पनि अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरूले धेरै गुनासो गर्ने गरेको उनले बताए । ‘हामीले थुप्रैपटक औषधि हानेर उडुस मार्ने प्रयास ग¥यौँ,’ उनले भने, ‘तर, उपकरणका चेप–चेपमा पसेर बसेका उडुसलाई मार्न सकिएन ।’ उनले उडुसलाई कसरी मार्ने भन्ने विषयमा आफू नै अन्योलमा परेको गुनासो गरे ।

कान्तिमा पनि उडुसआतंक उस्तै
कान्ति बाल अस्पतालमा पनि उडुसको टोकाइले बिरामी बालबालिका र उनीहरूका अभिभावक हैरान भएका छन् । अस्पतालका निर्देशक डा. गणेश गुरुङले उडुस आतंकले स्वास्थ्यकर्मी पनि हैरान भएको बताए । ‘अहिले जाडो छ, धेरै उडुस बाहिर निस्कँदैनन् । फागुन लागेपछि कमिलाको ताँतीजस्तो लस्कर लाग्छन्,’ राईले भने । उपत्यकाका सबैजसो अस्पतालमा उडुस भएको दाबी उनले गरे । ‘हामीकहाँ पनि बिरामीलाई उडुसले असाध्यै दुःख दिएको छ ।

बिरामीलाई टोक्दा यसले रोग पनि सार्ने गर्छ,’ उनले भने, ‘उडुससँग लडाइँ गरेर सकिँदोरहेनछ । हामीलाई यसले रुनु न हाँस्नु बनाएको छ ।’ पटक–पटक औषधि हानेर उडुस मार्ने प्रयास गरे पनि सम्भव नभएको राइले बताए । राईले उडुस निर्मूल पार्ने विषयमा विज्ञहरूसँग सल्लाह गरिने बताए ।