आज हुने सांगीतिक कन्सर्टको लागि बिपुल क्षेत्री आईपुगे एडीलेड - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

आज हुने सांगीतिक कन्सर्टको लागि बिपुल क्षेत्री आईपुगे एडीलेड



एडीलेड
युवा पुस्ता माझ लोकप्रिय गायक बिपुल क्षेत्री एडीलेडमा सांगीतिक कन्सर्ट गर्ने आईपुगेका छन् । द गबमा आज बेलुका ७:३० बजे देखि सुरु हुने कन्सर्ट थ्री केजी इन्टरटेनन्मेटले आयोजना गर्दैछ। लन्डनस्थित ट्रिनिटी कलेजबाट ‘वेस्टर्न क्लासिकल गिटार’ मा स्नातकोत्तर गरेर नेपाली संगीतमा आफ्नो ज्ञान र अनुभब समर्पण गरेका बिपुलका सिन्डिगेट, असार, राम साइली जस्ता गितहरु दर्शक स्रोत माझ लोकप्रिय रहेका छन ।

जुलाईमा बृह्त रुपमा नेपथ्य ब्याण्डको सांगीतिक कार्यक्रम सफलताका साथ सम्पन्न गरेको आयोजक थ्री केजी इन्टरटेनन्मेटका खुम घलेले कार्यक्रमलाई उच्च स्तरिय गराउनको लागि आफुहरु लागेको बताए । उनले भने ” हामीले दर्शकहरुको अपेक्षालाई मध्यनजर गर्दै लाईट, साउण्डमा बिशेष ध्यान दिएका छौ। साथै , उनले थप्दै भने ” हामीले अहिले देशमा आएको बाढीमा प्रभावितहरुलाई सानो भए पनि सहयोग होस् भनेर कार्यक्रम बाट आउने मुनाफा बाट केहि रकम सहयोग गर्दैछौ । त्यसैले कार्यक्रम परोपकारी सांगीतिक कार्यक्रम हुनेछ । फेस्टिभलको सहर मानिने एडीलेडमा यस प्रकारका कार्यक्रमहरुले नेपाली संगीतलाई अझै संवर्धन गर्ने प्रायोजक ग्रेस इन्टरनेशनल एडीलेडका प्रबन्धक निर्देशक प्रकाश थापा बताउछन।

कार्यक्रम आयोजक मध्येका प्रदिप खत्रीले भने ” छोटो समयमा अग्लो परिचय बनाएका विपुल क्षेत्री आफ्नो गीत मार्फत आममानिसको जीवनशैलीलाई प्रतिनिधित्व गरिरहेका हुन्छन् त्यसैले पनि उनका गीत कर्णप्रिय छन । झट्ट सुन्दा अनप्लग लाग्ने विपुलका गीत स्टेज पर्फमेन्समा थोरै इम्प्रोभाइज्ड रूपमा फरक ढंगले कन्सर्ट दिनु यो ब्यान्डको विशेषता नै बनिसकेको खत्रीले बताए ।

विपुल गायन संगै विद्यार्थीलाई अन्तर्राष्ट्रिय संगीतका बारेमा कक्षा दिन्छन् र आफूचाहिँ लोकआधुनिक नेपाली गीत सिर्जना गर्छन् । आफ्ना सिर्जना वेस्टर्न र इस्टर्न म्युजिकको फ्युजन भएको उनको तर्क छ । उनले एउटा अन्तरबार्तामा भनेका छन – ‘मैले पश्चिमा संगीत सिकें, तर जन्मजात नेपाली भएकाले ममा संस्कारका रूपमा पूर्वीय संगीत विकास भैसकेको रहेछ । विपुल गिटारका साथमा सारंगी र टुङ्नाको फ्युजनमा रमाएका छन् । त्यसलाई उनी विपुल क्षेत्री एन्ड ट्राभलिङ ब्यान्ड’ को विशेषता नै मान्छन् ।