स्थानीय तहले विपद् व्यवस्थापन कोष बनाउनु पर्ने - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

स्थानीय तहले विपद् व्यवस्थापन कोष बनाउनु पर्ने



बुटवल । स्थानीय तहले विपद् व्यवस्थापन कोष स्थापना गर्नुपर्ने आवश्यकता औंल्याइएको छ । टियर फण्डको आर्थिक तथा प्राविधिक सहयोग र विकास तथा प्रकोप व्यवस्थापन केन्द्र ( सिडिएम ) को स्थानीय व्यवस्थापनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतवार बुटवल र भैरहवामा आयोजना गरेको कार्यक्रममा बोल्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुरेश अधिकारीले स्थानीय विपद् व्यवस्थापन कोषको निर्माण र सञ्चालन स्थानीय तहबाट हुने हो भने विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनका लागि सहयोग पुग्ने बताए ।

उनले विकासका कार्यक्रम बनाउँदा र कार्यान्वयन गर्दा विपद्का सवाललाई उपेक्षा गर्ने हो भन्ने विकास दिगो हुन नसक्ने बताए ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका उपसचिव महेश भट्टराईले नियमित बजेट प्रणालीबाट विनियोजन र कार्यान्वय हुन नसकेका समस्या र सवालहरूलाई स्थानीय विपद् व्यवस्थापन कोषले सघाउने बताए । उनले विपद् व्यवस्थापनका सवाललाई विकासका एजेण्डामा मूल प्रवाहिकरण गर्न आवश्यक रहेको बताए ।
बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुबेदीले विपद् जोखिम न्युनीकरणका सवाललाई मूलप्रवाहिकरण गर्न उपमहानगरपालिका तयार रहेको र आवश्यकता अनुसार कोषको व्यवस्थापन गरिने जानकारी दिए । सो अवसरमा तिलोत्तमा नगरपालिका प्रमुख बासुदेब घिमिरे, सैनौमना नगर प्रमुख चित्रबहादुर कार्की, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकृत सिता दवाडीलगाएतले बोलेका थिए ।
कार्यक्रममा रूपन्देहीका १६ स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतहरूको सहभागिता रहेको विकास तथा प्रकोप व्यवस्थापन केन्द्र ( सिडिएम ) का प्रबन्ध निर्देशक धर्मराज घिमिरेले जानकारी दिए । विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन ऐन २०७४ ले केन्द्र, प्रदेश र स्थानीय तहमा विपद् व्यवस्थापन कोषको व्यवस्था गरेको छ ।

स्थानीय विपद् व्यवस्थापन कोष सञ्चालन कार्यविधि २०७५ को मस्यौदा अनुसार विपद् जोखिम न्युनीकरण तथा व्वस्थापन सम्बन्धी कार्य गाउँ नगरस्तरबाटै सञ्चालन गर्नका लागि गाउँपालिका नगरपालिकाको आकस्मिक कोषका रूपमा विपद् व्यवस्थापन कोष रहने छ ।