मुलुकको आर्थिक समृद्धिकालागि काँग्रेसको जित जरुरी : बिनोद चौधरी - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

मुलुकको आर्थिक समृद्धिकालागि काँग्रेसको जित जरुरी : बिनोद चौधरी



बुटवल, १६ मंसिर ।

वरिष्ठ उद्योगपति बिनोद चौधरीले मुलुकको आर्थिक समृद्धि नेपाली काँग्रेसबाट मात्रै सम्भव भएको बताउनु भएको छ । लोकतन्त्र र अर्थतन्त्र एक अर्काका पर्यावाची भएको बताउँदै उहाँले लोकतन्त्र बिना अर्थतन्त्रको सुधार सम्भव नभएको बताउनु भएको हो ।

नेपाली काँग्रेस उद्योगी व्यबसायी परिचालन समिति रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको उद्योगी व्यबसायी भेलालाई सम्बोधन गर्दै नेपाली काँग्रेसबाट समानुपातिकका उम्मेदवार समेत रहेका चौधरीले अवको आर्थिक परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गर्ने दावी गर्नुभयो । उहाँले मुलुकमा लामो समयदेखिको राजनीतिक परिवर्तन अन्त्य भएको र अव आर्थिक समृद्धिकोलागि नेपाली काँग्रेसले राजनीति मात्रै नगरेर बिकासका काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

उहाँले काठमाण्डौ पछिको आर्थिक बिकासको केन्द्र बुटवल बन्ने बताउँदै बुटवललाई प्रादेशिक राजधानी समेत नेपाली काँग्रेसले नै बनाउने दावी गर्नुभयो ।

२०४६ को राजनीतिक परिवर्तनपछि नेपाली काँग्रेसले आर्थिक उदारीकरणको नीति लिएकै कारण मुलुकमा बिकासका काम सुरु भएपनि ०५२ मा राजनीतिले बाटो बिराउँदा सोँचेजस्तो बिकासका काम हुन नसकेको उहाँले उल्लेख गर्नुभयो ।
उद्योगी चौधरीले नेपाली काँग्रेसले ०४८ सालमा लिएको उदारिकरणको नीतिकै कारण अहिले सूचना प्रबृधिको क्षेत्रमा उल्लेखनीय बिकास भएको दावी गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसबाट रुपन्देही क्षेत्र नं. २ का प्रतिनीधि समा सदस्य उम्मेदवार युवराज गिरीले यस क्षेत्रको औद्योगिक बिकासकालागि एक वर्ष भित्रै बुटवल धागो कारखाना सञ्चालन गर्ने, मोतिपूर औद्योगिक क्षेत्रको स्थापना गर्ने र हजारौं मजदुरलाई रोजगारी प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । यसले मुलुकको आर्थिक बिकास फड्को मार्ने र विदेश पलायन भईरहेका हजारौं मजदुरलाई रोक्न सकिने बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा २(२) का उम्मेदवार महेशमान सिंहले नेपाली काँग्रेस उद्योगी व्यबसायीकै पक्षमा रहेको बताउँदै नीजि क्षेत्रको प्रवद्र्धनमा कहिल्यै नचुक्ने बताउनु भयो । उहाँले नेपाली काँग्रेस नेतृत्वको सरकारले बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडकलाई बैकल्पिक व्यबस्था गरि त्यस सडक छेउका घरधनीलाई विस्थापित हुनबाट रोकेको बताउनु भयो । बुटवलको चौराहादेखि गोलपार्कसम्मको सडक बिस्तार गर्ने क्रममा सडक विभागले सडकको क्षेत्राधिकार भित्रको जग्गा खाली गराउन सूचना गरेको थियो । सरकारको हालै उक्त सडक सहि मुलुकका प्रमुख शहरका सडकलाई सहरी सडक नामाकरण गरि वैकल्पिक राजमार्गको व्यबस्था गर्ने निर्णय गरेको छ । उद्योग बाणिज्य संघ बुटवलका निवर्तमान अध्यक्ष समेत रहनु भएका उम्मेदवार सिंहले यसकालागि स्थानीय स्तरबाट काँग्रेस नेताहरुले पहल गरेको दावी गर्नुभयो ।

उद्योगी व्यबसायी परिचालन समितिका संयोजक हिराप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक जिवन वझा, सचिव बोनीन पिया लगायतले उद्योगी व्यबसायीको हित संगै यस क्षेत्रको बिकासकालागि काँग्रेसले जित्नै पर्ने भनाई राख्नुभएको थियो ।