बिना मगरको यस्तो आग्रह ! - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

बिना मगरको यस्तो आग्रह !



कञ्चनपुर, १८ मंसिर– प्रतिनिधिसभा सदस्यका लागि कञ्चनपुर–१ की बाम गठबन्धनकी उम्मेदवार तथा माओवादी केन्द्रकी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारी बिना मगरले मतदातालाई आफूलाई जिताउन अपिल गर्दै भावुक विज्ञप्ति जारी गरेकी छन् ।

पति प्रकाश दाहालको अल्पायुकै निधन भएपछि पीडामा रहेकी बिनाले आफूले जिते कञ्चनपुरको विकासका लागि काम गर्ने प्रतिबद्धता जनाएकी छन् । पति वियोगबारे विज्ञप्तिमा केही उल्ल्ेख नगरेकी उनले मतदाताले बुझ्ने शैलीमा त्यस घटनाको सहनुभूति लिन खोजेकी छन् । पति वियोगलाई उनले ‘जटिल परिस्थिति’ शब्दले बुझाउन खोजेकी छन् ।

‘जटिल परिस्थिति र आफ्नो प्रतिकूल स्वास्थ्य अवस्थामा पनि निरन्तर खटिएर मतदातामाझ पुग्ने प्रयास गरे पनि समय अभाव र जटिल परिस्थितिले सबै मतदातामाझ पुग्न नसकिएको रहेछ भने क्षमाप्रार्थी छु’, उनले भनेकी छन्, ‘मेरो पीडा र समस्यालाई तपाईहरूले बुझिदिनुभएको छ भन्ने मैले महसुस गरेकी छु ।’

उनले प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा बाम गठबन्धनका उम्मेदवारलाई भोट दिएर विकास र समृद्धिको ढोका खोल्न अपिल गरेकी छन् । ‘नेपाली जनताले गरेका निरङ्कुशता विरोधी विभिन्न जनआन्दोलन र संघर्ष तथा हजारौं सहिदको बलिदानबाट प्राप्त उपलब्धी स्वरुप हामीले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिता र समानुपातिक प्रणाली पाएका छौं’।

बिनाले भनेकी छन्, ‘यसैको जगमा संविधानको स्थायित्व र स्थिर सरकार तथा आर्थिक समृद्धि र विकास गर्ने अटुट लक्ष्यका साथ नेकपा एमाले र नेकपा माओवादी केन्द्र लगायतका पार्टी मिलेर संयुक्त वाम गठबन्धन निर्माण गरी चुनावी मैदानमा होमिएको सर्वविदितै छ । वाम गठबन्धन चुनावी तालमेल मात्रै नभएर पार्टी एकीकरण हुँदै जनपक्षीय पार्टी निर्माणको तहसम्म पुग्ने निश्चित भइसकेकाले यो अभियानमा तपाईको १ मतले अमूल्य योगदान गर्न सक्ने छ ।’

उनले विकासको अनुभूति गर्न नपाएका कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ का जनतालाई विकासको अनुभूति गराउने प्रतिबद्धतापत्र सार्वजनिक गरिसकेको उल्लेख गर्दै ‘निर्वाचन प्रचारप्रसारका क्रममा मतदाताबाट पाएको माया, सद्भाव, स्नेह र विश्वासले नै निर्वाचन जितिसकेको दाबी गरेकी छन् ।

मौन अवधि सुरु भएकाबेला समेत सत्ताको दुरुपयोग गर्ने, आचारसंहिताको उल्लंघन गर्ने, मतदातालाई गलत प्रलोभन देखाएर प्रभावित गर्न खोज्ने विभिन्न समूह सक्रिय रहने भएकाले सचेत रहन मगरले आग्रह गरेकी छन्