विद्यालय कर्मचारी परिषदको कैलाली जिल्ला अध्यक्षमा जोशी - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

विद्यालय कर्मचारी परिषदको कैलाली जिल्ला अध्यक्षमा जोशी



गोविन्द बिसी/बौनिया

नेपाल विद्यालय कर्मचारी परिषद्को कैलाली जिल्ला अध्यक्षमा गणेशप्रसाद जोशी निर्वाचित भएका छन् । शनिवार सुखडमा सम्पन्न भएको पाचौं जिल्ला भेलाले जोशीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । राष्ट्रिय कलेज सुखडमा भएको भेलामा जिल्लाभरका सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरूको सहभागिता रहेकोे थियो ।

जिल्ला भेलाबाट परिषद्को उपाध्यक्षमा तेजराम चौधरी चयन भएका छन् । महिला उपाध्यक्षमा लौटीदेवी चौधरी, महिला कोषाध्यक्षमा तिर्था जोशी, सह-कोषाध्यक्षमा नरेशकुमार कठरिया, सचिवमा रतन बहादुर कार्की सह-सचिव महिला तर्फ कलावती चौधरी चयन भएका छन् । २८ सदस्यीय रहने जिल्ला कमिटीमा अन्य सदस्यहरू रहेका छन् ।

परिषद्को विधानको प्रावधान बमोजिम जिल्लाका १३ वटै स्थानीय तहबाट २१ जना जिल्ला सदस्यमा निर्बिरोध निर्वाचित भएका छन् ।

यस्तै, जिल्लाका सबै भूगोल र स्थानीय तहलाई समेटेर एक/एक जना प्रदेश प्रतिनिधि चयन गरिएको जनाएको छ ।

जिल्ला भेलाबाट ७ सदस्यीय जिल्ला सचिवालय समेत गठन गरिएको छ । जसमा जिल्ला समितिको अध्यक्ष, उपाध्यक्ष सचिव, सह-सचिव र कोषाध्यक्ष रहेका छन् ।
यस्तै प्रदेशमा १३ जना र केन्द्रीय प्रतिनिधि ५ जनालाई चयन गरिएको छ ।

जिल्ला अध्यक्ष बजारु चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल विद्यालय कर्मचारी परिषद्का केन्द्रीय उपाध्यक्ष वसन्त गुरुङ रहेका थिए ।

प्रमुख अतिथिको आसनबाट बोल्दै केन्द्रीय उपाध्यक्ष गुरुङले राज्यले नै विद्यालय कर्मचारी माथि बिभेदकारी नीति लिएको बताए । विद्यालय कर्मचारीको मुद्धामा सर्वोच्च अदालतले पटक पटक आदेश दिँदा समेत कार्यान्वयन नभएको भन्दै सरकारले नै अपहेलित व्यवहार गरेको आरोप लगाए ।

कर्मचारीको अधिकारका लागि सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउँदै कानुनी लडाई गरिरहेको भए पनि न्याय नपाएको उनले गुनासो गरे । संशोधित शिक्षा ऐनको दफा ३४ मा विद्यालय कर्मचारीसम्बन्धी व्यवस्था गरिएको भए पनि ऐन बमोजिम नियमावली तयार नभएको भन्दै राज्यले आलटाल गरिरहेको बताए । ऐनमा सामुदायिक विद्यालयमा मन्त्रालयले स्वीकृत गोरेबमोजिमको सङ्ख्यामा कर्मचारीको दरबन्दी रहने, कर्मचारी नियुक्ति, सेवाको सर्त र सुविधासम्बन्धी व्यवस्था नियमावलीले तोकेबमोजिम हुने र परीक्षामा सहभागी हुन नचाहने कर्मचारीहरूलाई सुविधासहित बिदा गरिने उल्लेख छ । परीक्षामा प्रतिस्पर्धा गर्न चाहने विद्यालय कर्मचारीलाई उमेरको हद नलाग्ने समेत ऐनमा व्यवस्था गरिएको छ । कर्मचारीको सङ्ख्या, नियुक्ति, सेवाको सर्त र दिने भनिएको सुविधाहरू सबै ‘तोकिएबमोजिम हुने’ उल्लेख गरिएको छ ।

हाल विद्यालयमा यस अघिको शिक्षा नियमावलीको प्रावधानअनुसार कार्यरत कर्मचारीमध्येबाट समायोजन भई सरकारबाट आंशिक अनुदान पाइरहेका र पूर्णतः विद्यालयको स्रोतबाट पारिश्रमिक पाइरहेका कर्मचारीहरू रहेका छन् ।

जिल्ला उपाध्यक्ष तेजराम चौधरीले स्वागत मन्तव्य राखेको कार्यक्रममा निवर्तमान जिल्ला सचिव हरिलाल ओझा, निवर्तमान जिल्ला अध्यक्ष गणेश जोशी, लौटीदेवि थारु, लगायतकाले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन जिल्ला सचिव छोटेलाल चौधरीले गरेका थिए ।