विद्रोह पछिको प्राप्ति - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

विद्रोह पछिको प्राप्ति



-कृष्ण के.सी.

आज पनि ऊ त्यसै गरी आएर गई । जसरी हिजो पनि आएकी थिई l ऊ आउनुको कारण हामी दुवैले बुझेका थियौ त्यसैले सम्वाद गर्नुको कुनै औचित्य ठानेनौ । मन पेट मिल्नु भनेको पनि सायद यही नै होला । त्यसैले त आजभोलि हामी एकान्तमा बसेर सपनाको संसार बुन्दै एकले अर्कोलाई फकाइरहनुको जरुरत ठान्दैनौ । हिजो त्यो समय थियो जतिबेला एकले अर्कोलाई बुझेका थिएनौ । त्यति बेला आकाशलाई भुइमा झारेर मैदान बनाउथ्यौ, अनि त्यही मैदानलाई जोतेर सपनाका ताराहरू छर्थ्यौ, अनि चाहना उमारेर दुवैले एक आपसमा बाडेर खान्थ्यौ ।

गोधूलि साझ थियो त्यो साझ । सिमसिम परेको पानीले हामी लछप्पै भिजेका थियौ । एकान्तको बुढो रुख मुनि सपनाको रंगिन पच्छायौरी बीच्छाएर खुसीहरू साटासाट गर्दै जीवन्तसम्म सँगै बाँच्ने प्रण गरेका थियौ । जङ्गलको छेउ,खेतको बिचमा अवस्थित त्यो बुढो रुख हामी बिचको सम्बन्धमा साक्षी बसेर आफू जस्तै अटल र र्निर्भिक भएर बाच्न हामीलाई आशीर्वाद दिएको थियो । चिसाम्मै हाम्रो शरीरबाट निस्किएको त्यो बेलाको तातो-तातो सुखानुभूतिले हामीलाई अदम्य हिम्मत बढाएको थियो । त्यही साझ समाजले लगाएका सामाजिक बारहरू भत्काएर हामीले विद्रोहको संखघोष गरेका थियौ ।

समय आफ्नै गतिमा चलायमान हुँदै गयो । हामी पनि समयसँगै उसकै गतिमा हिड्दै गयौ । जीवनका आरोह अबरोह,अनगिन्ती घुमाउरा र अप्ठेरा मोडहरू छिचोल्दै बयस्क जीवनलाई अँझ पूर्ण बनाउँदै गयौ । त्यति बेला सम्म समाजले हामीलाई बुझिसकेको थिएन । प्रेमले हामीलाई जिते पनि समाजलाई हामीले जितेका थिएनौ ।समाज बिना हाम्रो जिन्दगी अपाङ्ग हुन्थ्यो त्यसैले समाज बदल्नु नै हाम्रो मुख्य उद्देश्य हुन गयो ।

“जातीय भेदभावको अन्त्य बिना हाम्रो प्रेम सम्बन्ध सुखानुभूति हुने छैन” तारा अंकित रातो रुमाल देखाउदै उसले भनेकी थिई ” यो रुमाल कफन बनेर मेरो टाउकोमा बाधिने छ र त्यति बेला खोलिने छ जतिबेला समाजले जातियताको नाममा हामी दलितहरुलाई शोषण गर्न छाडेको हुने छ ”

थोरै बुझिछ । धेरै बुझ्न ऊ सही ठाउँमा आइ पुगेकोमा म खुसीले गदगद भए । संक्षेपमा बुझेर गरिने विद्रोहले सारमा परिवर्तन आउने छैन तर पनि संक्षेप खोतल्दै जाँदा सार एक दिन अवश्य भेटिने छ । आशावादी हुँदै दरो हात मिलाएर ऊबाट टाढा भए । दुरीमा म ऊ सँग जति जति टाढा हुँदै गए त्यति मैले आफ्नो प्रेमलाई बन्दकीमा राखेको महसुस गर्दै गए ।

बलिदान बिना कुनै पनि प्राप्ति सम्भव छैन । प्राप्ति त्यो हो जसले समाज हसाउँछ र वर्गीय भेदभावलाई सदाको लागि टुंगोमा पुर्याउँछ तर यो त्यति सजिलो छैन जति सजिलो उसले देखेकी छ ।ऊ त प्रेमको प्राप्तिमा पाइला चाल्दा देखेको पहिलो सामाजिक बार भत्काउन हिडेकी न हो । ऊ बिनाको त्यो एकान्तको बुढो रुख मुनि एक्लै बसेर मैले भविष्यका उतार चढावलाई धेरै बेर मन्थन गरिरहे ।

सपनाको संसार बुन्दै गर्दा मैले हामी माथि आइपर्ने बज्रपातहरू एक-एक गरी खोतल खाताल गर्दै उसले बीच्छाएको उसकै पच्छ्यौरिमा पस्कि दिएको थिए । प्रेमको अन्धो आँखाले उसले कति देखि देखिन तर ऊ मेरो प्रेम प्रति भने पूर्ण भरोसामय बनेकी थिई l हामी बिचको प्रेम एकतर्फी थिएन र स्वार्थपूर्तिको लागि पनि थिएन ।पहिलो भेटमै उसले भनेकी थिई – “मेरो जिउ डाल र अनुहार प्रतिको लोभ यदि तिम्रो प्रेम हो भने तिमी टाढा हुँदा बेस हुनेछ । अन्यथा सामाजिक बार बन्देज भत्काउन तिमी विद्रोहको लागि तयार हुनु पर्ने छ ।

कति गहकिला र ओझपूर्ण थिए उसका भनाइहरू। गाउमा जन्मिएर हुर्केकी एउटी दलित महिला भएर पनि उसले यति धेरै बुझेकोमा म गर्वले मुसुक्क हाँस्दै उसको अगाडि सगौरब झुकी दिएको थिए । प्रेमलाई केवल शारीरिक सौदार्यता र आत्मसन्तुष्टि ठान्ने समाजको लागि यो एउटा दह्रो झापड नै थियो l यही विचार त थियो जसले मलाई ऊ प्रति आकर्षण हुन बाध्य पारेको थियो ।

न मैले प्रेम खोज्दै हिडेको थिए न त उसलाई नै l पार्टीले दिएको जिम्मेवारीलाई पुरा गर्न म त्यो दलित बस्तीमा पसेको थिए जहा ऊ जस्ता धेरै दलितहरू भेदभावको सिकार भएका थिए l क्षेत्रीको घरमा जन्मिएकोले म जातमा क्षेत्री थिए तर जात धर्म र वर्ग बिहीन समाज हुनु पर्छ भन्ने मान्यताले ओतप्रोत भएको स्कुलिङ्गमा हुर्किएकोले मलाई जातियताको रङ्गले भने कहिल्लै पनि छुन सकेन l

धेरै भएको थियो म गाउमा बसेको l विचारसँगै भावनाहरू घुलित हुँदै जाँदा सिङ्गो गाउँ मेरो आफ्नै सहर जस्तै लाग्दै थियो l म सोच्थे -“फुल्न नसकेका बगैचाका यी अपहेलित फुलहरू एक दिन फुलेर ढकमक्क हुने छन् र मन्दिरमा सगौरब चढिनेछन ।

जितको त्यो सत्यता माथिको मेरो बिचार त्यही पर देखिने गजुर सहितको मन्दिरमा खिल्खिलाउदै हास्दै गर्दा नजिकै आएर उसले मलाइ चिमोट्दै भनी -“समाज अनि देश गर्दै दुनियाँ बदल्न चाहने हामी क्रान्तिका सिपाहीहरु पहिला आफू बदलिन सक्नु पर्छ”

यस्तै हुने गर्थे जम्का भेटका हाम्रा सम्बादहरु । जुन सम्बादले हामी दुवैको अन्तर्मनलाई भावनात्मक सम्बन्ध बनाउन अझ सजिलो बनाई दिने गर्थ्यो l त्यसपछिका दिनहरू यति भावनात्मक हुँदै गए कि हामीले केही समयसम्म पहिला आफू त्यसपछि मात्र समाज भन्ने मान्यता बोक्न थाल्यौ l प्रेम त्यसपछि सम्बन्ध अनि सगोलको जिन्दगी यो नैतिक आवश्यकता भित्रको कुरा थियो तर पनि त्यहाँ सम्झौता अगाडि आएर तेर्सि दिन्थ्यो l सम्बन्धमा सम्झौता हुन सक्ला तर प्रेममा सम्झौता हुन आवश्यक छैन l मैले धेरै सम्झाए तर मेरो सम्झाइले उसलाई कत्ति फरक पार्न सकेन र म बाध्य भए सम्झौता गर्न l प्रेम बिनाको सम्बन्ध केवल स्वार्थ हुन्थ्यो त्यसैले प्रेममा आत्मीयता ल्याउन हामी बिचको भावना पनि नजिक हुनु पर्थ्यो, त्यसै नै भई दियो l

धेरै वर्षको बिछोड पछिको भेटमा मैले भनेको थिए -“विचार अनि प्रेम त्यसपछि सम्बन्ध तब मात्र जिन्दगीको सार प्राप्ति हुन्छ होइन त ?” लामो समय पछिको मेरो चाहना माथि ऊ लाटो हासो हासी दिई l ऊ हाँस्दा उसले मलाई बेस्करी गिज्जाएको अनुभूतिले म रन्थनिए र सकी नसकी उसको मुखमा हेरिरहे l ऊ भने नबोलिकन मबाट फेरि टाढा भइदिई l

समाज राष्ट्र र विश्वका मानव जाति प्रतिको प्रेम अगाडि व्यक्तिगत प्रेम केवल हामी दुई बिचको जिन्दगीसँग मात्र जोडिएको थियो l सायद त्यसैले होला त्यसको अनुपस्थितिमा पनि हामीले पीडाबोधको कुनै महसुस गरेनौ l फरक ठाउँ फरक क्षेत्रमा रहेर पनि हामीले विश्व मानव जातिको हक हित र अधिकारको निम्ति आफ्नो बर्कतले भ्याएसम्मको बलिदानी दिँदै गयौ l तर विश्व हल्लाउन चाहने नेतृत्व वर्गले बेइमान गरी दिएपछि वैचारिक रूपबाट हामी पनि दुई धारमा विभाजित हुन पुग्यौ l सायद त्यसैको परिणाम होला ऊ आज मसँग केही नबोली टाढा भई दिएकी छे l

“म दलित केटी कतै मेरो रगतको समिश्रणले तिम्रो रगतको स्वच्छन्दता माथि प्रश्न चिन्ह खडा गर्ने त होइन ”

प्रेमको अन्तिम मिठास प्राप्तिको त्यो क्षणमा उसले भनेका वाक्यांशले मलाई यतिखेर बेस्करी गिज्याइरहेको छ l

दुई दिन भयो ऊ त्यसै गरी आउछे अनि केही नबोलिकन फर्किन्छे l सत्ता प्राप्तिको भोकले अत्तालिद म लगाएतको एउटा धार धेरै दिनको भोक प्यासलाई मेट्न यही समाजमा पुन घुलमिल हुँदै प्रगतिशील आन्दोलनको एउटा जित ठानेर वर्ग सङ्घर्षलाई बिश्राम दिन पुगेका छौ l ऊ भने हामीलाई धारे हात लगाउदै सत्ताका जुठो पुरो चाटेर क्रान्ति र आन्दोलनलाई धोका दिएको नव संसोधन्वादी गुटको उपमा दिएर हाम्रो व्यक्तिगत प्रेम माथि पनि धावा बोलिरहेकी हुन्छे l

इतिहास हो, इतिहास बनाउन जान्नु पर्दो रहेछ l इतिहास बनाउनेले जे जति मेहनत गरे पनि व्याख्या विश्लेषण गर्ने हरुले धर्म छाडे भने इतिहास पनि बांगीदो रहेछ l हामी त केवल आन्दोलनका सिपाही न हौ l नेतृत्व वर्गको स्वार्थलाई एउटा सिपाहीले बुझ्न सकेन भने ऊ र म जस्तै भएर दुई नदीको किनारा हुनु पर्दो रहेछ l हामी बिचको प्रेम त केवल हाम्रो जीवन यापनको सहज यात्रा न थियो जसले हाम्रो समाज बदल्ने आकाङ्क्षालाई परिपूर्ति गर्नमा सघाउ पुराउन सक्थ्यो l मैले जानेन वा उसले जानीन अब जीवनको अन्तिम बिन्दुमा आएर यसको छिनोफानो कसले गरिदिने l

बुढो रुखको त्यही छहारीमा म लम्पसार परेर आफ्ना विगत सम्झिरहेको थिए l हो यो त्यही रुख थियो जुन रुखको आड लगाएर मैले र उसले जीवन जिउनुको सार्थकता खोज्दै हामी बिचको प्रेमलाई पनि सँगसँगै लैजाने प्रण गरेका थियौ l आज ऊ क्रान्तिको मैदानमा छे र टाउकोमा बाधेको कफन पनि जस्ताको त्यस्तै बाधिएर उसको टाउकोमा बेरिएर रहेको छ l यता म भने जीवन जिउनु न मर्नुको दोधारमा बसेर उसैलाई कुरेर बसिरहेको छु l

झमक्क साझ पर्दै थियो आकाशमा ताराहरू टिलपिल टिलपिल गर्दै थिए l त्यो निलो आकाश त्यही आकाश थियो जुन आकाश हामी प्रेममा बाधिदा हाम्रो प्रेम छर्ने मैदान भई दिन्थ्यो l हामी त्यसैमा हाम्रो प्रेम छरेर एक आपसमा बाढी चुडी गर्दै खाने गर्थ्यौ l हेर्दा हेर्दै एकै छिनमा आएको मौसम परिवर्तनले विशाल आकाश मुनिको एक्लो त्यो बुढो रुख हामी बिचको प्रेममा आइपरेको दरारलाई सहन नसकी ढलेर लथालिङ्ग भैदियो l त्यतिबेलासम्म म पानीले रुझेर निथ्रुक्क भइसकेको थिए l धेरै टाढा मैले सोचेभन्दा पनि टाढा कतै अनकन्टारमा बन्दुक पड्किएको आवाजसँगै “नव संसोधन्वाद -मुर्दाबाद” को नारा घंकिरहेको थियो l हुन सक्छ, त्यो नारा घन्काउदा निस्किएको तिखो आवाज उसैको पो थियो कि ? विद्रोह पछिको अकल्पनिय प्राप्तिमा मेरो जिउ भने लगलग कापिरहेको थियो ।