भोटले होइन हाम्रो विवेकले बन्छ देश ! - Himal Post Himal Post
  • १५ चैत्र २०८०, बिहीबार
  •      Thu Mar 28 2024
Logo

भोटले होइन हाम्रो विवेकले बन्छ देश !



मञ्जु पौडेल-
एक चरणको चुनावी कार्यक्रम १० गते सकियो मतपेटिकामा नेताको हैन नेपालीको भाग्य थुनिएको छ । सबै नेता कोही न कोहीको आफ्नो मान्छे त होलान् नै सबैको अड्कल पनि होला फलानोले जित्छ भन्ने । तर देश फलानोले जितेर हैन राम्रो नेताले जित्दा बन्छ भन्ने सबैलाई अबगत भएको कुरा हो ।

हामीले धेरैवटा चुनावमा भोट हाल्यौं, जितायौं, धेरै नेतालाई घर बनाउने, सम्पन्न बन्ने र आफ्नालाई मात्र माथि तान्ने कार्यमा सहयोगी बन्यौं । तर देशलाई माथि उठाउने र जनताका काम गर्ने थोरैलाई मात्र जितायौं । गल्ती नेता भन्दा पहिले त हामी आफैले गर्‍यौँ । के हामी आफैले गलत प्रवृति भएको मान्छेलाई नेता र सांसद बनाउन सहयोग गरिरहेका त छैनौँ ? पछि त पछुताउने मात्र हो सोंच्ने अहिले हो, आजै हो । चुनावपछि हामी पछुताउने र अर्कालाई गाली गर्नु सिवाय के बाँकी रहला र ?

संसारका धेरै देशले हामीले भन्दा धेरै पहिले नै राम्रो मान्छे चुनेर सम्पन्न बनिसके, एउटा पद्धति बनाइसके हामी चुनाव अगाडी मेरो मान्छे भन्ने र चुनाव पछि धिक्कार्ने अवस्थाबाट माथि उठ्न सकेका छैनौँ । हरेक पटक चुनाव आउँदा देशको मुहार फेरिन्छ कि ? अब गास, बास र कपासको लागि बिदेशिनु पर्दैन कि ? मेरो देश सम्पन्न बन्छ कि ? दण्डहिनताको अन्त्य हुन्छ कि भनेर आशा गर्ने हामी आफै होइनौं र ? चुनाव अगाडी एउटा अठोट मात्र गर्ने हो भने यी आशालाई हामी आफैले सम्पन्न गर्न सक्छौँ, यी आशालाई आफैले हकिकतमा बदल्न सक्छौँ ।

चुनावी सभाहरु भैरहेका छन् हामी सबै सभामा जान्छौं, उनका भाषणमा ताली बजाउँदै गर्दा मन भित्र उमङ्ग छाएको हुन्छ नेताका चिप्ला भाषणले । के यी चिप्ला कुरा गर्नेले हामीलाई प्रत्यक चुनावमा ताली पिट्न मात्र लगाएका होइनन र ? के यिनै भित्रका कैयौँ नेताले गर्दा देशको हालत बिग्रेको होइन र ? यति हुँदा हुँदै पनि हामीले यिनैका भाषणमा ताली बजाएर यिनैको हौसला बढाउनु पर्ने के कारण छ ? यो पक्कै पनि हामी धेरैले भोगेको एउटा तितो सत्य हो ।

अर्को तर्फ हामी नेपाली खुशीले गदगद छौं, कारण लामो समय पछी आफ्नो मत देश निर्माणको लागि दिने तयारीमा छौं । कता कता डर पनि छ विभिन्न ठाउँमा बम पड्किरहेका छन, कतै घाईते भएको खबरले पनि मनको अर्को कुनामा त्रास जम्मा भएको छ । छिमेकीहरुपनि भोट खसाल्न जाने ठाउसम्म जानलाई सन्त्रास भएको बताउँछन । एउटा नेपालीले अर्को नेपालीको खुशीमा यसरी प्रहार गर्ने हो भने हाम्रो गन्तब्य कहाँ होला ? हामि पुग्ने कहाँ होला ? भोलि त यिनै जनताको अगाडी सबैले उभिनु पर्छ नै त्यसैले यो आतंकलाई पनि बिसर्जन गरेर एक अर्काको खुशी सुरक्षित गरौँ । सरकारले पनि यस्ता घटनालाई निरुत्साहित गरोस, हरेकका माग सम्बोधन गरोस ।

हाम्रा आफ्नै चुलोमा आगो बाल्ने समस्या छन्, आफ्नै दाजुभाइ दिदीबहिनी कलिलै उमेरमा बिदेशिएका छन्, राम्रो सिस्टमको अभावमा देशभित्र नै केही गर्ने हिम्मत आउँदैन यी सबै विषयलाई मोहरा बनाएर सदियौं देखि उनीहरूले गरेको हामीमाथिको राजनीति हामी बुझ्दैनौ । चुनावमा एक पल्ट हात जोड्दै आउँदा सबै बिर्सेर पछि पछि लाग्छौं र फेरी पछुताउछौं । यसो भन्दै गर्दा पुराना सबै खराब छन् भन्ने हुँदै होइन, केही राम्रा पनि छन्, विकास प्रेमी पनि छन् । देशलाई राम्रो गर्न खोज्नेहरु पनि छन् ।

तपाई हाम्रो काँधमा अहिले फेरी अर्को जिम्मेवारी आएको छ देश बनाउन कसलाई पठाउने भन्ने । यो जिम्मेवारी केवल चिप्ला कुरा गर्नेलाई दियौं भने के हुन्छ भन्ने धेरै पटक चेतिसकेका छौँ । काम नगर्ने नेताहरू पनि चिनेका छौँ । अब पनि हामी आफ्नो विवेक प्रयोग गरेर हामीलगायत देश लाई राम्रो गर्न सक्ने नेतालाई चुनेर पठायौं भने हामी, हाम्रा सन्तति सबैले राम्रो दिन र राम्रो देश दुवै भोग्ने छौँ । बिदेशिएका हाम्रा आफ्नै दाजुभाइ दिदी बहिनीलाई अवश्य फर्काउन सक्ने छौँ ।

म एउटा कलाकार भएको र तपाईहरुले माया गरेको हिसाबले सबै देशवासीलाई भन्न चाहन्छु अब हाम्रो बुद्धि र विवेक प्रयोग गर्ने दिन आएको छ । अहिले पनि यो मौका चुकायों भने अर्को चुनावसम्म हामीसँग हिम्मत पनि बाँकी रहने छैन । १० पटक सोंचौ एक पटक भोट हालौं ।

धन्यवाद