सबै नेपालीको घरमा ‘प्रकाश’ ल्याउन जीवन समर्पण गर्छु : प्रचण्ड - Himal Post Himal Post
  • ४ बैशाख २०८१, मंगलवार
  •      Tue Apr 16 2024
Logo

सबै नेपालीको घरमा ‘प्रकाश’ ल्याउन जीवन समर्पण गर्छु : प्रचण्ड



भैरहवा : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अबको जीवन सबै नेपालीको घरमा प्रकाश ल्याउन समर्पित गर्ने उद्घोष गरेका छन् ।
उनले आफ्नो दिवंगत पुत्र प्रकाशको स्मरण गर्दै अब सबै नेपालीको घरमा उज्यालो छर्ने प्रकाश ल्याउने दाबि गरे ।
मुलुकमा रहेका सबै युवायुवतीलाई आफूले प्रकाशका रुपमा हेरेको उल्लेख गरे ।

रुपन्देहीको भैरहवामा नेपाल जेसीजको ४४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले राजनीतिक घटना क्रममा कोही सानो र कोही ठूलो दल भए पनि लोकतन्त्रको सुदृढीकरण, विकास र समृद्धिका निम्ति सबै मिल्नुको विकल्प नभएको बताए।

सबै राजनीतिक दल मिलेर मुलुकको विकास गर्नुको विकल्प नभएको उनको निचोड छ ।

मुलुकमा स्थायित्व प्राप्त गर्न लामो संर्घष र वलिदानी गर्नु परेको बताउदै उनले त्यसबाट नै नेपाल र नेपालीलाई उज्योलो दिनुपर्छ भन्नेमा आफ्नो ध्यान केन्द्रित रहेको बताए ।

जेसीजमा लागेका युवाहरु अनुसासित, लगनशील, जुझारु र क्षमतावान हुने बताउदै प्रचण्डले देश विकास र आर्थिक समृद्धिमा लाग्न जेसीज युवाहरुलाई आह्वान समेत गरे ।
स्वास्थ्यमन्त्री दीपक बोहरा र खानेपानी तथा सरसफाइ राज्य मन्त्री अब्दुल रज्जाकले अब मुलुकले आर्थिक समृद्धिको बाटोमा जाने बताए ।

८, ९ र १० गते गरी तीन दिनसम्म चल्ने जेसीज महाधिवेशनमा सहभागी हुन देशभरबाट करिब ३ हजार बढी प्रतिनिधि र पर्यवेक्षक भैरहवामा छन् ।