भरतपुर काण्ड :एमालेद्वारा विशेष प्रस्ताव पारित - Himal Post Himal Post
  • ६ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 18 2024
Logo

भरतपुर काण्ड :एमालेद्वारा विशेष प्रस्ताव पारित



काठमाडौं, १६ साउन ।

नेकपा (एमाले)ले भरतपुर महानगरपालिकाको मतपत्र च्यातिएको मुद्दामा आइतबार सर्वोच्च अदालतद्वारा जारी फैसलाको बारेमा विशेष प्रस्ताव पारित गरेको छ ।

भक्तपुरको बालकोटस्थित अध्यक्ष केपी ओलीको निवासमा सोमबार बसेको स्थायी समिति बैठकले सर्वोच्च अदालतको फैसलाले आक्रोशित तुल्याएको जनाएको हो ।

‘गत वैशाख ३१ गते सम्पन्न भरतपुर महानगरपालिकाको मतगणना भइरहँदा जेठ १४ गते राति माओवादी केन्द्रका प्रतिनिधिहरूले आफू निर्वाचन हार्ने निश्चित भइसकेपछि सुनियोजित ढंगले मतपत्र च्यातेको घटनाले प्रचलित कानून, लोकतान्त्रिक मूल्य र निर्वाचनका सर्वस्वीकार्य मान्यतालाई उपहास गरेको र स्वतन्त्र एवम् स्वच्छ निर्वाचनका पक्षधरहरुलाई आक्रोशित तुल्याएको तथ्य स्मरणीय छ’, सचिव योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

एमालेका सचिव भीम आचार्यले जनताको अभिमतलाई चुनौती दिने गरेर सर्वोच्च अदालतबाट फैसाला आएको बताउनुभयो । ‘सर्वोच्च अदालतको फैसला दुःखद र दुर्भाग्यपूर्ण छ’, उहाँले भन्नुभयो, ‘एमाले फेरि पनि जनताको माझमा जान तयार छ । अब जनताले न्याय दिने छन् ।’

‘सर्वोच्च अदालतबाट सुनियोजित ढंगले मतपत्र च्यातिएको तर मतगणना स्थल कब्जा नभएको स्थितिलाई ध्यानमा राखी पुनः मतगणना हुनुपर्ने मागसहितको मुद्दामा पुनः मतदान हुने गरी भएको फैसला दुःखद् छ’, एमालेले भनेको छ, ‘यसबाट जनताको अभिमतको अपमान हुनुका साथै भविष्यमा गलत नजिर स्थापित हुने आशंका र चिन्ता पैदा गरेको छ ।’

एमालेले अगाडि भनेको छ, ‘यसलाई गम्भीर रुपमा लिई भरतपुर महानगरपालिका वडा नं. १९ का जनताले आफ्नो अभिमतको रक्षा गर्दै नगर प्रमुख पदका उम्मेदवार देवी ज्ञवालीलाई विजयी बनाई न्याय दिनुहुनेछ भन्ने विश्वास बैठकले गरेको छ ।’

एमालेले जिल्ला समन्वय परिषद्का प्रमुख र उपप्रमुखका लागि पार्टी जिल्ला कमिटीबाट आएका सिफारिस तथा प्रदेश संगठन कमिटीको सिफारिस र राय सल्लाह अनुसार निर्णय गरेको जनाएको छ ।

दैलेखमा एमालेले प्रमुख पे्रमबहादुर थापा, उपप्रमुख लक्ष्मी शाह, ताप्लेजुङमा प्रमुख घनेन्द्र मादेन, उपप्रमुख देवीमाया नेपाली, सिन्धुपाल्चोकमा प्रमुख गोपाल तामाङ, उपप्रमुख बालकुमारी सापकोटा, धादिङमा प्रमुख जगन्नाथ नेपाल, उपप्रमुख बिन्दा दराम नेपाली, काठमाडौंमा प्रमुख शिव वैद्य, उपप्रमुख सरिता दाहाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । एमालेले सिन्धुलीमा उपप्रमुख शंकर बर्मालाई अगाडि सार्ने निर्णय गरेको छ ।